कोभिड-१९को उपचारका निम्ति सङ्क्रमणनाशक वस्तु (डिसइन्फेक्ट्यान्ट)लाई बिरामीको शरीरमा सुईमार्फत् लगाउने सुझाव दिएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चर्को आलोचना भएको छ। साथै उनले परावैजनी किरणले बिरामीको शरीरलाई सङ्क्रमण मुक्त बनाउन सकिने समेत बताएका थिए।
एकजना अधिकारीले सूर्यको किरण तथा सङ्क्रमणनाशक पदार्थले सङ्क्रमण नाश हुने बताएपछि उनले त्यस्तो दाबी गरेका हुन्। उनले भने, “परावैजनी वा अन्य कुनै शक्तिशाली प्रकाशबाट मानौँ हाम्रो शरीरमा प्रहार गरियो भने मलाई लाग्छ त्यसले सङक्रमणलाई एक मिनेटमा नै परास्त गरिदिन्छ।”
“हामीले देखेका छौँ कसरी सङ्क्रमणनाशक पदार्थले एक मिनेटमै ठीक गर्छ। के हामी पनि सफाइ गरेको जस्तै किसिमले सङ्क्रमणनाशक पदार्थको सुई हाल्न सक्दैनौँ त?”
आफ्नो टाउको देखाउँदै उनले भने, “म डाक्टर त होइन। तर मेरो राम्रो दिमाग त छ नि।”
चिकित्सकहरूको चेतावनी
तर डाक्टरहरूले राष्ट्रपति ट्रम्पको उपाय घातक हुनसक्ने चेतावनी दिएका छन्। एकजना डाक्टरले भने, “यो त गैरजिम्मेवार अनि खतरनाक भयो।” छोटकरीमा भन्दा -सङ्क्रमणनाशक पदार्थ खाने वा सुई हाल्ने नगर्नुहोला।
श्वासप्रश्वास सम्बन्धी चिकित्सक भिन गुप्ताले एनबीसी न्यूजलाई भने, “यस्ता बस्तुको सुई हाल्ने वा सफाइसँग जोडिएका उत्पादन खाने अवधारणा गैरजिम्मेवार र घातक हो।”
“आफ्नो ज्यान गुमाउन चाहने मानिसहरूले यो बढी प्रयोग गर्ने विधि हो।”
चार्ल्स्टन वेस्ट भर्जिनियाका डाक्टर कासिफ महमुदले भने, “एक जना चिकित्सकका रूपमा म तपाईँलाई सङ्क्रमणनाशक वस्तुहरूको फोक्सोसँग सम्पर्क गराउन वा परावैजनी किरण शरीरमा पठाएर कोभिड-१९ को उपचार खोज्न सुझाव दिन सक्दिनँ।”
उनले थपे, “ट्रम्पले दिएका स्वास्थ्य सल्लाह नमान्नु होला।”
ट्रम्पका विगतका सल्लाह
यसअघि राष्ट्रपति ट्रम्पले औलोको उपचारमा प्रयोग हुने हाइड्रोक्सीक्लोरोक्वीनबाट कोरोनाभाइरसको उपचार हुनसक्ने बताएका थिए। पछिल्लो समय उनले उक्त औषधिको पैरवी गर्न कम गर्दै आएका छन्।
यसै साता अमेरिकामा अवकाशप्राप्त सैनिकहरूको उपचार गर्ने एउटा सरकारी अस्पतालमा नियमित विधिबाट उपचार गरिएकाहरूको भन्दा हाइड्रोक्सीक्लोरोक्वीन लिएर उपचार गराउनेको कोभिड-१९का कारण धेरै मृत्यु भएको पाइएको छ।
राष्ट्रपति ट्रम्पको धारणामा प्रतिक्रिया जनाउँदै नोभेम्बरमा हुने निर्वाचनका डेमोक्रयाटिक दलका उनका सम्भावित प्रतिस्पर्धी जो बाइडनले ट्वीट गर्दै लेखेका छन्, “परावैजनी प्रकाश? सङ्क्रमणनाशक सुई? उपाय चाहीँ यो हो: राष्ट्रपति महोदय, अझ धेरै परीक्षण। र, अहिलेका लागि स्वास्थ्यकर्मीका निम्ति थप सुरक्षा उपकरण।”
चेतावनी
डेटोल र लाईसल जस्ता उत्पादनहरूको स्वामित्व रहेको रेकिट बेन्किजले भनेको छ- कुनै पनि अवस्थामा उसका उत्पादनहरू सुईको माध्यमबाट वा सेवन गरेर शरीरभित्र पठाउनु हुँदैन।
रेकिट बेन्किजले आफ्ना उत्पादनहरूका खोलहरूमा लेखिएका विभिन्न खाले सुझावलाई ख्याल गर्न प्रयोगकर्तालाई आग्रह गरेको छ। उसले आफ्ना उत्पादनहरूमा लेखिएका सुरक्षा चेतावनीलाई पनि बेवास्ता नगर्न भनेको छ।
संक्रामकनाशकहरू खतरनाक र विषालु पदार्थहरू हुन्। त्यस्ता पदार्थ सेवन गर्नु घातक हुनसक्छ।
शरीरको बाहिरी तहमा यस्ता वस्तुको प्रयोग गर्दा समेत छाला, आँखा र स्वासप्रस्वास प्रणालीमा समेत समस्या देखापर्न सक्छ।
साभार: बिबिसी
प्रतिक्रिया