मंगलबार उदयपुरको भुल्केमा थप ८ जनामा कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएपछि उदयपुर सिल गर्ने निर्णय भएको हो ।
प्रदेश सरकारले जिल्लालाई सिल गर्ने निर्णय गरेको छ । कोसी अस्पतालमा स्वाब परीक्षण गर्दा पोजिटिभ देखिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले उदयपुर जिल्लाभित्रै पनि अन्य ठाउँमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन र अन्य जिल्लामा पनि संक्रमण फैलिन नदिन पूर्ण रुपमा लकडाउनका साथै सिल गर्ने निर्णय गरिएको जानकारी दिए । जिल्ला सुरक्षा समितिबाट निर्णय गरी जिल्लालाई पूर्ण लकडाउन र सिल गर्न निर्देशन दिएको उनले बताए ।
‘उदयपुरबाहिरबाट कसैलाई पनि भित्र प्रवेश गर्न नदिने र भित्रबाट कसैलाई बाहिर नस्किन नदिने र उदयपुरभित्रै पनि एक स्थानबाट अर्को स्थानमा मानिसलाई जान नदिने निर्णय भएको छ,’ प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले भने, ‘आन्तरिक सुरक्षा मन्त्रालयमा आज भएको बैठकले यस्तो निर्णय गरेको हो। संक्रमण थप फैलिनबाट रोक्नका लागि यो निर्णय लिएको हो।’
मस्जिद भएको बस्तीका ६० सर्वसाधारण र ९ कर्मचारीको स्वाबमध्ये ८ जनामा कोरोना संक्रमण देखिएको छ । अब यहाँ संक्रमितको संख्या २२ पुगेको छ। देशभर संक्रमितको संख्या
४२ पुगेको छ ।
विराटनगर–१७ का एक जनामा शुक्रबार नै कोरोना संक्रमण पुष्टि भइसकेको छ। अब भुल्केका सबैको स्याब जाच्ने तयारी छ ।
प्रतिक्रिया