US Khabar

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै सर्वाेच्चका पूर्व प्रधानन्यायाधीशद्वारा संयुक्त विज्ञप्ती जारी

- Admin | ३ वर्ष पहिले प्रकाशित

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै सर्वाेच्चका पूर्व प्रधानन्यायाधीशद्वारा संयुक्त विज्ञप्ती जारी

सर्वाेच्च अदालतका चार पूर्व प्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको जनाएका छन् ।

पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले शुक्रबार संयुक्त वक्तव्य जारी गरी संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजन बाहेक अर्को अवस्थामा संसद विघटन गर्ने अधिकार नदिएको स्पष्ट पारेका छन्।

‘दलहरुको आन्तरिक द्वन्द्व वा खिचलो जस्ता कुनै परिस्थितिले जुन प्रयोजनका लागि जे कुरा गर्न व्यवस्था गरिएको छ, सो बाहेकको कार्यमा उक्त धारा आकर्षित हुन सक्दैन’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि समसामयिक घटना वा परिस्थिति विशेषले संविधानको आधारभूत मूल्य परिवर्तन हुन सक्दैन र दिशा परिवर्तन पनि हुन सक्दैन।’

विज्ञप्तिमा देशको प्रजातन्त्र, कानुनी राज्य र विकासका लागि यस्तो कार्य फेरि कहिल्यै दोहरिन नपाउने गर्न र वर्तमान गतिरोधको अवस्था सुधार्न सम्बन्धित पक्षको ध्यानाकर्षण गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन गरिएको कार्यलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतमा परेको रिटमाथि बहस भइरहेका बेला चार पूर्व प्रधानन्यायाधीशहरुको संयुक्ता धारणा सार्वजनिक भएको हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">