राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले
संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गरेकी हुन् ।
२०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचनको समेत घोषणा गरेकी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसअनुसार ताजा जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन मिती तोकेकी हुन ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने सिफारिस राष्ट्रपति समक्ष लगेका थिए ।
यता संसद बिघटनबारे केही दल, सरोकारवाला संघ संस्था र ब्यक्तीहरुले असन्तोष प्रकट गरेका छन् । जसमध्य संसद विघटन गर्ने सरकारको सिफारिसको नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
महासंघले यस बिषयमा विज्ञप्ति जारी गर्दै सरकारद्वारा मंसिर ३० गते जारी संवैधानिक परिषद् नियुक्तिसम्बन्धी अध्यादेशको सर्वत्र विरोध र फिर्ता लिन दबाब भैरहेको अवस्थामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने सिफारिस गर्नुले नेपालको संविधान २०७२ र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमाथि गम्भीर बज्रपात हुन पुगेको जनाएको छ ।
प्रतिक्रिया