प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस कोभिड-१९ लाई फैलिन नदिन जारी लकडाउन तत्काल नखुल्ने बताएका छन्। शनिबार सिंहदरबारस्थित एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो संवादमा प्रधानमन्त्री ओलीले लकडाउन अझै लम्बिने बताएका हुन्।
बिहान साढे ११ बजेदेखि दिउँसो साढे ३ बजेसम्म चार घण्टा चलेको भिडियो संवादका क्रममा प्रधानमन्त्रीले सीमामा अझै कडाइ गर्ने प्रष्ट पारेका छन्। सरकारले अहिले भारतीय सीमामा प्रत्येक किलोमिटरको दरमा सशस्त्र प्रहरी खटाएर गस्ती गरिरहेको छ। ’लकडाउन छिट्टै अन्त्य हुँदैन। सरकारले सीमामा अझ कडाइ गर्छ। भावुक कुरा गरेर लापरबाही स्वीकार्य हुँदैन’, उनले मूख्यमन्त्रीहरुसँगको संवादमा भने, ’संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको छ। भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन। यसमा नरम बनेर लापरबाही नगर्नु होला, यो कुरामा सचेत रहनुस्।’
मूख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत् प्रधानमन्त्री ओलीले यसबीचका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढंगले अघि बढ्न जरूरी रहेको बताएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ। प्रधानमन्त्रीले सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नै नरहेको पनि स्पष्ट पारे। यस कार्यमा सरकार प्रभावकारी र सफल रूपमा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन पनि आम नेपाली दिदीबहिनी तथा दाजुभाईहरूलाई अनुरोध गर्नुभएको सचिवालयले जनाएकाे छ।
प्रतिक्रिया