अमेरिकाका ५० वटै राज्यमा कोरोना भाइरसविरुद्ध प्रयोग अनुमति पाएको खोपको ढुवानी सुरु भएको छ । शुक्रबार स्वीकृति पाएको फाइजर र बायोएनटेकको यो खोपलाई अमेरिकाभर पुर्याउन शनिबार बिहानैदेखि पहिलो चरणको ढुवानी सुरु गरिएको हो ।
अमेरिकामा सोमबार बिहानैबाट यो खोपको प्रयोग थालिने सरकारी अधिकारीहरुले बताएका छन् । खोपको ढुवानीका लागि फेडेक्स र यूपिएसका विशेष ट्रकहरु प्रयोग भएका छन् । ती ट्रकमार्फत् पहिलो चरणमा २९ लाख डोज खोप ढुवानी भइरहेको फाइजरले जनाएको छ ।
फाइजरकाअनुसार सोमबार बिहानसम्म १४५ स्थानमा खोपहरु पुगिसक्नेछन् । यस्तै मंगलबारसम्म थप ४२५ र बुधबारसम्म थप ६६ स्थानमा खोप पुगिसक्नेछ । फाइजरले मिसिगन, मिजौरी र मासाचुसेट्समा यो खोप उत्पादन गरिरहेको छ ।
कोरोनाको विश्व महामारीलाई परास्त गर्न तयार भई अमेरिका लगायत अन्य मुलुकहरुमा स्वीकृति पाएको यो पहिलो खोप हो । २१ दिनको अन्तरमा दुईपल्ट लगाउनु पर्ने यो खोप ९५ प्रतिशत प्रभावकारी र सुरक्षित प्रमाणित भएको छ ।
खोपले कसरी काम गर्छ?
फाइजर र मोडेर्नाको खोपले परीक्षणको तीनै चरणमा प्रभावकारी नतिजा देखाएका छन् । त्यसमध्ये स्वीकृतिका लागि आवेदन दिने र अनुमति पाउने पहिलो खोप चाहिं फाइजर बनेको छ । मोडेर्नाको खोप सम्बन्धी निर्णय गर्न डिसेम्बर १७ मा एफडीए एड्भाइजरी बोर्डको बैठक बस्दैछ ।
यो एमआरएनए भनिने नयाँ प्रकारको खोप हो। महामारी मच्चाइरहेको भाइरसको सानो अंशको ‘जेनेटिक कोड’ प्रयोग गर्ने विधि हो । त्यसले शरीरलाई कोभिड-१९ विरुद्ध कसरी लड्ने भन्ने सिकाउँछ र रोग प्रतिरोधी शक्ति विकास गर्छ।
“जब कुनै व्यक्तिले यो खोप पाउँछन् उनको शरीरले चुच्चो परेका प्रोटिनको सङ्ख्या वृद्धि गर्छ, तर त्यसले सङ्क्रमण गराउँदैन। बरु त्यसले रोग प्रतिरोधी शक्तिलाई कोरोनाभाइरस शरीरमा प्रवेश गरेको खण्डमा बचाउ गर्ने किसिमले प्रतिक्रिया गर्न सिकाउँछ।”
फाइजरको यो खोप २१ दिनको फरकमा दुईपटक दिइन्छ। दोस्रो मात्रालाई ‘बूस्टर’ भनिएको छ। पहिलो मात्रामा रोग प्रतिरोधी शक्ति बन्न थाल्छ तर दोस्रो मात्रा खोप दिएको सातदिनपछि यो पूर्ण प्रभावकारी बन्छ।
खोपलाई असाध्यै कम तापक्रममा भण्डारण गर्नुपर्छ। फाइजरका अनुसार सुख्खा बरफ (ड्राई आइस) प्रयोग गरि ढुवानी गर्नुपर्ने हुन्छ । यसको भण्डारणमा पनि अत्यन्त सावधानीका साथ अत्यन्त चिसो बनाएर राख्नु पर्ने हुन्छ ।
उत्पादक कम्पनीले मार्चसम्ममा दश करोड डोज खोप अमेरिकालाई उपलब्ध गराउन सहमति गरेको छ।
मोडेर्ना र न्याशनल इन्स्टिच्यूट अफ हेल्थले विकास गरेको थप बीस करोड डोज दोस्रो खोप जून महिनासम्ममा उपलब्ध गराउने भनिएको छ।(सिएनएन \ बीबीसी)
प्रतिक्रिया