US Khabar

सन्तान – दुर्गा दाहाल

- Admin | ३ वर्ष पहिले प्रकाशित

सन्तान – दुर्गा दाहाल

आशामुखी चाँहनाको करोड थियो लर्को,
सन्तानको सुखी जीवन, के हुन्छ ? र अर्को ।
बिहानी र बेलुकीको छाक टार्दा टार्दै,
जीवनले हरेस खायो, सन्तान खुशी पार्दै ।। २

सन्तानको भोक तिर्खा, ऋणपान गरी,
गाउँबेँसी, तराईपहाड काम दिनभरी ।
आपूmलाई भोक लाग्दा, वरपिपलको छायाँ,
जीवनको हरेक पलमा सन्तानकै माया ।। २

सिउँदोको सिन्दुरले जन्मथलो फेर्यो,
एकदुई गन्दा गन्दै माया जालले बेर्यो ।
वर्षदिन नबित्दैमा प्यारो सन्तान देखेँ,
छैटौँ दिनको सुसाईतमा तिम्रो भाग्य लेखेँ ।। २

नानी बाबा भन्दाभन्दै दशौँ दिन बित्यो,
आखिर मेरा ईन्द्रियले तिमीलाई जित्यो ।
आमाबुबा छोडि आँए पराईको बंश,
ब्रह्माण्डमा सबै हामी, भगवानका अंश ।। २

भाग्य आफ्नो बनाउनु छ, खोजी खोजी शिक्षा,
तिम्लाई शिक्षा दिलाउन, घरदैलोको भिक्षा ।
पेट सँधै आधा थियो, तिम्रो पेट भर्दा,
साथीसंगी, ईष्टमित्र आपत विपत पर्दा ।। २

शिक्षा नै हो दिव्य ज्योति, ढोकासम्म गयौ,
देशको सेवा राम्रो गर्ने, असल नायक भयौ ।
हर्ष आँशु बग्न थाले, नदीनाला सरी,
सुवास तिम्रो बढिरहोस् ईज्जत संसारभरी ।। २

कर्म भयो सुसम्पन्न, बिहाबारी पनि,
सन्तान मेरा अगिपछि, पालो देलान् भनी ।
अहिलेसम्म हातभरी, डाईपरको बास्ना,
सबै मिलि भन्न लागे यहाँ हुन्न बस्न ।। २

निष्ठुरीको ज्ञान लियौ, कुलङ्गार मती,
मेरो दिलको धड्कनले, सम्झे झलझल्ती ।
बाबियोको डोरी जस्तो बटारिन्छ मन,
सुवास, कीर्ति ईज्जतभन्दा ठुलो हैन धन ।। २

चाडपर्व धेरै बित्यो, दशैँ पनि बित्यो,
आखिर तिम्रो घमण्ड र अहङ्कारले जित्यो ।
जीवनका दोहोरीले बढ्यो रक्तचाप,
ईश्वरसँग बिन्ती गर्छु, नदिनु है श्राप ।। २

दिनबिते वर्ष बिते, दशक पनि बिते,
जिन्दगीका हरेक पल संघर्षले जितेँ ।
आखिर मैले के पो पाँए, जीवन कस्तो कस्तो,
मेरो आशिष तिमीलाई नपरोस् है यस्तो ।। २

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">