विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीको सम्भावित जोखिमबाट बच्न सुदूरपश्चिम प्रदेशले विशेष सक्रियता देखाएको छ । गत साता धनगढीमा एकैपटक तीन जनामा कोरोना पोजिटिभ देखिएपछि प्रदेश सरकारले विशेष सावधानीका साथ आफ्ना गतिविधि अगाडि बढाइरहेको छ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म चार जनामा कोरोना भाइरसको पोजिटिभ संक्रमण देखिएको छ। संक्रमित चारै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। चार जनामा कोरोना संक्रमित देखिएपछि प्रदेश सरकारले प्रदेशबासीका नाममा सार्वजनिक अपील जारी गर्दै कोरोनाको जोखिमबाट बच्न र सरकारको निर्णयमा साथ दिन अनुरोध गरेको छ। साथै कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले गरेका प्रयासबारे पनि जानकारी गराएको छ।
चैत्र १४ गते धनगढीमा कोरोना भाइरसका संक्रमित भेटिएका थिए। त्यो नेपालको चौंथो संक्रमण थियो। चैत्र ११ गते दुबईबाट आएका युवामा कोरोना संक्रमण देखिएपछि उनको उपचार भइरहेको छ। परीक्षणका क्रममा चैत्र २२ गते धनगढीमा नै तीन जना नयाँ संक्रमित फेला परेका थिए। भारतका विभिन्न स्थानबाट आएका कैलाली र कञ्चनपुरका दुई पुरुष र एक महिलामा कोरोना भाइरसको संक्रमण भेटिएपछि प्रदेश सरकार संक्रमणको सम्भावित जोखिमबाट बचाउन अहोरात्र खटिरहेको छ।
नेपालमा संक्रमित ९ जनामध्ये ८ जना विदेशबाट आउनेहरु छन् भने धनगढीमा कोरोना संक्रमित महिला चाहिँ नेपालकै स्थानीय बासिन्दा हुन्। नेपालमा संक्रमण दोस्रो चरणमा प्रवेश गरेपछि संघीय सरकारको समन्वयमा प्रदेश सरकारले तीव्रताका साथ काम गरिरहेको छ। संघीय सरकारले केन्द्र सरकारका तर्फबाट सुदूरपश्चिम प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी खानेपानीमन्त्री बिना मगरलाई तोकेको छ। मन्त्री मगरको समन्वय र प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टको सक्रियतामा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सम्बन्धी गतिविधिमा तीव्रता आएकोहो।
प्रदेश सरकारले विदेशबाट आउने नेपालीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने जिम्मेवारी स्थानीय तहलाई तोकेको छ। क्वारेन्टाइनको व्यवस्थापनका लागि प्रदेश सरकारले उपमहानगरपालिकालाई पाँच लाख, नगरपालिकालाई चार लाख र गाउँँपालिकालाई तीन लाखका दरले बजेट बिनियोजन गरिएको मूख्यमन्त्री भट्टले जानकारी दिएका छन्। सीमावर्ती नाकामा अलपत्र नेपालीहरुको उद्दारका लागि प्रदेश सरकारले केन्द्र सरकारलाई बिकल्पसहितको सुझाव दिइएको र तत्कालका लागि सम्बन्धित ठाउँमै क्वारेन्टाइनको व्यवस्था गरिएको मूख्यमन्त्रीको कार्यालयले जनाएको छ।
प्रदेश सरकारले सेती प्रादेशिक अस्पताल, प्रदेशभित्रका जिल्ला अस्पतालहरु र स्वास्थ्य केन्द्रहरुमा आइसोलेशन वार्ड निर्माण, मेडिकल सामग्री खरिदका लागि आवश्यक बजेट पठाउने निर्णयसमेत गरिसकेको छ। प्रदेशले संघ र विभिन्न स्रोतबाट आएका मेडिकल सामग्री तत्काल तल्लो तहमा पुग्नेगरि व्यवस्थापन गरिएको मूख्यमन्त्रीको कार्यालयले जनाएको छ। मूख्यमन्त्रीको कार्यालयका अनुसार सेती प्रादेशिक अस्पतालका साथै डोटी, बैतडी लगायतका जिल्लाहरुमा पनि कोरोना परीक्षण प्रयोगशाला, त्यसका लागि आवश्यक पर्ने मेडिकल सामान र स्वास्थ्यकर्मीका लागि संघीय सरकारसँग अनुरोध गरिएको छ।
प्रतिक्रिया