US Khabar

दुई अध्यक्षले एक-अर्कालाई व्यक्तिगत र गम्भीर आरोप लगाएपछि नेकपाको सचिवालय बैठक सुरु

- Admin | ३ वर्ष पहिले प्रकाशित

दुई अध्यक्षले एक-अर्कालाई व्यक्तिगत र गम्भीर आरोप लगाएपछि नेकपाको सचिवालय बैठक सुरु

दुई अध्यक्षले एक-अर्कालाई व्यक्तिगत र गम्भीर आरोप लगाउँदै प्रतिवेदन पेस गरेपछि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ।

उक्त बैठकअघि नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षका नेताहरूले विभिन्न माध्यमबाट आफ्ना धारणाहरू सार्वजनिक गरेका छन्।

नेकपाका कतिपय नेताहरूका अनुसार मङ्गलवारको बैठकमा प्रचण्डको प्रतिउत्तरमा ओलीले पेस गरेको प्रतिवेदनको ‘संयुक्त रूपमा जवाफ दिने तयारी’मा ओलीइतर नेताहरू रहेका छन्।

ओली पक्षको मनस्थिति भने ‘दुवै प्रतिवेदनलाई थन्क्याएर नयाँ सहमति गरौँ’ भन्ने रहेको र त्यसैका लागि पहल गरिरहेको एक नेताले अनौपचारिक कुराकानीमा बीबीसीलाई बताए।

उनका अनुसार प्रचण्ड र ओलीलाई मिलाउन केही नेताहरूले दौडधुप गरेका छन् र खुमलटार तथा बालुवाटारमा बैठकअघि भेटघाट गरेका छन्।

सार्वजनिक घोचपेच
दुई अध्यक्षबीच विवाद चरम उत्कर्षमा पुगेका बेला उनीहरू निकट नेताहरूले एकअर्को पक्षलाई घोचपेच गर्दै सार्वजनिक रूपमै अभिव्यक्ति दिइरहेका छन्।

प्रचण्ड निकट मानिने नेता जनार्दन शर्माले सोमवार बेलुका कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको कार्यक्रममा ‌ओलीले नेतृत्व त्याग गर्न र नयाँ पुस्तालाई हस्तान्तरण गर्न आफू तयार भएको भनी आफ्नो प्रतिवेदनमा लेखेको कुराको जवाफ दिएका थिए।

फायरसाइड कार्यक्रममा उनले भने, “…प्रधानमन्त्रीजीले भोलि (मङ्गलवार) कै बैठकमा अध्यक्ष प्रधानमन्त्रीद्वारा राजीनामा दिएर अर्को पात्रलाई अगाडि को व्यक्ति हो ल्याउनु हुनेछ। त्यसलाई हामी समर्थन गर्नेछौँ।”

“सिङ्गो स्थायी कमिटीले समर्थन गर्नेछ, त्यसो हुने बित्तिकै अध्यक्ष प्रचण्डले लाग्छ- त्यो कुरालाई समर्थन गर्नुहुनेछ।”

शर्माको यस्तो अभिव्यक्ति आएको भोलिपल्ट मङ्गलवार बिहान नेकपाका ओली निकट नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले फेसबुकमा शर्मालाई नै लक्षित गरेझैँ गरी आफ्नो धारणा सार्वजनिक गरे।

उनले त्यहाँ लेखेका छन्,”पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजीनामा माग गर्नु पार्टी एकताविरोधी गुटगत मानसिकता हो।”

उता प्रचण्ड निकट ऊर्जामन्त्री वर्षमान पुनले सोमवार रोल्पाको एउटा कार्यक्रममा ‘दुवै अध्यक्षले सहमतिमा दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गरेमा’ सरकार र पार्टी दुवैको नेतृत्व गर्न दोस्रो पुस्ता तयार रहेको बताएको खबर पनि आएको छ।

विवाद कम गर्ने पहल
दुई अध्यक्षले व्यक्तिगत तहमै ओर्लेर एकअर्कालाई आरोप लगाउँदै प्रतिवेदन नै लेखेकाले विवाद निकै चुलिएको भन्दै केही नेताहरू भने त्यसलाई कम गर्न दुवै पक्षलाई मिलाउने कसरतमा रहेको जानकारहरू बताउँछन्।

एकाथरीले अब नेकपा एउटै पार्टीका रूपमा रहन नसक्ने विश्लेषण गरिरहेका बेला नेकपाकै नेताहरू दुवै पक्षका असन्तुष्टिहरू बाहिर निस्किए पनि पार्टी फुटिनहाल्ने बताउँछन्।

कान्तिपुर टेलिभिजनको कार्यक्रममै शर्माले चाहिँ ‘अहिले दुवै पक्षबाट विकार तत्त्व बाहिर निस्किएको र त्यसलाई स्वस्थ हुने गरी विधि र प्रक्रियाबाट अघि बढ्दा पार्टी सही दिशामा जाने’ बताएका छन्।

ओलीपक्षधर एक नेताले आफूहरूले दुवै अध्यक्षलाई मिलाउन प्रयत्न जारी राखेको बीबीसीलाई बताए।

 

‘दुवै प्रतिवेदनमा छलफल हुनुपर्छ’
अहिले ओलीइतर नेता पार्टी बैठकमा दुवै प्रतिवेदनबारे छलफल हुनुपर्ने धारणा राखिरहेका छन् भने ओली पक्षधरले दुवै प्रतिवेदनलाई स्थगित गर्नुपर्ने बताइरहेका छन्।

स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बीबीसीसँग भनिन्, “दुईवटा प्रतिवेदन आयो, आत्तिहाल्नुपर्ने छैन। छलफल गर्ने विधि तय गर्नुहोस् आज (मङ्गलवार) उहाँहरूले।”

“यसलाई आरोपपत्र हो भनेर एक अर्कालाई बुझ्नु पनि हुँदैन र जरुरी पनि छैन। त्यसले सरकारलाई र पार्टीलाई बलियो बनाउँदैन।”

उनले यी प्रतिवेदनलाई अन्तरपार्टी सङ्घर्षका रूपमा लिएर छलफल अघि बढाएमा पार्टी र सरकार नयाँ गतिले अघि बढ्ने बताइन्।

तर ओली पक्षधर नेताले भने दुवै प्रतिवेदन स्थगित गर्नुपर्ने घारणा राख्दै आएका छन्।

पोखरेलले गत शनिवार फेसबुकमै लेखेका थिए, “म फेरि पनि भन्छु- पार्टी एकता रक्षाका लागि दुवै प्रतिवेदनलाई स्थगित गरी एकीकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको बैठक अग्रसर होस्।”

साभार: बिबिसी

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">