युएस खबर
काठमाडौं, ४ कात्तिक
बिगत आधा दशकदेखि गायनमा लागेकी गायिका सरिता भारती सम्मानित भएकी छिन् । नेपाली गीत संगीत क्षेत्रमा छोटो समयमा ब्यस्त गायिकाको रुपमा अतुलनीय योगदान पुर्याएको भन्दै उनलाई काठमाडौंमा सम्पन्न नेपाल आर्ट कल्चर एन्ड म्युजिक अवार्ड–२०७७ समारोहमा संगीत योगदान सम्मान २०७७ बाट सम्मानित गरिएको हो ।
शहरी विकाश राज्यमन्त्री रामबीर मानन्धरले सो अवार्ड समारोहमा अहिलेकी व्यस्त गायिका सरिता भारतीलाई संगीत योगदान सम्मानबाट सम्मानित गरेका हुन् ।
कार्यक्रममा मन्त्री मानन्धर सहित चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, कान्तिपुर टेलिभिजनका स्टेशन म्यानेजर, कलाकार तथा चलचित्र निर्देशक दिनेश डिसी, आयोजक संस्थाका अध्यक्ष एवम् सञ्चारकर्मी सूर्य चन्दले गायिका सरिता भारतीलाई सँयुक्त रुपमा सम्मान प्रदान गरेका हुन् । नेपाली गायनमा छोटो समयमा उल्लेख्य योगदान दिँदै आफुलाई व्यस्त गायिकाको रुपमा चर्चाको शिखरमा पुर्याएको भन्दै सरिता भारतीलाई सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष सूर्य चन्दले बताएका छन् ।
सो सम्मान पत्रमा यस्तो लेखिएको छ,‘नेपाली गीत संगीत क्षेत्रमा छोटो समयमै लोकप्रियता हाँसिल गर्न सफल रही गायनका माध्यमले कलाकारिता क्षेत्रमा यहाँले खेल्नु भएको भूमिका प्रसँसायोग्य छ । नेपाली कला संस्कृति, गीतसंगीत क्षेत्रमा निरन्तर क्रियाशिल रहने अठोटका साथ गायन विधामा आफुलाई स्थापित गराउन दिनरात मेहनतका साथ अघि बढीरहनु भएकोमा समाजमा गायनका माध्यमले सकरात्मक भूमिका निर्वाह गर्नेछ भन्ने आशाका साथ यहाँले पुर्याउनु भएको योगदानको उच्च मूल्याँकन गर्दै नेपाल आर्ट कल्चर एन्ड म्युजिक अवार्ड–२०७७ को अबसरमा यहाँलाई संगीत प्रोत्साहन सम्मान २०७७ अर्पण गर्दछौं । आगामी दिन सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।’
यसरी आफ्नो योगदानको कदर स्वरुप सम्मान गर्दै गायनमा लाग्न अझ उर्जा थप्नुका साथै हौसला बढाएको भन्दै गायिका सरिता भारतीले आयोजक पक्षप्रति आभार प्रकट गरेकी छिन् ।
सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरबाट गायनमा डिप्लोमा गरेकी गायिका भारतीले गायनबाटै विभिन्न अवार्डहरु जितिसकेकी छिन् । गायिका भारतीको मेरो जवानी…, लुडो र तास…, यसपालीको दशैं…, कोरोनाले देशै रायो…, रातो सारी लरक्कै…, पहिलो भेटमै…, बजाई देउ बाजा…सहित थुप्रै चर्चित गीतहरु बजारमा आईसकेका छन् । दशैंको लगत्तै सरिताको नयाँ देउडा गीत र त्यसपछि सेती बगर…दोहोरी गीतको भिडियो बजारमा आउँदैछ । उनका अन्य केही नयाँ गीतहरु रेकर्ड भएर बजारमा आउने तयारीमा छन् ।
एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी उनी गायनसँगै मोडलिङमा पनि व्यस्त छिन् । व्युटी न्युज नेपालकी समाचार संयोजक सरिता भारती आफुलाई गायिकाको रुपमा निरन्तर अघि बढाउने बताएकी छिन् ।
प्रतिक्रिया