नेपालमा प्रत्येक वर्ष १६०० भन्दा बढी बालबालिकाहरू क्यान्सर जस्तो गम्भिर रोगबाट ग्रसित हुन्छन् । जसमध्ये धेरै जनाले कमजोर आर्थिक अवस्थाका कारण उचित उपचार पाएका हुँदैनन् । तीनै बालबालीकाहरुको दयनिय अवस्थाका कारण ३८ वर्षिय समिर श्रेष्ठ वेचैन छन् ।
‘त्यस्ता बच्चाहरुका लागि केही गर्न पाए हुन्थ्यो जस्तो लाग्छ,’ समिरले भने,‘त्यसकारण सपनामा पनि मैले उनिहरुलाई नै देखिरहेको हुन्छु ।’ समिरसहित उनका साथीहरुको मिलेर त्यस्ता बालबालीकाका लागि ‘दीर्घजीवी भोलेन्टियर ग्रुप’ नै सञ्चालन गरेका छन् । उनले विगत लामो समयदेखि क्यान्सर जस्तो प्राणघातक रोगबाट ग्रसित बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएका छन् ।
२०४१ सालमा चितवनमा निम्न वर्गिय परिवारमा जन्मिएका समिरले पाँच कक्षामा पढ्दै गर्दा बाबु गुमाए । घरमूली नै नभएपछि समिरलाई दुख र अभावहरुले पछ्याइरहयो । जसोतसो माध्यमिक शिक्षाको परिक्षा दिए । तर उत्तिर्ण हुन भने सकेनन् । ‘शनिबारको दिन विज्ञानको परिक्षा रहेछ थाहा थिएन, शिक्षकले पनि पछि खबर गर्नुभयो । परिक्षा सकिन २० मिनेट बाकीँ हुँदा परिक्षाहल छिरेको थिएँ, फेल पो भएछु,’ समिर पुराना दिनहरुमा फर्किए ।
काठमाडौंमा काका र काकी बस्थे । उनीहरुकै सहारामा उनी पनि काठमाडौं आए । यहाँ आएपछि पसलहरुमा मार्केटिङ र डेलिभरीको काम गरे । न्यूरोड क्षेत्रस्थित एक अफिसमा काम गर्ने समिर बानेश्वरमा बस्थे । काममा जाँदा सधैँ जसो हिडेर जाने उनले सडकका बालबालिकाहरुलाई देख्थे र त्यसपछि उनले तीनै बालबालीकाको बारेमा सोच्ने थाले । ‘तलब थोरै भएपनि आफ्नो पकेट खर्च कटाएर ती बालबालिकाहरुलाई पैसा दिने गर्थें,’ समिरले भने, ‘तर मेरो त्यो पकेट खर्चले उनीहरुमा केही बदलाव आउँदैन भन्ने थाहा थियो । त्यो समयमा मसँग विकल्प पनि थिएन ।’
साईकल यात्राबाटै सेवा !
उनलाई साइकल प्रतिको मोह बढ्दै गयो । ‘मैले काम गर्दै गर्दा साईकलप्रतिको मोह पनि बढ्यो,’ समिरले भने, ‘पढाई नै सबै भन्दा ठूलो हतियार हो भन्ने थाहा पाएपछि मैले प्राईभेट स्कुलहरुबाट एसएलसी पास गरेँ । र आफ्नो शिक्षालाई पनि अगाडी बढाएँ ।’
साईकल चलाउने मोह र साईकलप्रतिको ज्ञानले पाकोसाईकलिस्ट नै बने । उनले आफुसँग भएको सिपलाई नै सदुपयोग गरेर असहाय बालबालिकाहरुको लागि सहयोग गर्ने जमर्को गरे । सडक बालबालिकाहरुको लागि केही गर्नुपर्छ भन्ने भावनाका कारण समिरले सन् २००४ मा साईकलमा नै सार्क यात्रा तय गरे ।
त्यतिबेला भएको सार्क सम्मलेनमा अगावै सार्क राष्ट्रहरुको यात्रा गर्ने जमर्को गरे तर सम्भव भने भएन । त्यो समयमा उनले भारत र बंगलादेशमा भने साईकलमै यात्रा गरे। ‘सडकका बालबालिकाहरुको नाममा केही ध्यानाकर्षण होस् भनेर मैले सार्क यात्रा गरे ,’ समिर सम्झन्छन्,‘ मैले त्यो समयमा भारत र बंगलादेश साईकलमा नै यात्रा गरेँ । पाकिस्तानमा जानको लागि लिईएको भिजाको समय भारतमै सक्किएको कारणले पाकिस्तान भने जान सकिन ।’
सार्क यात्राबाट फर्किएपछि उनले महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा केही समय स्वयंसेवकका रुपमा काम गर्न थाले । एक वर्षसम्म कान्ति बाल अस्पतालमा काम गरेपछि उनको सोच बदलियो । यात्रा मोडियो ।
‘२००५ तिर होला मैले कान्ति बाल अस्पतालमा भोलेन्टियरका रुपमा काम गर्ने मौका पाएँ,’ समिरले भने, ‘मैले त्यहाँ झण्डै एक वर्ष काम गरेँ । कन्यासरबाट ग्रसित बालबालिकाहरुलाई देखेँ जसले मलाई आज पनि राम्रोसँग सुत्न दिदैनँ ।
त्यहाँ देशको कुनाकाप्चाबाट आएका बिरामी बालबालिकासँग उनी समय बिताउँथे । उनीहरूको निम्ति कथा वाचन गर्ने वा उनीहरूलाई वाचन गर्न लगाउने, भित्ते चित्रहरू बनाउने, अस्पताल वरपर सरसफाइको महत्वबारे सन्देश प्रवाह गर्ने लगायत कार्यहरू गर्थे । त्यसपछि उनले क्यानसर रोगबाट ग्रस्त बालबालिकाहरुको लागि काम गर्न सुरु गरे ।
२०६२ सालमा तिनै क्यान्सर रोगबाट ग्रस्त बालबालिकाहरु कै सेवाको लािग समिर र उनका साथिहरुले मिलेर ‘दीर्घजीवी भोलेन्टियर ग्रुप’ दर्ता गराए । सोही संस्था मार्फत उनले सक्रिय रुपमा क्यान्सर रोगबाट ग्रस्त बालबालिकाहरुको काम गर्न थाले । कमजोर आर्थिक अवस्थाका कारण उपचार नपाएका क्यान्सर पीडित बालबालिकाहरुको लागि उनले आफै २४ सै घण्टा खर्च गर्न थाले ।
उनीहरुको खाना र बस्ने साथै अन्य काममा समेत उनले टेवा पुर्याउन थाले । ‘आर्थिक सहयोग गर्न सके आर्थिक सहयोग नै गर्ने होइन भने विभिन्न माध्यमबाट अहिलेसम्म पनि सहयोग गर्दै छु,’ समिर भन्छन्, ‘क्यान्सर पीडित बालबालिकाहरुको मनोविज्ञान बुझ्न कै लागि मैले ‘काउन्सिलिङ साईकलोजी’मा डिप्लोमा पनि गरेको छु ।’ समिरले बालबालिको लागि मात्रै काम गरेनन्, उनले क्यान्सरग्रस्त बालबालिकाहरुको अविभावकहरुको लागि समेत काम गरे ।
साईकल यात्राबाट कसरी उठ्छ सहयोग ?
क्यान्सरग्रस्त बालबालिकाहरुको खाद्यान्न तथा लत्ता कपडाको लागि उनी आउँदो मंसिर चार गते ८०० किलोमिटर एक्लै साइकल यात्रा गर्दैछन् । क्यान्सर पीडित बालबालिकाहरुको लागि उनले काठमाडौंदेखि रारासम्मको यात्रा तय गर्न लागेका हुन् । उनले त्यो यात्राबाट असहाय बालबालिकाहरुको लागि सहयोग जुट्ने अपेक्षा समेत राखेका छन् ।
अन्य समाजसेवीहरुले जस्तै समिरले पहिले नै सहयोग संकलन भने गर्दैनन् । ‘म सुरुमै सहयोगको अपेक्षा गर्दिन,’ समिरले भने,‘म पहिले आफ्नो काम गरिसक्छु अनि त्यसपछिमात्रै सहयोग लिने छु ।’ गत वर्ष पनि उनले काठमाडौ देखि ईलामसम्म ६०० किलोमिटर साईकल यात्रा गरेका थिए । त्यतिवेला उनले ५००० डलरको अपेक्षा गरेका थिए ।
त्यस्तै ५ वर्षअघि उनले काठमाडौंदेखि कर्णालीसम्म साईकल यात्रा गरेका थिए । तर त्यतिबेला सोचेअनुसार सहयोग आएन । त्यो समयमा उनले २५००० नेपाली रुपैयाँ मात्रै सहयोग संकलन गरेका थिए । यो पटक उनले कम्तिमा पनि ५००० डलर संकलन गर्ने लक्ष्य राखेका छन् ।
हेर्नुहोस् भिडियो:-
प्रतिक्रिया