नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले अपराधी दोषी ठहर भएका व्यक्तिलाई आममाफी दिनु संविधानको मर्मविपरित भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री थापाले हत्या ठहर भइ जेलजीवन बिताइरहेका रिगल भनिने योगराज ढकाललाई आममाफी दिनु संविधानको मर्मविपरित भएको जिकिर गरेका हुन्। रिगलको आममाफीलाई लिएर उनी सुरु देखि नै विरोध जनाइरहेका छन् । महामन्त्री थापाले रिगललाई सरकारले आममाफी सिफारिस गरेकोमा गत असोज ४ देखि ८ गतेसम्म सानेपामा चलेको केन्द्रीय समिति बैठकमा पनि यस विषयको विरोध गरेका थिए ।
संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए। अहिले त्यसको चौतर्फी विरोध भइरहेको छ। संसदमा बोल्दै यो विषय अदालतको ढोकासम्म पुगेकोले हामीलाई गिज्याइरहेको र अदालतमाथि पनि प्रश्न उठेको बताएका छन् ।
महामन्त्री थापाले हत्या पुष्टिपछि जेल जीवन बिताइरहेका व्यक्तिलाई आममाफी दिने निर्णय गलत भएको स्पष्ट पार्दै यसको विरोध हुनुपर्ने र आफुले विरोध गर्ने बताएका हुन् । थापाले कानुनका छिद्रहरू प्रयोग गरेर गम्भीर अपराधमा जोडिएकालाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी दिने कार्य गलत भएको पनि बताएका छन््। बैठकमा बोल्दै उनले कानुनका छिद्र प्रयोग गर्दै आममाफी दिने प्रवृत्ति रोक्नुपर्ने बताएका हुन्। ‘संविधानसभाले बनाएको संविधान, संविधानले बनाएको कानुन र ती कानुन अहिले अपव्याख्या भएकोले हाम्रो काँधमा कानुन बनाउने जिम्मेवारी आएको बताएका छन् ।
आममाफीको निर्णय गलत भएको भन्दै सरकार जवाफदेही हुनुपर्ने उनले बताएका छन् । उनले आममाफी दिन सक्नेछ भन्ने विषयलाई नियमजस्तो बनाइएकोमा पनि आपत्ति जनाएका छन्।
श्रीमानको हत्यारा रिगललाई उन्मुक्ति दिएको विरोधमा भारतीले काठमाडौंको माइतीघरमा बुधबारबाट अनशन सुरू गरेकी छन्। श्रीमान् चेतन मानन्धरका हत्यारा रिगललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च परिसरमा मै ढलेकी थिइन् । आममाफीविरुद्ध उनले दायर गरेको रिटको सर्वोच्चमा हिजो पहिलो पेशी थियो । तारिख लिएर फर्किने क्रममा सर्वोच्च परिसरमा बेहोस भएर ढलेपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । न्यायका लागि नेपालगञ्जबाट काठमाडौं आएकी भारती न्यायका लागी सरकारसँग विलौना गर्दै छिन् ।
३ असोज संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा नेपालगन्जको सुर्खेतरोडमा स्थानीय युवा चेतन मानन्धरलाई खुँडा हानेर हत्या गर्ने समूहका मुख्य नाइके रिगललाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । जेल जानुअघि नेपाली कांग्रेस निकट तरुण दलका क्षेत्रीय सभापतिसमेत रहेका ढकाललाई कैद सजायको ५० प्रतिशत भुक्तान नहुँदै राष्ट्रपतिबाट आममाफी पाएका हुन् । २०७२ साल असार २८ गते नेपालगन्जको व्यस्त बजार धम्बोझीचोक नजिकै दिनदहाडै खुँडा प्रहार गरीमानन्धरको हत्या गरेको अभियोगमा ढकाललाई सर्वस्वसहित जन्मकैदको फैसला भएको थियो । मानन्धरलाई हत्या गरेको अभियोगमा जिल्ला अदालत बाँकेले उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। तर ४० प्रतिशत मात्रै सजाय काटेको अवस्थामा नेपाली कांग्रेसका नेताहरुको दबाबमा कारागार प्रशासनबाट सिफारिस भएसँगै दाङ कारगारबाट छुटेका थिए ।
अहिले रिगलको विषयलाई लिएर चौतर्फी विरोध भइरहेको छ। रिगललाई आममाफी दिइएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रतिनिधि सभा बैठकमै प्रश्न उठाएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले राष्ट्रपति पौडेललाई भेटेर आममाफीबारे तीन बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो।
प्रतिक्रिया