नेपालगन्ज उद्योग वाणिज्य संघ कार्यसमितिको बाँकेको जमुनाहा भन्सार नाकामा आकस्मिक बैठक बसेको छ । सोमबार ‘भन्सारमा सहजीकरण तथा सचेतना कार्यक्रम’ का क्रममा बाँकेका उद्योगी व्यवसायीले भन्सार क्षेत्रको अवलोकन भ्रमण गर्दा देखिएका कमीकमजोरी सुधार्ने पहलमा आकस्मिक बैठक डाकेको प्रवक्ता डम्बरबहादुर चन्दले बताए ।
प्रवक्ता चन्दका अनुसार संघको बैठकले सीमावर्ती रुपैडियामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले जस्तै जमुनाहा नाकामा पनि भारत प्रवेश गर्दा र भारतबाट नेपाल आउँदा सबै यात्रीहरुलाई अनिवार्य रुपमा परिचयपत्रका जाँच गर्ने व्यवस्था लागू गर्नुपर्ने माग गरेको छ । यसैगरी, भारतबाट किनमेल गरेर आएका यात्रीको सामान राम्ररी जाँच गरी जमुनाहा नाकाको यात्रु शाखाबाटै राजस्व संकलन गर्ने कार्यलाई प्रभावकारी बनाउनु पर्ने माग पनि गरिएको छ ।
जमुनाहा मूल नाकामा जस्तै सीमा नाकाकोे मुस्किलले एक किलोमिटरको दूरीमा आधा दर्जनभन्दा बढी तस्करी गर्ने नाकाहरु रहेको उल्लेख गर्दै ती सबै स्थानमा तत्काल ब्यारियर राखेर सशस्त्र प्रहरी बलको अस्थायी पोस्ट राख्नुपर्ने र सीसीटिभी जडान गरेर कडा निगरानी गर्नुपर्ने संघको माग छ ।
जमुनाहा नाकामा २०७५–०७६ सालदेखि यात्रु शाखामा राखेको स्क्यानर मेसिन बिग्रिएर थन्किएको अवस्थामा छ । सबै सामानको स्क्यान गरेर मात्र पठाउन स्क्यानर मेसिन राख्न पनि माग गरिएको छ । त्यसैगरी, खुला सीमा नाकाका कारण अवैध आयात निर्यात भइरहेको भन्दै सशस्त्र द्वन्द्वको समयमा बन्द गरिएका बाँकेका साइगाउँ, भनघोटना, खडैचा, उढरापुर, भगवानपुर, नरैनापुर र सुइँयाबघौडामा छोटी भन्सार सञ्चालन गर्न पनि सरकारसँग माग गरिएको छ ।
प्रतिक्रिया