US Khabar

लेनदेन विवादमा पक्राउ परेका अनमोल केसी हिरासतबाट रिहा

- USKHABAR | २ महिना पहिले प्रकाशित

लेनदेन विवादमा पक्राउ परेका अनमोल केसी हिरासतबाट रिहा

लेनदेन विवादमा पक्राउ परेका अभिनेता अनमोल केसी रिहा भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई हाजिरी जमानीमा केहिबेर अघि रिहा गरेको हो।

जिल्ला अदालत काठमाडौंले केसीको तीन दिन म्याद थपेको थियो । शुक्रबारबाट गणना भएकाले आजै म्याद गुज्रिएकाले प्रहरीले छोडेको हो। आरोपीले प्रमाण नष्ट गर्ने सम्भावना नदेखिएको अवस्थामा प्रहरी अधिकारीले हाजिरीजमानीमा छाड्नसक्ने प्रावधान छ । सोही प्रावधान अनुसार उनलाई छाडिएको परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए।

प्रहरी स्रोतका अनुसार फिल्म निर्माता कम्पनी सुदर्शन थापा प्रोडक्सनले भने अनमोलबाट १ करोड ५ लाख रुपैयाँ लिनुपर्ने दाबी गरेको छ । तर अनमोलले भने निर्माता पक्षले प्राविधिकसहितलाई भुक्तानी गरेको १ करोड ५ लाख रुपैयाँसमेत आफूबाट तिराउन खोज्नु अन्याय हुने बताएका छन्। साथै निर्माता पक्षले सुटिङका लागि अफगानिस्तान लैजान भनेको तर पछि उक्त निर्णयबाट टिम पछि हटेको समेत अनुसन्धानका क्रममा अनमोलले बताएका छन्। उनका अनुसार त्यतिबेलासम्म फिल्म खेल्न सम्झौता भइसकेको थिएन। खातामा आएको १० लाख रुपैयाँ फिर्ता लैजानू भन्दा पनि निर्माताले नमानेको उनले बताएको प्रहरी स्रोतले बताएको छ।

अनमोललाई आइतबार जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ । केसीलाई प्रहरीले शुक्रबार भक्तपुरको साँगाबाट पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार १० लाख रुपैयाँ एडभान्स लिएर साइन गरेको फिल्ममा सम्झौता नै नगरेको भनेपछि निर्माता सुप्रिया कटुवालका उजुरीका आधारमा केसी पक्राउ परेका हुन्।

केसीले ‘रावायण’ फिल्मका लागि १० लाख रुपैयाँ एडभान्स लिएर साइन गरेको तर आफूले साइन गर्दै नगरेको, फिल्ममा सम्झौता नै नभएको भनेर हिँड्दै आएपछि निर्माता कटुवालले प्रहरी अपराध महाशाखा बानेश्वरमा उजुरी दिएकी थिइन्। प्रहरी स्रोतका अनुसार निर्माता कटुवालले गतअसोज ८ गते उजुरी दिएकी हुन्। सुदर्शन थापाको निर्देशनमा निर्माता कटुवालले यो फिल्म बनाउन लागेकी थिइन्। आफ्नो फिल्मका लागि साइन गरेर केसीले अर्को फिल्म ‘फर्कीफर्की’ मा काम गर्ने भएपछि कटुवालले धोका भएको भन्दै प्रहरीमा उजुरी गरेकी थिइन्।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">