अमेरिकाले सन् २०२५ का लागि डिभी लोटरी खुला गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले २०२५ को डिभी अक्टोबर ४ देखि भर्न सकिने घोषणा गरेको छ । अक्टोबर ४ को मध्यान्हदेखि नोभेम्बर ७ को मध्यान्हसम्म डिभी लोटरी भर्न सकिनेछ । डिभी २०२५ का विजेताहरुले सन् २०२५ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्नेछन् । विगतमा डिभी लोटरीमा सहभागी भएकाहरुले पनि यसपटक डिभी भर्न सक्नेछन् । साथै यसपटक पनि डिभी लोटरीमा सहभागी हुनका लागि पासपोर्ट अनिवार्य छैन ।
डिभीका लागि योग्य हुन १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव भएको हुनुपर्छ । डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु बुझाउनुपर्ने छ । डिभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र बच्चाबच्ची हुनेहरुले उनीहरुको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्ने । डिभी भर्दा दम्पत्ति र छोराछोरीको सम्पूर्ण विवरण उल्लेख गर्न सुझाव दिइएको छ । डिभी भर्दा सरकारको आधिकारिक वेवसाइटबाटमात्र भर्नुपर्छ । अक्टोबरको पहिलो सातापछि सरकारको आधिकारिक वेवसाइटमा डिभी भर्ने लिंक उपलब्ध हुनेछ ।
अमेरिकाले आफ्नो मुलुकमा विश्वका विभिन्न मुलुकका मानिसलाई भित्र्याउनका लागि डिभी चिठ्ठा कार्यक्रम ल्याएको हो । अमेरिकाको जनसङ्ख्यालाई अझ विविध तुल्याउनका लागि सन् १९९१ बाट डिभी कार्यक्रम शुरु गरिएको हो । खासमा अमेरिकातर्फ कम आप्रवासन दर भएका मुलुकका नागरिकलाई अमेरिका भित्र्याउनका लागि डिभी कार्यक्रमको शुरुवात गरिएको हो । यसअनुसार हरेक वर्ष विभिन्न मुलुकबाट १ लाख आवेदकलाई दामाशाहीबाट छान्ने गरिन्छ भने ५० हजारलाई ग्रीनकार्ड दिइने प्राबधान छ । डिभी चिठ्ठा दामाशाहीबाट छानिने भएकाले डिभी पर्ने नपर्ने निश्चित भने हुँदैन ।
हरेक वर्ष अमेरिकाले डिभी चिठ्ठा भर्ने अनलाइन फाराम खुला गर्ने गर्छ । यसअनुसार हरेक वर्ष १ करोड देखि २ करोडसम्मले अनलाइन फाराम भर्ने गर्छन् । यसमा अफ्रिकी तथा एशियालीहरुको धेरै ठूलो सहभागिता रहने बताइन्छ । अमेरिकाले डिभी परेका करिव ४० प्रतिशतलाई मात्रै भिसा दिने गर्छ ।
कसरी भर्ने डिभी, के छ प्रक्रिया ?
अमेरिकाको विदेशमन्त्रालय अन्तर्गतको वेबसाइटमा डिभी चिठ्ठा भर्ने फाराम राखिएको हुन्छ । त्यहाँ आफ्नो तस्बीरसहितको आफ्नो वास्तविक विवरण भर्नुपर्ने हुन्छ । त्यहाँबाट एउटा कन्फरमेसन कोड दिइन्छ ।
डिभी चिठ्ठा आवेदन भरेको निश्चित समयपछि अमेरिकाको विदेशमन्त्रालयले चिठ्ठाको नतिजा सार्वजनिक गर्दछ । डिभी भर्ने बेला दिइएको कन्फरमेसन कोडको माध्यमबाट डिभी चिठ्ठा परेरनपरेको निश्चित हुन्छ । यसकारण कन्फरमेसन कोड बिर्सिनु हुँदैन । यदी डिभी चिठ्ठा परेको भए आप्रवासन भिसाको औपचारिक आवेदन दिनुपर्ने प्राबधान छ । यससँगै आफ्नो शैक्षिक योग्यता र अन्य आवश्यक दस्तावेजहरु पेश गर्नुपर्छ । दस्तावेज नेपाली वा अरु कुनै भाषामा भए त्यसको अंग्रेजी प्रति पनि पेश गर्नुपर्छ ।
त्यसपछि अमेरिकी अध्यागमन निकायले आवेदकको पृष्ठभूमि अध्ययन गर्छन् । आवेदकको आपराधिक रेकर्ड, विवरण सही भएरनभएको जाँच, मेडिकल जाँच लगायतको अध्ययन गरिसकेपछि अन्तरवार्ताको प्रक्रिया शुरु हुन्छ । तर, आवेदकको सबै विवरण सही भएपनि अन्तरवार्ताका लागि छनोट नहुन सक्छन् । डिभी परेका सबैलाई भने अमेरिकाले भिसा दिँदैन । छनौट भई अन्तरवार्ता सफल भएमा आवेदकको अमेरिका यात्राका लागि बाटो खुला हुन्छ । त्यसपछि आप्रवासन भिसा दिइन्छ । यद्यपि अन्तरवार्तामा सफल भएका सबैले भिसा पाउँछन् भन्ने पनि हुन्न । तर, भिसा पाएपछि भने अमेरिका यात्राको बाटो खुला हुन्छ ।
प्रतिक्रिया