आर्थिक लेनदेन विवादमा उजुरीपछि पक्राउ परेका अभिनेता अनमोल केसी गएराति नर्भिक अस्पतालमा भर्ना भएका छन् । छातीमा पीडा भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । भक्तपुरको साँगामा बेलुका पक्राउ गरेर प्रहरीले उनलाई अपराध महाशाखा बानेश्वरमा ल्याएको थियो । केसीलाई भेट्न पुगेको फिल्म ‘जेरी अनटप’का निर्माता सरोज न्यौपानेले छातीमा केही समस्या भएपछि अनमोललाई नर्भिकमा भर्ना गरिएको जानकारी दिए ।
न्यौपाने अनमोलको आगामी फिल्मका निर्माता हुन् । आफु जेलमै बस्न तयार भएको तर नराम्रो मूभी नगर्ने अनमोलले बर्ताको निर्माता न्यौपानेले जानकारी दिए । आपराधिक विश्वासघात गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको हो ।
रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए । उनलाई भक्तपुरको साँगाबाट साँझ साढे ५ बजे एसपी मिलन केसीको टोलीले नियन्त्रणमा लिइएको र थप अनुसन्धानका लागि हिरासतमा लिइएको प्रवक्ता एसपी रवीन्द्र रेग्मीले बताएका छन् ।
निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारमा अनमोलविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी भएको रेग्मीले जानकारी दिएका छन् । प्रहरीले खोजी कार्य गर्दा सूचनाको आधारमा साँगाबाट पक्राउ गरिएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार, केसीले फिल्म खेल्छु भनेर बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ लिएका थिए । तर, फिल्म खेल्न मानेका थिएनन् । यही फिल्मलाई लिएर निर्माण पक्षको एक करोड ५ लाख रुपैयाँ बजारमा गइसकेको समेत उनले बताए । केसीले फिल्म नखेल्ने भनेर लगानी धरापमा परेपछि दशैंको मुखमा ६५ जना प्राविधिक समेत अलपत्र परेको छन् ।
प्रतिक्रिया