US Khabar

विधिवत रुपमा सुरु भयो इन्द्रजात्रा, कसरी सुरु भयो, यस्तो छ यसको किम्बदन्ती

- USKHABAR | २ महिना पहिले प्रकाशित

विधिवत रुपमा सुरु भयो इन्द्रजात्रा, कसरी सुरु भयो, यस्तो छ यसको किम्बदन्ती

काठमाडौंको बसन्तपुरमा मंगलबार इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएको छ । यससँगै काठमाडौं उपत्यकामा इन्द्रजात्रा पर्व विधिवत रुपमा सुरु भएको छ । भाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीका दिन बसन्तपुरको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने इन्द्रजात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । यही असोज ११ गते इन्द्रजात्राको मुख्य दिन परेको छ । यस दिन काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुरुप केन्द्रीय मानन्धर संघको टोलीले भक्तपुरको सूर्यविनायकस्थित चित्तपोलको जंगलबाट काटेर ल्याएको लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । इन्द्रजात्रा काठमाण्डौं सहरको प्राचीन बस्ती वसन्तपुरमा मनाइने विविध जात्रा मध्येको एक रमाइलो र महत्वपुर्ण जात्रा हो । काठमाण्डौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायत स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पुजा आराधना गरी परम्परागत रुपमा नेवारहरुले यो जात्रा मनाउने गर्दछन् । यसलाई येँया पुन्हि पनि भन्निछ ।

तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ। हनुमानढोका दरवारक्षेत्रमा कालभैरवको विशाल मूर्ति अगाडि धार्मिक विधि अनुसार उक्त लिंगो ठड्याएपछि इन्द्रजात्राको चहल पहल सुरू हुन्छ। यसरी ठडयाइएको लिङ्गोलाइ ’इन्द्रध्वजोत्थान’ पनि भनिन्छ।

नेपाल भाषामा ’योसीं’ भनिने उक्त लिंनगोमा मङ्गल सूचकका विभिन्न चिह्न अङ्कित पताका झुन्ड्याएको हुन्छ। उक्त लिंगो ठड्याएपछि फेंदमा हात्ती चढेको सुनको जलप लगाइएको इन्द्रको प्रतिमा राखेर पूजा गरिन्छ र लिंगो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँछन। इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ। यस अवसरमा हनुमानढोका दरवारक्षेत्रमा रहेको श्वेतभैरवको विशाल सरभमुख सर्वसाधारणलाई दर्शन र पूजाका लागि खुला गरिन्छ।

साँझ बौद्ध धर्मावलम्बीले वर्षभरिमा दिवंगत भएका आफन्तहरू सुखावती भूवनमा बासको कामना गर्दै धारणी स्तोत्र पाठ गर्ने गर्छन्। उनीहरूले बाटोभरि दीयो दान गर्दै काठमाडौँ नगर बस्ती बाहिरका बाटाहरू हुँदै नगर परिक्रमा गर्ने गर्छन्। इन्द्रजात्राको अन्तिम दिनमा नानीचा याः भनी वसन्तपुरदेखि प्याफल, नरदेवी, किलागल, असन, इन्द्रचोक मखन भई पुनः वसन्तपुर नै पु¥याएपछि इन्द्रजात्रा सकिन्छ। त्यसै रात इन्द्रध्वजा फहराइएको लिंगो ढाली तानेर बाग्मतीमा लगी सेलाएपछि यो वर्षको इन्द्रजात्रा समाप्त हुन्छ

यसरी आठ दिनसम्म मनाइने इन्द्रजात्राको अन्तिम दिन यस पर्वमा हनुमानढोका लगायतका क्षेत्रमा जीवितदेवीका रूपमा रहेकी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ। यस पर्वमा हनुमानढोका लगायतका क्षेत्रमा जीवितदेवीका रूपमा रहेकी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ।

इन्द्रजात्राका विषयमा विभिन्न किम्वदन्ती प्रचलित छ । एउटा भनाइअनुसार वर्षा राम्रोसँग सम्पन्न भई बाली लगाइएकाले अब बिदा लिनुस् भनी वर्षा अन्त्यको कामना गर्न यो जात्रासँगै विभिन्न देवीदेवताको नाच देखाउने क्रम सुरु भएको हो। यस्तै स्वर्गका राजा इन्द्र आफ्नी आमाको व्रतका लागि पारिजातको फूल, कर्कलाको पातलगायत सामग्री लिन पृथ्वीमा आउँदा पक्डिएकाले इन्द्रजात्राको परम्परा सुरु भएको भन्ने गरिन्छ । प्राचीनकालदेखि नै विजयको प्रतीकका रुपमा इन्द्रजात्रा मनाउन थालिएको विश्वास गरिन्छ।

मल्लकालदेखि इन्द्रजात्रामा कुमारी जात्रा पनि गर्न थालिएको हो। मल्लराजा यात्रामा सँगसँगै रथमा बसेर हिँड्ने चलन थियो पृथ्वीनारायण शाहले काठमाडौँ विजय गरेपछि भने दाम राखेर ढोग्ने परम्परा सुरु भएको हो । नेपाल भने बाह्य शक्तिको नियन्त्रणमा नपरेकाले वैदिक कालदेखि नै यो परम्परा निरन्तररुपमा चलेको विश्वास गरिन्छ । आधुनिक इतिहास भने मल्लकालदेखि मात्र इन्द्रजात्रा सुरु भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ।

मल्लकालसम्म भाद्र शुक्ल एकादशीका दिन गरिने इन्द्रध्वजोत्थान शाहकालदेखि भने भाद्र शुक्ल द्वादशीका दिन गर्न थालिएको हो । पृथ्वीनारायण शाहले काठमाडौँ विजय गरेपछि पनि यहाँको संस्कृतिलाई आत्मसात् गर्दै यो परम्परालाई निरन्तरता दिइएको इतिहासका पुस्तकमा उल्लेख छ। नेपाल एकिकरणको परिप्रेक्षमा यस दिनको विशेष मह्त्व छ । यही दिन पृथ्वीनारायण शाहले राजा जयप्रकाश मल्ललाई हराई कान्तिपुर विजय गरेका थिए ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">