चिकित्सकमाथि लगातार आक्रमण हुन थालेपछि काठमाडौंका प्रमुख अस्पतालका आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन् । त्रिवि शिक्षण, वीरलगायत अस्पतालका चिकित्सकले आकस्मिकबाहेकका सेवा बन्द गरेका छन् । सोमबार पोखरास्थित मणिपाल अस्पतालमा बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तहरुले चिकित्सकमाथि कुटपिट तथा अस्पताल तोडफोड गरेका थिए । त्यसैको विरोधमा आज काठमाडौंको नेपाल मेडिकल कलेज, पोखराको गण्डकी मेडिकल कलेजलगायत अस्पतालमा चिकित्सकले सेवा ठप्प पारेका छन् । चिकित्सकको आन्दोलनले देशभर बिरामीलाई सास्ती भइरहेको छ ।
चिकित्सकहरुले शान्तिपूर्ण र्यालीसहित काठमाडौंको माइतीघरमा उभिएर आन्दोलन सुरु गरेका हुन् । आन्दोलनमा रहेका चिकित्सकहरूले ‘डाक्टर कुट्न पाइँदैन,एनएमए होसियार’जस्ता नारा लगाउँदै गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा समेत माग गरेका छन्। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ कार्यान्वयन हुनुपर्ने उनीहरूको माग छ । पछिल्लो समय पोखरा र चितवनमा चिकित्सकमाथि सुरक्षाकर्मीकै अगाडि कुटपिट गरिएको थियो । कार्यस्थलमा सुरक्षित वातावरण नभएकाले काम गर्ने मनस्थितिमा नभएको राष्ट्रिय आवासीय चिकित्सक संघले जनाएको छ ।
पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालमा सोमबार ठूलो हुलले अस्पतालका संरचनामा तोडफोड गर्नुका साथै चिकित्सकहरुमाथि आक्रमण पनि गरेको थियो। अस्पतालमा आइतबार बिहान उपचारका लागि पुगेकी लमजुङ सुन्दरबजारकी ५७ वर्षीया सुकमाया दुराको सोमबार दिउँसो मृत्यु भएपछि उनका सुरुमा आफन्तहरुले चिकित्सकहरुमाथि आक्रमण गरेको थिए ।
भेन्टिलेटरमा उनको मृत्यु भएपछि बिरामीका आफन्तले उपचारका प्रक्रियामा रहेका डा। अनिल शाहमाथि आक्रमण गरेका थिए।अस्पतालमा डाक्टरमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ३४ वर्षीय विनय गुरूङलाई हिरासतमा लिएको छ।
भदौ २७ गते हेटौँडास्थित सन्चो अस्पतालमा लापरबाही गरेको आरोपमा दुई जना चिकित्सकमाथि अस्पतालभित्रै कुटपिट भएको घटना सार्वजनिक भएको थियो । अस्पतालभित्रै डाक्टरद्वय विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । चिकित्सकमाथि अस्पतालभित्रै कुटपिट भएको घटना सार्वजनिक भए पछि नेपाल चिकित्सक सङ्घले देश भरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा थप्प पारेर आन्दोलन गरेको थियो । हेटौँडा उपमहानगरपालिका १ स्थित सञ्चो अस्पतालका चिकित्सकमाथि कुटपिट भएको छ ।
कुनै पनि उपचारका क्रममा चिकित्सकीय त्रुटि भएदेखि डाक्टरको हकमा मेडिकल काउन्सिल र नर्सको हकमा नर्सिङ काउन्सिलमा उजुरी हाल्न पाउने व्यवस्था रहेको छ। मेडिकल काउन्सिल ऐनले चिकित्सकलाई कानुनी कारबाहीको दायरामा ल्याउने व्यवस्था गरेको छ।
त्यसबाहेक कुनै पनि फौजदारी लापरबाही भएर बिरामीको मृत्यु भएको वा अङ्गभङ्ग भए त्यसमा फौजदारी संहिता आकर्षित हुन्छ।उक्त कानुन अनुसार बिरामीका आफन्तले स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको सचिवालयमा उजुरी दिए कानुनी प्रक्रिया अघि बढ्ने कानुनी व्यवस्था छ । त्यो प्रक्रियामा प्रहरी, मेडिकल काउन्सिल र महान्यायाधिवक्ताको कार्यालयका प्रतिनिधि पनि रहने व्यवस्था छ।
जनताको स्वास्थ्य उपचारका लागि खटिएका चिकित्सकमाथि लगातार कुटपिट भइरहेको छ । एक पछि एक गर्दै चिकित्सकमाथि आक्रमणका घटना बाहिरिदै गएका छन् । उपचारका क्रममा चिकित्सकीय त्रुटि भए पछि कानुनी व्यवस्था हुदा हुदैँ पनि किन चिकित्सकमाथि लगातार कुटपिट भइरहेको छ । चिकित्सक विरामीलाई नै नयाँ जीवन उपहार दिने पेशा हो, तर उनै भगवानरुपी चिकित्सकलाई नै मृत्यु नै उपहार दिने गरि आखिर कहिले सम्म भइरहन्छ आक्रमण । के हेरि बसेको छ सरकार ?
प्रतिक्रिया