US Khabar

शिक्षक आन्दोलनको विरोधमा उभियो रास्वपा, विद्यार्थीको पढ्न पाउने हक कुण्ठित नगर्न शिक्षकलाई चेतावनी

- USKHABAR | ३ महिना पहिले प्रकाशित

शिक्षक आन्दोलनको विरोधमा उभियो रास्वपा, विद्यार्थीको पढ्न पाउने हक कुण्ठित नगर्न शिक्षकलाई चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरुले गरेको आदोन्लनको विरोध जनाएको छ । रास्वपाले मागहरु सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदा हुँदै विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेको हो।

विद्यार्थीहरूको उज्जवल भविष्य सुनिश्चित गर्न पनि शिक्षकहरूको हकहित सुनिश्चित हुनुपर्ने रास्वपाले बताएको छ। ‘तर शिक्षकहरूले आफ्नो पेशागत हकहितका लागि एकजुट हुने नाममा राजनीतिक दलको भ्रातृ संगठनका रूपमा रहन नहुने र शिक्षकहरूको पेशागत विकासका मागहरूमा हामी एकै ठाउँमा उभिन तयार रहेको रास्वपाले भनेको छ। रास्वपाले विज्ञप्तिमा सम्पूर्ण सार्वजनिक विद्यालयहरूको गुणस्तर उकास्नु पर्ने र ती विद्यालयहरूमा पढाउने शिक्षकको जीवनस्तर तथा पढ्ने विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ ।

रास्वपाले शिक्षक जस्तो मर्यादित र अति सम्मानित पेसालाई सरकारबाट कहिल्यै उचित व्यवहार नभएको र शिक्षकको तलब सुविधा सबभन्दा धेरै हुनुपर्ने आफ्नो पार्टीले स्थापनाकालदेखि नै पटक पटक आवाज उठाउँदै आएको पनि जिकिर गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले यो संवेदनशील विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० का सम्बन्धमा विभिन्न सरोकारवाला निकायहरूसँग निरन्तर छलफल गरिरहेको बताएको छ। त्यस्तै सरोकारवाला र विज्ञहरूसँग परामर्श गरी रास्वपाले यस विधेयकका सम्बन्धमा आफ्नो धारणा तथा संशोधन प्रस्ताव राख्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

बुधवारबाट सुरु भएको काठमाडौँ केन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने बताइएको छ । संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरूको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरूवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन गर्न नसकेको भन्दै महासंघले आन्दोलन गरेको हो।

मन्त्रिपरिषदबाट दुई पटक पारित भएको विधेयक संघीय संसद सचिवालयमा गत बुधबार दर्ता भएको थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विधेयक संसदमा दर्ता गरेका हुन्।

शिक्षकले गरेको आन्दोलनको विरोध र सर्मथन दुबै भइरहेको छ । अहिले काठमाडौको माहोल नै आन्दोलनमय भएको छ । काठमाडौँको माइतीघर तथा वानेश्वर क्षेत्रमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् । । सामुदायिक विद्यालयहरुको छाता संगठन नेपाल शिक्षक महासङ्घको अगुवाइमा आन्दोलन भएको हो । विभिन्न जिल्लाबाट शिक्षक शिक्षिका आन्दोलनका लागि काठमाडौं आएका छन् । शिक्षकहरूको विरोध प्रदर्शनले काठमाडौंको ट्राफिक अस्तव्यस्त बनेको छ ।

उस्तै काठमाडौं महानगरका मेयर बालेनले पनि शिक्षक आन्दोलन प्रति बिरोध जनाएका थिए । शिक्षकले आन्दोलन सुरु गरेकै दिन मेयर बालेनले सामाजिक सञ्जालमार्फत शिक्षकहरूलाई कारबाही गर्ने चेतावनी दिएका थिए । त शिक्षकहरूलाई कारबाही गर्ने चेतावनी दिए पछि बिहीबार शिक्षकहरूले बालेनविरुद्ध नै नाराबाजी गरेका थिए । शिक्षकहरूले ‘बालेनहरू होसियार ’ भन्दै अधिकार क्षेत्रभन्दा बाहिर गएर सामाजिक सञ्जालमा ‘हिरो’ बन्ने प्रयास नगर्न चेतावनी दिएका थिए ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">