US Khabar

विद्यालय बन्द गरेर सडक आन्दोलनमा निस्किए शिक्षक, आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने बालेनको चेतवानी

- USKHABAR | ३ महिना पहिले प्रकाशित

विद्यालय बन्द गरेर सडक आन्दोलनमा निस्किए शिक्षक, आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने बालेनको चेतवानी

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर सडक आन्दोलन गरेको छ। बुधबार देशभरिका विद्यालय बन्द गरी समितिले काठमाडौं केन्द्रित आन्दोलन गरेको हो। विभिन्न जिल्लाबाट कक्षाकोठा छाडेर काठमाडौं उत्रिएका शिक्षक, विद्यालयका कर्मचारीले सडक आन्दोलन सुरू गरेका हुन् । महासंघको आव्हानमा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म मार्चपास गरिएको थियो। राहत, करार, बाल विकास, स्थायीलगायतका शिक्षक कर्मचारीले विधेयकप्रति विभिन्न १८ बुँदे असहमति राखेका छन् ।

शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरूको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरूवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन गर्न नसकेको भन्दै महासंघले आन्दोलन गरेको हो। मार्चपास लगभग ४ हजार बढी शिक्षकहरू सहभागी भएको बताइएको छ। देशभरबाट लगभग १५ हजार बढी शिक्षकहरू आउने अनुमान गरिएको थियो।

मन्त्रिपरिषदबाट दुई पटक पारित भएको विधेयक संघीय संसद सचिवालयमा गत बुधबार दर्ता भएको थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विधेयक संसदमा दर्ता गरेका हुन्। शिक्षकहरूले वर्षौंदेखि उठाइरहेका र पटक पटक सरकारले माग पूरा गर्ने सहमति गरेका विषयलाई पनि विधेयकमा बेवास्ता गरिएको भन्दै शिक्षकहरूको असन्तुष्टि रहेको छ । अहिलेको शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, बाल कक्षा शिक्षकका सवाल, अस्थायी अवधि गणना र निवृत्तिभरणजस्ता विषय सम्बोधन नगरेको शिक्षकहरूको भनाइ छ। प्रधानाध्यापक नियुक्ति, शिक्षक बढुवा, सरूवा र कार्यसम्पादन मूल्यांकनलगायत विषय पनि विधेयकले प्रष्ट रूपमा सम्बोधन गर्न नसकेको महासचिव सुवेदी बताउँछन्।

शिक्षकहरुको आन्दोलनका कारण राजधानीको यातायात अस्तव्यस्त बनेको छ। ट्राफिकलाई सवारीसाधन सुचारु गर्न हम्मेहम्मे परिरहेको छ । आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका हुन् । काठमाडौं महानगरपालिकाले भने शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने निर्णय गरेको छ । विद्यालय बन्द भए प्रधानाध्यापक र विद्यालयमा हाजिर नहुने शिक्षकलाई कारबाही गर्ने महानगरको निर्णय गरेको हो । शिक्षकले तोकिएको आचरण विपरीत काम गरे त्यसलाई निरुत्साहित हुने गरी कारबाही गरिने पनि महानगरले जनाएको छ । भोलि विद्यालय अनुगमन गरिने र विद्यालय बन्द गरिएको पाइएको खण्डमा कारबाही समेत गरिने महानगरले जनाएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">