तीन महिना भन्दा लामो समयदेखि निरन्तर ध्यानाकर्षण गराउँदा पनि सरकारले न्याय नदिएको भन्दै आरती साहका परिवारले आक्रोश पोखका छन् ।
साहको न्यायका माइतीघरमा तीन महिनादेखि धर्नामा बसेका उनका परिवारले राज्यले नागरिकलाई कानूनी शासनको प्रत्याभूति दिलाउनुपर्नेमा राज्य प्रशासनबाटै न्याय माग्ने क्रममा आफूहरुलाई पीडा दिएको दुखेसो गरे । सरकारले आफ्ना जायज मुद्दा वेवास्ता गरेको भन्दै आरतीको माइती पक्षले आम नागरिकलाई न्यायको लागि आवाज उठाउन अपिल गरेका छन् ।
राम्ररी नेपाली बोल्न नजान्ने मृतक आरतीकी बहिनीले आफूहरु न्याय माग्न जाँदा प्रहरी प्रशासनले दुःख दिएको र बयान फेर्न दबाब दिएको आरोप लगाइन् ।
प्रहरीले घटनापछि बयान लिन बोलाउँदा प्रहरी उपरीक्षक विश्वराज खड्का र प्रहरी नायब उपरीक्षक प्रकाश गौतमले आफूहरुलाई कुटेको उनको आरोप छ ।
मृतक आरती साहको आमा, भाई ,बहिनी र बुबा असार १ गतेबाट मृतक छोरीको न्यायको लागि भन्दै माइतीघरमा धर्नामा छन् । २०८० असार १ गतेबाट उनिहरुले दाइजोको निहुँमा कुटपिट गरी साहको हत्या गरिएको र पीडक पक्षलाई प्रशासनको समेत संरक्षण रहेको साह परिवारको आरोप छ । यति लामो समयदेखि न्यायको अपील गर्दा समेत प्रशासनले कुनै वास्ता नगरेको उनीहरुको गुनासो छ । लामो समयबाट अपराधीमाथि कारबाही र आफ्नो मृतक दिदीको न्यायको लागि माग गर्दै आएपनि कसैले नसुनेको भन्दै मृतकको भाई प्रेम साहले सहयोगको याचना गरे ।
‘हामीले यहाँबाट न्याय पाएनौ भने भोलिका दिनमा हजारौंले न्याय पाउँदैन । त्यसैले सबै नागरिक उठेर अब न्यायको लागि आवाज उठाऔँ । पार्टी पोलिसि नगरौं न्यायको लागि मात्रै लडौ भनेर सबैलाई भन्छु । र कम्तीमा लेखेको नियम फलो होस् । नलेखेको नियमबारेमा त भन्नै सक्दैनौ । जो लेखिएको छ त्यो कम्तीमा लागू होस्, फलो होस । कानून सबैलाई लाग्नुपर्छ,त्यसको लागि सबै जनाले आवाज उठाउनको लागि हामीलाई सहयोग गर्नुहोस्,’ प्रेम साहले भने ।
छोरी आरती साहको हत्या भएको दाबी गर्दै न्याय माग्न धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापचोककी निर्मलादेवी साह सहितका परिवार माइतीघरमा धर्ना बसेको छन् ।
छोरीले आत्महत्या गरेको नभई घरका सदस्यले हत्या गरेको उनीहरुको दाबी छ ।छोरीलाई दाइजो नल्याएको निहुँमा सासू रेणुदेवी साह, ससुरा मदनमोहन साह, श्रीमान् मोतीबाबु र देवर रवि साहले निर्घात कुटपिट गरी हत्या गरेको आमा निर्मलादेवीको जिकिर छ । गत जेठ ७ गते २२ वर्षीया आरतीको मृत्यु भएको थियो । आरतीका श्रीमान्, सासूससुरा र देवरलाई पक्राउ गरी मुद्दा अगाडि बढाउनुपर्ने तथा स्वास्थ्यकर्मी, सरकारी वकिलमाथि छानबिन नगर्दासम्म धर्ना जारी राख्ने माइती पक्षको भनाइ छ । उनिहरुले यस विषयमा गृहमन्त्रालय, मधेसी आयोग, मानवअधिकार आयोगलगायतका सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाई सकेका छन्।
प्रतिक्रिया