युएस खबर विश्लेषण
आसन्न निर्वाचनका लागी अमेरिकाको डेलिगेट विवाद सतहमा आईपुगेको छ । एनआरएनए अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडे र महासचिव रामहरी अधिकारी दुवैका लागी बरिष्ठ उपाध्यक्ष विकास उप्रेती एक्लै भारी देखिएका छन् । बरिष्ठ उपाध्यक्ष उप्रेतीको संयोजकत्वमा डेलिगेट छनौट कमिटी गठन गरेपनि उनलाई छलेर अध्यक्ष र महासचिवले हस्ताक्षरसहितको डेलिगेट नामावली केन्द्रमा पठाएपछि विवाद शुरू भएको छ । विवादमा एकातिर अध्यक्ष र महासचिव छन् भने अर्कोतिर बरिष्ठ उपाध्यक्ष देखिएका छन् । अध्यक्ष बन्जाडे र महासचिव अधिकारीको संयुक्त हस्ताक्षर सहित सार्वजनिक पत्रमा २ सय ५२ जनाको नाम समावेश गरिएको छ भने बरिष्ठ उपाध्यक्ष उप्रेतीले डेलिगेटको अर्को छुट्टै नामावली पठाएको बुझिएको छ ।
त्यसो त चुनावताका अध्यक्ष र बरिष्ठ उपाध्यक्षले एउटै खेमाबाट चुनाव लडेका थिए भने महासचिव अर्को खेमाबाट चुनाव लडेर विजयी भएका हुन । कार्यसमितिका अधिकांश पदाधिकारीहरू कार्यसमिति विधी पद्धतिमा संस्था चल्नुपर्नेमा जोड दिईरहेको बुझिएको छ । बरिष्ठ उपाध्यक्ष उप्रेती अध्यक्ष र महासचिवले आफुसँग सल्लाह नगरि मनपरि डेलिगेट नामावली तयार गरेको गुनासो गरिरहेका वेला महासचिव र अध्यक्ष भने अन्तिम समयमा नामावली तयार गर्न संयोजकले ढिलाई गरेकोले आफूहरूले डेलिगेट नामावली केन्द्रमा पठाएको दावी गर्दै आएका छन् । जे होस नेतृत्व पंत्तीमा त्यसमा पनि कार्यकालको शुरुमै उत्पन्न विवादले संस्था सिंगो कार्यकाल त्यति सहज भने देखिदैन । भनिन्छ नि विहानले दिनको भविश्य तय गर्छ भने झैं नयाँ कार्यसमितिको कार्यकालको यात्राको सूचक त्यति राम्रो देखिएको छैन । सुरूवातकै चरणमा सल्लाहकार चयनको विवाद लगत्तै डेलिगेट विवाद बेहोरिसकेको एनआरएन अमेरिकाको नेतृत्व शुरुमा आशा गरिएको जस्तो नरहेको सदस्यहरूले महसुस गर्न थालिसकेका छन् । त्यसो त वोल्ड क्षमतामा कमजोर मानिने नेतृत्वको परिवर्तन सम्भव छ भन्ने चुनावी नाराप्रति आलोचना शुरू भैसकेको छ । बरू उनको तुलनामा प्रस्तुति अराजक देखिएपनि एनआरएन संस्थालाई नेपालको दलीय राजनीतिबाट मुक्त गर्नुपर्छ भन्ने पुरानै अडानका कारण बरिष्ठ उपाध्यक्ष उप्रेती प्रति सदस्यहरूको आकर्षण बढ्दो छ । डेलिगेट कै विवादलाई लिएर केन्द्रमा पनि छानविन कमिटी गठन भैसकेको बताईन्छ। अध्यक्ष त्रय रविना थापा, डा बद्री केसी र कुल आचार्य, उपाध्यक्ष त्रय महेश श्रेष्ठ, डा हेमराज शर्मा र आरके शर्मा लगायत महासचिवद्वय डा.केशव पौडेल र गौरीराज जोशी संलग्न कमिटीले अमेरिका लगायत अन्य देशमा भएको डेलिगेट विवादको समाधान खोजिरहेको बुझिएको छ ।
यसअघि समन्वय परिषद र क्षेत्रिय कमिटीबीच डेलिगेट विवाद रहदै आएको थियो भने अहिले समन्वय परिषद भित्रै पदाधिकारीबीच कुरा नमिल्दा विवादले निरन्तरता पाएको छ । त्यसो त पर्दा पछाडी हिजो विवाद गर्नेहरू दुई खेमामा निर्वाचनमा रहेका र रहँदासम्म यस प्रकारको विवाद केही समयसम्म रहने डेलिगेट विवादको चुरो बुझेकाहरूको भनाई छ ।
प्रतिक्रिया