US Khabar

एसिया कप क्रिकेटःनेपाल इतिहास बनाउने लक्ष्यमा, भारत सजिलै शिर्ष चार पुग्ने आकलनमा

- USKHABAR | ३ हप्ता पहिले प्रकाशित

एसिया कप क्रिकेटःनेपाल इतिहास बनाउने लक्ष्यमा, भारत सजिलै शिर्ष चार पुग्ने आकलनमा

एसिया कपको पाँचौं तथा नेपाल आफ्नो दोस्रो खेलमा सोमबार भारतसँग खेल्दैछ। श्रीलंकाको केन्डीस्थित पल्लेकेले इन्टरनेसनल स्टेडियममा नेपाल भारत खेल खेल्ने कार्यतालिका रहेको छ। नेपाली समय अनुसार ३ः१५ बाट खेल सुरु हुने छ।

क्रिकेट इतिहास भारतको सिनियर टोलीसँग पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको नेपाल नयाँ इतिहास बनाउने लक्ष्यमा मैदानमा उत्रिँदै छ। दुबै टिमका लागि एसिया कपमा अघिल्लो चरण प्रवेश गर्न एक अर्कालाई पराजित गर्नु पर्ने अवस्था रहेको छ।

भारत पहिलो खेलमा पाकिस्तानसँग वर्षाका कारण अंक बाँड्न पुग्दा नेपाल भने २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

इतिहास रच्ने प्रयासमा नेपाल
एसिया कपको सर्वाधिक सफल टोली भारतले सात पटक एसिया कपको उपाधि जितेको छ। जसमा ६ एकदिवसीय खेल र एक टी–२० फर्म्याटमा भएका प्रतियोगितामा भारतले उपाधि जितेको हो। नेपाल भने पहिलो पटक एसिया कप खेल्न लागेको हो। सोमबार भारतलाई पराजित गरेको खण्डमा नेपालले इतिहास बनाउने छ भने भारत समूह चरणबाटै बाहिरिने छ।

टप स्कोरर भारतका शुभमन र नेपालका कुशल
२०२३ मा एकदिवसीय क्रिकेटमा भारतका लागि शुभमन गिल सर्वाधिक रन बनाउने खेलाडी हुन्। गिलले १२ खेलमा ७६० रन बनाएका छन्। त्यस्तै, कुलदीप यादव टप विकेट लिने खेलाडी हुन्। उनले ११ खेलमा २२ विकेट लिएका छन्।

त्यस्तै, नेपालका लागि कुशल भुर्तेल टप स्कोरर हुन्। उनले २० खेलमा ५५२ रन बनाएका छन्। त्यस्तै, नेपालबाट सर्वाधिक धेरै विकेट सन्दीप लामिछानेले लिएका छन्। उनले २० खेलमा ४३ विकेट लिएका छन्।

संभाबित खेलाडीहरु
भारत तर्फ रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, इशान किशन (विकेट किपर) हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद शमी, मोहम्मद सिराज र कुलदीप यादव

नेपाल तर्फ रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, अर्जुन साउद, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, करण केसी, कुशल मल्ल, सन्दीप लामिछाने, ललित राजवंशी र गुल्सन झा

पानी पर्ने सम्भावना

पल्लेकेले स्टेडियममा आज खेल हुने समयमा बादलले ढाक्ने सम्भावना रहेको छ भने वर्षाको सम्भावना समेत अधिक छ। विभिन्न वेदर फोरकास्टलाई आधार मान्दा ८९ प्रतिशत वर्षाको सम्भावना रहेको छ। तापक्रम २१ देखि २७ डिग्री सेल्सियससम्म रहने सम्भावना रहेको छ।

यदि वर्षाले खेल प्रभावित भएर रद्द भएमा भारत शीर्ष चारमा पुग्ने छ। यसअघि पाकिस्तानसँग पनि वर्षाका कारण १ अंक लिएको भारत नेपालबाट समेत १ अंक लिन सफल हुने छ। जसका कारण दुई अंकका साथ भारतले शीर्ष चारमा स्थान बनाउँदा नेपाल प्रतियोगिताबाट बाहिरिने छ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">