US Khabar

नेपाल अमेरिका कुटनीतिक सम्बन्धको ७५ बर्ष, कोलोराडोमा भब्य उत्सव आयोजना

- शंकर थापा | ३ हप्ता पहिले प्रकाशित

नेपाल अमेरिका कुटनीतिक सम्बन्धको ७५ बर्ष, कोलोराडोमा भब्य उत्सव आयोजना

नेपाल अमेरिका कुटनीतिक सम्बन्ध स्थापना भएको ७५ बर्ष पुगेको अवसरमा अमेरिकाको कोलोराडोमा रहेका नेपाली समुदायद्वारा उत्सव कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार देखि शुरु भएको उत्सब कार्यक्रममा नेपाल अमेरिका कुटनीतिक सम्बन्धका बिबिध पक्षको वारेमा छलफल भईरहेको छ । कार्यक्रममा कोलोराडो स्थित नेपाली समुदाय तथा बिभिन्न राज्यबाट सहभागि भएका नेपाली सामाजिक अभियन्ताहरुको सहभागिता रहेको छ ।

हेल्पिङ हेन्ड्स कोलोराडोद्वारा आयोजना गरिएको उक्त कार्यक्रम अन्तरगत शुक्रबार कोलोराडो राज्यको राजधानी डेन्भरमा साँस्कृतिक झाँकी तथा ¥याली कार्यक्रमको आयोजना गरिएको थियो । ¥याली पश्चात आयोजना गरिएको बिशेष समारोहमा बोल्ने नेपाली समुदाय तथा कोलोराडोका बिभिन्न उच्च पदस्थ ब्यक्तिहरुले नेपाल अमेरिका कुटनीतिक सम्बन्धको ७५ बर्ष ऐतिहासिक र उपलब्धीमुलक रहेकाले यसलाई आगामी दिनमा दिगो र थप उचाईमा पु¥याउनु पर्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै अमेरिकाका लागि नेपाली राजदूत प्रा श्रीधर खत्रीले नेपाल अमेरिका कुटनैतिक सम्बन्धको चर्चा गर्दै कुटनीतिक सम्बन्धका ७५ बर्ष निकै उपलब्धीमूलक रहेको बताएका छन् । राजदूत खत्रीले ७५ वर्षको यस अवधिमा हाम्रा दुवै देशमा भएका परिवर्तनका दशकहरूमा नेपाल र अमेरिका एकअर्काको साथमा उभिँदै आएको धारणा गरेका छन्।
राजदूत खत्रीले अमेरिका नेपालको प्रमुख बिकास साझेदार रहेको बताउदै नेपालमा शिक्षा, स्वास्थ्य, पर्यटन बिकास तथा सूचना प्रबिधिको क्षेत्रमा लगानीको अवसर रहेको बताएका छन्।

यसै गरि स्टेट अफ कोलोराडोका गर्भनर जेरेड पोलिसले अमेरिकी र नेपालीहरूबिचको सम्बन्ध पुस्तौँदेखि चल्दै आएको छ र चलिरहने धारणा व्यक्त गरेका छन् । गभर्नर पोलिसले अमेरिका र नेपाल बीचको सम्बन्ध दुई देशका बीचमा मात्र सिमित नभएर जनस्तरमा पनि घनिष्ट भईसकेको बताउदै यसलाई अगामी ७५ बर्ष सम्म थप सुदृढ बनाउदै लैजानु पर्ने कुरामा जोड दिए।

कार्यक्रममा कोलोराडोका स्थानीय जनप्रतिनिधिहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो । उत्सब कार्यक्रममा बोल्दै युएस काँग्रेस म्यान जो नेगुल्स, बुल्डर काउन्टी कमिस्नर एस्ली स्टल्जम्यान, कोलोराडो राज्यका लँगमण्ट सिटीका मेयर जोन पिक, बाउल्डर सिटीका मेयर आरोन ब्राकेट , बु्रम फिल्ड सिटीका मेयर गाईलेन कास्टिवटाले पनि अमेरिका नेपाल कुटनीतिक सम्बन्धलाई अझै दिगो बनाउदै लैजानु पर्ने कुरामा जोड दिएका थिए । डेन्भरका स्थानीय जनप्रतिनिधिहरुको कोलोराडो राज्य र नेपालका स्थानीय तहका बीचमा पनि सम्बन्ध स्थापित भई सहकार्यको वातावरण बन्दै गएकोले यसलाई बिस्तार गर्दै लैजानु पर्ने भनाई थियो ।

यसै गरि टेक्सास राज्यको सिटी अफ युलेशका काउन्सिल म्यान टीका पौडेलले अमेरिकामा रहेका नेपालीहरु अमेरिकी समुदायका अभिन्न अङ्ग भईसकेकाले अमेरिकामा रहेका नेपालीहरु क्रमस ः मूलधारको राजनीतिमा आउनु पर्ने कुरामा जोड दिनु भयो । कोलोराडोका स्थानीय राजनैतिक व्यक्तिहरुको नेपाली समुदायलाई हेर्ने दृष्टिकोण राम्रो बन्दै गएकाले आगामी निर्बाचनमा नेपालीहरु मतदाता मात्र होईन उम्मेदवारको रुपमा अगाडी आउन वातावरण बनाउन आग्रह गर्नु भयो ।

नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले नेपाल अमेरिका कुटनीतिक सम्बन्धका उपलब्धीहरुको बारेमा चर्चा गर्दै कुटनीतिक सम्बन्धका ७५ बर्ष दुबै देशका लागि फलदायी बनेकाले यसलाई थप उचाईमा पु¥याउनु पर्ने कुरामा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै नेपाली समाज टेक्सासका निवर्तमान अध्यक्ष, नेपाल अमेरिका अध्ययन केन्द्रका अध्यक्ष दिनेश शर्माले जनता–जनताबिचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यमान्यता नै यस बहु–पुस्ताको नेपाल अमेरिका सम्बन्धको जग भएकाले यसलाई सुदृढ बनाउदै लैजानु पर्ने बताएका छन् ।

नेपाल अमेरिका पत्रकार सँघका अध्यक्ष सुरज भण्डारीले नेपाल अमेरिका कुटनीतिक सम्बन्ध दिगो बनाउनका मिडियाको पनि उल्लेख्य योगदान रहेको बताउदै आगामी दिनमा दुई देश बीचको सम्बन्धलाई प्रभावकारी बनाउदै लैजानु पर्ने कुरामा जोड दिएका छन् ।

कार्यक्रममा हेल्पिङ हेन्ड्स कोलोराडोका अध्यक्ष नारायण श्रेष्ठले कार्यक्रमको उद्देश्य माथी प्रकाश पारेका थिए भने धन्यबाद ज्ञापन सुनन्दा डँगोल गरेकी थिइन् । कार्यक्रमका बिबिध साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । उत्सव कार्यक्रमको दोश्रो दिन शनिबार नेपाल अमेरिका कुटनीतिक सम्बन्धका ७५ बर्षका बिबिध पक्षका बिषयमा छलफल गरिने कार्यक्रम रहेको हेल्पिङ हेन्ड्स कोलोराडोले जनाएको छ ।

तस्बिरः रिपोर्टस क्लब अमेरिका

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">