नेपाल चलचित्र प्राविधिक सङ्घ(नेप्टा)को एघारौँ संस्करण सेप्टेम्बर ३ मा हुने भएको छ । अमेरिकामा आयोजना हुन लागेको नेप्टा फिल्म अवार्डको एघारौँ संस्करण आगामी सेप्टेम्बर ३ (भदौ ) १७ गते हुने सङ्घले जनाएको छ । बुधवार आयोजक टिमले वक्तव्य जारी गर्दै विविध कारणले गर्दा नयाँ मिति घोषणा गरेको उल्लेख गरेको छ । कार्यक्रमलाई अझ भव्य र सभ्य बनाउनका लागि नयाँ मितिमा अवार्ड कार्यक्रम गर्न लागिएको नेफ्टाका अध्यक्ष पुस्कर लामाले बताए ।
झन्डै ८ महिना अघि अर्थात् डिसेम्बर ७, २०२२ मा एक अनलाईन प्रेस मिट मार्फत अवार्डको ११ औँ संस्करण अमेरिकाको टेक्सास राज्यको ड्यालस शहरमा हुने जानकारी दिइएको थियाे । सोही दिनबाट आफूहरू कार्यक्रमको औपचारिक रूपमा तयारीमा जुटेको अध्यक्ष लामाकाे भनाई छ । यसअघि काठमाण्डौको होटेल सोल्टीमा फ्रेबुअरि ९, २०२३ मा अवार्ड औपचारिक घोषणा कार्यक्रम राखिएको थियो । जसमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सयौँ चलचित्रकर्मी तथा सञ्चालकहरूको सहभागिता रहेको थियो । त्यस पश्चात् वरिष्ठ कलाकार निर शाहको संयोजकत्वमा अवार्ड नोमिनेशन तथा छनौट समिति गठन गरी उत्कृष्ट मनोनयन तयार पारिएको थियो ।
त्यस्तै, उत्कृष्ट पाँच मनोनयनको सार्वजनिक कार्यक्रम मे १४ तारिख २०२३ मा होटेल सोल्टीमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । जसमा मनोनयनमा पर्न सफल २५ विधाका चलचित्रकर्मीलाई उपराष्ट्रपति यादवले प्रमाणपत्र समेत वितरण गरेका थिए । यस संस्करणमा ‘छक्कापञ्जा ४’, ‘कबड्डी ४’, ‘ऐना झ्यालको पुतली’ र ‘फूलबारी’को वर्चस्व देखिएको थियो । गत वर्ष विक्रम संवत २०७९ मा प्रदर्शन भएका चलचित्रबाट अवार्डमा सहभागी भएकाहरूमध्ये उत्कृष्ट पाँच मनोनयन गरिएको हो ।
उत्कृष्ट मनोनयनमा परेका कलाकार तथा प्राविधिकहरूको भोटिङ हाल अनलाईमार्फत भइरहेको आयोजक टिमले बताएको छ । कार्यक्रमको अन्तिम समयमा आएर कार्यक्रमको मिति सार्नु पर्दा झन्डै २५ हजार अमेरिकी डलर नोक्सानी हुन पुगेको आयोजकको दाबी छ । हालसम्म अनलाईनमार्फत ७३१ जनाले टिकट लिइसकेको समेत बताइएको छ ।
कार्यक्रम तोकिएकै मितिमा गर्ने उद्देश्यले अन्तिम तयारीमा रहेका बेला कार्यक्रम सफलताका साथ सम्पन्न हुने देखिएपछि एक समूह कार्यक्रमको विरुद्धमा लागेको विज्ञप्तिमा जनाइएको छ । कार्यक्रममा सहभागी हुने कलाकारलाई समेत टेलिफोन गरी कार्यक्रममा नजान दबाब दिएको र केही सामाजिक सञ्जालहरूमा स्क्रीनसर्टहरु पठाई दबाब दिने गरेको पाइएकाले केही कलाकारले सम्बन्धित विवाद मिलाउन आग्रह गर्दै कार्यक्रम सार्न सुझाव दिइएको पनि विज्ञप्तिमा भनिएको छ ।
यस्तै विविध कारणले गर्दा कार्यक्रमको मिति सेप्टेम्बर ३, २०२३ का लागि सारिएको आयोजकले बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी उत्कृष्ट र सफल कार्यक्रम बनाउनको लागि अडिएका मात्र हौँ, रोकिएका होइनौँ । हामी निकै उत्साहित थियौँ र छौँ । हामी टिम थप मिहेनतका साथ अघि बढेको छ । हामी विश्वस्त पार्न चाहन्छौँ, जसरी हामीले प्रचार प्रसार गरेका छौँ, सोही अनुसारको कार्यक्रम गर्नेछौँ ।’
सामाजिक सञ्जालमार्फत कार्यक्रम तथा आयोजकको मानहानी हुने गरी पोस्ट हाल्ने केहिलाई अमेरिकाको नियम आर्कषीत हुने गरी कानुनी उपचारको प्रक्रिया अगाडि बढाइएको पनि आयोजकको दाबी छ । त्यस्तै नेपाल प्रहरी प्रधान कार्यालय नक्साललाई एक पत्र का साथ ११ जना मात्र(नाम सहित) आधिकारिक अतिथिको भिसा आवेदन दिएको र अन्य कसैको आयोजकको तर्फबाट आधिकारिक व्यक्ति नभएको जानकारी पठाएको विज्ञप्तिमा भनिएको छ ।
नेप्टा अवार्डका अघिल्ला संस्करणहरू नेपाल बाहिर सन् २०१३ मा मलेसिया,सन् २०१४ मा हंगकंग, सन् २०१५ मा कतार र सन् २०१६ मा दुबईमा अवार्ड कार्यक्रम सम्पन्न भैसकेको छ ।
नेपाल चलचित्र प्राविधिक सङ्घ (नेप्टा) विगत २४ वर्ष पहिले दर्ता भई नेपालको प्रचलित कानुन अनुसार कार्य गर्दै नेपाली सिने क्षेत्रमा अहोरात्र खटिरहेको छ । यसले कलाकार र कलाकारितामार्फत नेपाली चलचित्र क्षेत्रलाई विश्वसामु परिचित गराउन क्रियाशील भूमिका खेल्दै आएको छ । यसले कलाकार र प्राविधिकहरूको मनोबल उच्च र व्यावसायिक उत्प्रेरणा दिन नेपाल लगायत विभिन्न देशहरूमा नेप्टा फिल्म अवार्ड आयोजना गर्दै आएको छ ।
विज्ञप्तिमा भनिएको छः
प्रतिक्रिया