US Khabar

नेकपा विवाद समाधानका लागि गठित कार्यदल बैठक: मिडियासँग नबोल्ने आचारसंहिता बन्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेकपा विवाद समाधानका लागि गठित कार्यदल बैठक: मिडियासँग नबोल्ने आचारसंहिता बन्यो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि शुक्रबार गठित कार्यदलले काम सुरु गरेको छ। कार्यदलको पहिलो बैठक शनिबार दिउँसो साढे १२ बजेदेखि साढे ४ बजेसम्म महासचिव विष्णु पौडेलको निवास भैँसेपाटीमा बसेको छ। पहिलो बैठकमा कार्यदलको काम नसकिँदासम्म के छलफल भयो भन्ने विषयमा बाहिर नबताउने गरी आचारसंहिता बनेको छ।

शुक्रबार पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको हो। बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलपश्चात कार्यदल गठन भएको थियो। कार्यदलका सदस्यमा भीमबहादुर रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे छन्।

कार्यदलले दुई अध्यक्षको कार्यविभाजन, अधिकार बाँडफाँडदेखि एकता महाधिवेशनको कार्यतालिकाबारे सिफारिस गर्नेछ। कार्यदलले पार्टीको वैचारिक राजनीतिक बहस, आलोचना, आत्मआलोचना, मन्त्रिपरिषद् हेरफेर, विवादित नियुक्ति बदर, राजनीतिक नियुक्तिमा संस्थागत निर्णय, मुख्यमन्त्री हेरफेर लगायत समग्र विषयमा केन्द्रित रहेर छलफल गर्नेछ।

बिहीबार गठन भएको कार्यदल नेतृत्व विवाद समाधान उन्मुख भइरहेका बेला शीर्ष तीन नेताले सचिवालय बैठक बोलाउन माग गरेका छन्।

शनिबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पुगेर वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकको माग गरेका हुन्।

कार्यदल गठनलाई शंकाको दृष्टिले हेर्दै नेताहरुले कार्यदलको कार्यदेशका लागि सचिवालय बैठक माग गरेको स्रोतको दाबी छ।

प्रधानमन्त्रीले ओलीले एपीवान एचडी टेलिभिजनमा बुधबार प्रशारित ‘द बाभ्रो डेल्टा सो’ कार्यक्रममा अबको ५ दिनभित्रै नेकपाको संकट समाधान हुने बताएका थिए। ओलीले अबको ५ दिनभित्रै पार्टीभित्र नयाँ सिनारियो देखिने उल्लेख गरेको भोलीपल्टबाट छलफल अगाडि बढेको थियो। उनले सार्वजनिक गरेको त्यही प्रतिज्ञाअनुसार संकट समाधानका लागि शुक्रबार कार्यदल गठन भएको अन्नपूर्ण पोष्टमा समाचार छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">