माधव घिमिरे ‘अटल’
कान्छो छोरो पनि देश बदल्छु भन्थ्यो
देश बदल्ने कलिला सपनाहरू थुन्सेमा बोकी
छिर्यो जङ्गल जनयुद्धका लागि
ऊ पनि ढल्यो, त्यहीँ गल्यो
ककसले कता फाले
ऊ जनयोद्धाबाट सहिदमा बदलियो ।
प्रतिक्रान्तिको लप्काले क्वाप्लाक्कै निलेको जनयुद्धबारे आफ्नो असन्तुष्टि जाहेर गरेका छन् बहुविधामा कलम चलाइरहेका शालीन साहित्यकार राजबाबु श्रेष्ठ ‘सागर’ले आफ्नो कविता कृति ‘हराएका छोराहरू’मार्फत् । ‘बन्द फ्रेमभित्रको चिठ्ठी’का उपन्यासकार तथा अभिनेता सागरको ‘हराएका छोराहरू’ कविता सङ्ग्रह तथा ‘देशको चिना’ मुक्तक सङ्ग्रह गत शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको कार्यकक्षमा लोकार्पण गरियो ।
चौध वर्षकै उमेरमा ‘प्रेम फैसला’ नाटकको पाँच भागसम्म लेखन, अभिनय र निर्देशन गरेका सागरका कविता तथा मुक्तकबारे सङ्क्षिप्त टिप्पणी गर्दै उप्रेतीले आख्यानबाट कवितामा फड्को मारेका सागरका कृतिहरू सरल, सङ्क्षिप्त र ओजपूर्ण भएको दावी गरे । पुष्प पराग साहित्य प्रतिष्ठानका अध्यक्ष यज्ञेश्वर निरौलाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमका सहभागीहरुलाई कवि सागरकै कविता वाचन गरी सचिव डा• प्रदीपकुमार मैनालीले स्वागत गरेका थिए ।
उपन्यासकार तथा कवि टीएन भट्ट ‘विश्वामित्र’ले सहजीकरण गरेको सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा•जगतप्रसाद उपाध्यायले सागरका सिर्जना सटीक तथा समसामयिक भएको जिकिर गरे । विमोचन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा•डा• हेमनाथ पौडेल, प्राज्ञ शशी लुमुम्बु, स्रष्टा राधा दुलाल कार्की, विश्वास घिमिरे, रविन्द्र तिम्सिना लगायत झन्डै एक दर्जन व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
वर्तमान समाजका बेथिति र विद्रुपीकरणका विरूद्ध तीखो लेखनीमार्फत् धावा बोलेका सागरका कृतिहरूको लोकार्पण कार्यक्रममा उनले रेगिस्तानमा रगत – पसिना बगाउँदाको हृदयविदारक अनुभूति पनि सुनाएका थिए । उनका ‘मुनारमा’ र ‘घिमिरेबाको कथा’ उपन्यास प्रकाशोन्मुख छन् ।
प्रतिक्रिया