ओहो! हेर्दाहेर्दै आफ्नो नामको पछि नयाँ थर जोडेको, कर्मघरको लागि जन्मघर छोडेको अनि जीवनले अर्कै मोड मोडेको नि करिब एक दशक हुन आटेछ। यो धर्तीमा नारी भइ पाइला टेकेपछि हाम्रो संस्कृति अनि परम्परा अनुसार एक न एक दिन ढिलो चाडो जन्मघर छोडेर पराइघरलाई आफ्नो ठान्नुपर्ने रहेछ। सायद सर्पले काचुली फेरे झैँ बिस्तारै आफ्नो स्वभाव, परिवेश, नाता, घर, अनि थर सबै नचाहेर नै फेरिदोरहेछ। हो एउटी छोरी बुहारी बनिसकेपछि नयाँ नयाँ नाता मात्र थपिने होइन नातासँगै त्यो भन्दा बेसी त हम्मे हम्मे पर्ने गरी जिम्मेवारको चाङ थपिदोरहेछ। छोरीबाट कसैको बुहारी, नन्दबाट कसैको भाउजू , भान्जीबाट कसैको माइजू बन्दा अझ भनौं जीवनमा सोच्दै नसोचेको मान्छेलाई अपनत्व ठानी सर्वस्व सुम्पिदा आफू सपनामा छु या विपनामा अनि चेतमा छु या अर्धचेतमा छुट्याउन नै मुस्किल पर्दोरहेछ। कहिलेकाही त अरुको सम्बोधनले नि झसङ्ग झस्किने मन जस्तो परिस्थितिलाई नि सहज बनाएर अघि बढ्नुपर्ने नारीको परम धर्म रहेछ।
हो अवश्य पनि वैवाहिक जीवनको पूर्वार्धमा नयाँ घर अनि परिवारमा असहज परिस्थितिको सामना सबैले गर्नुपर्छ। यदाकदा भनेको सुनिन्छ सुरु सुरुमा घरको चालचलन अनि संस्कारसँग परिचित नहुदासम्म लाग्दोरहेछ म कुनै आफ्नो अस्तित्व बेगरको संसारमा अल्मलिदैछु जहाँ न त आफूलाई जन्मदिने बाआमा न त साँझ बिहान गालीसँगै माया गर्ने दाइभाइ अनि दिदीबहिनीको उपस्थिति नै हुन्छ । सबै कुरा भिन्न लाग्ने अनि कहिलेकाहीँ त यी कुराले मनलाई नै विक्षिप्त पार्ने। हुँदा हुँदा आफ्नो जन्मघरलाई पराइ बनाएर पराइघरलाई आफ्नो ठान्नुपर्ने। अनि नचाहेर पनि आफ्नो इच्छालाई बली चढाउन बाध्य बन्नुपर्ने। यस्ता अनेकन बाधा अड्चनको बाबजुद पनि चाहेर नचाहेर ओठमा मन्द मुस्कान लिएर सबैको सामु हसिलो मुहारमा प्रस्तुत हुनु नै दैनिकी बन्दोरहेछ। सायद विवाह भइसकेपछि सुरुवाती दिनहरूमा दिमागमा अनेकन सोचाइहरू आउनु स्वभाविक प्रक्रिया नै हो।
आज धेरै समयको अन्तरालमा सम्झिदैछु पुनः त्यही दिन बुहारी बनेर नयाँ घरमा भित्रीएको भोलिपल्ट यानी कि अर्को दिन बिहानै मेरी आमा (सासु) ले आफ्नै छोरी झैँ मानेर सम्झाएको दिन जुन कुराले मलाई सासु होइन आमाको अपनत्व दिलाएको थियो। दाइजो बेगर घरमा भित्रीएकी एउटी नव दुलहीलाई सम्झाएर भन्दै हुनुहुन्थ्यो “कान्छी हामीलाई केही चाहिदैन बोली वचन मीठो अनि आफ्नै बाआमा ठानी व्यबहार गरे पुग्छ।” आमाको कुरा सुनेर लाग्यो म जस्ती भाग्यमानी बुहारी कोही छैन यो संसारमा। मनमनै बाआमा यानी कि सासुससुराको मप्रतिको आश भरोसालाई डगमगाउन दिने छैन भनेर प्रतिबद्ध भएँ। हो आजसम्म म उहाँहरूलाई सासुससुराको नजरले हेर्ने र व्यबहार त्यही अनुरुप व्यबहार गर्ने कहिल्यै गरेको छैन अनि जीवनमा एक मुठी सास रहदासम्म पनि कदापी गर्ने छैन। उहाँहरूले पनि बुहारी होइन छोरी मान्नुहुन्छ। कहिलेकाहीँ गल्ती गर्दा नि जस्तो छोराछोरीको जस्तो गल्तिमा बाआमाले माफी दिइन्छ त्यसरी नै माफ गर्नुहुन्छ। बिहेपछि कहिल्यै मलाई बन्देज महशुस गर्नदिनुभएन जति मैले मेरो बिहेपूर्व अनि बिहेपछी अरु थुप्रै बुहारीको मुखबाट बुहारी भएर जीउनुको फरक पीडा सुनेको थिएँ। आफू हजुरहरूको बुहारी बनेर भित्रीएपछि मात्र थाहा भयो सुनाइ र भोगाइ बिल्कुल फरक पाटो रहेछ। जस्तो मैले सुनेको थिएँ सासुससुराको कुरा (नकारात्मक कुरा) त्यो आफ्नो स्वयं जीवनमा अनुभूति गर्न कहिल्यै पाइन। उल्टै जीवनको प्रत्येक पाइला पाइलामा भरपुर हौसला अनि साथ सहयोग दिएर मेरो कठिन यात्रालाई सहज बनाइदिनुभएको छ। सायद यसरी नै सबैका बाआमा ( सासुससुरा) को साथ र सहयोग मिल्यो भने बिहेपछि पनि कुनै पनि नारी रोकावट बिना पनि आफ्नो लक्ष्यमा पुग्न सफल बन्थे कि? त्यो दिन आमाले पहिलो पटक मप्रति देखाएको आशावादी क्षण अनि मैले गरेको प्रतिबद्धता जीवनमा कदापि भुल्नेछैन। हजुरहरूको बुहारी होइन छोरी बनेर हरेक दु:ख सुखमा आफ्नो जिम्मेवारी बहन गर्नेछु। हजुरहरूले पनि आफ्नो मन मुटुमा बुहारी होइन छोरीको स्थान दिनुभएको छ।
बुवा आमा, यसरी नै सदासर्वदा हजुरहरूको आशिर्वाद पाइरहूँ। यो जुनीमा मात्र होइन सयौं जुनीसम्म पनि यो मन अनि तन हजुरहरूकै सेवामा समर्पित गर्न पाऊँ। हजुरहरू जस्तै हरेक सासुससुराले बुहारी होइन छोरीको रूपमा माया दिएमा अनि हरेक बुहारीले सासुससुरा होइन बाआमाको रूपमा आदर सम्मान गरेमा पक्कै समाजमा नयाँ परिवर्तनकारी सोचको विकास हुनेछ अनि दैनिक रूपमा घट्ने सामाजिक घटनामा कमि आउनेछ। कुनै पनि बुहारीले नयाँ घरमा अर्थात कर्म घरमा असहज परिस्थितिको सामना गर्नुपर्ने छैन। यसका साथ कुनै पनि बुहारी घरेलुु हिंसाको सिकार भएर अकालमा ज्यान गुमाउनुपर्नेछैन अनि बुढेसकालमा कसैका बाआमा असहाय बनेर बृद्ध आश्रम पुग्नुपर्ने छैन। मेरा बाआमा (सासुससुरा) लगायत सम्पूर्ण बाआमाप्रति हार्दिक नमन! जसले हरेक छोरीलाई बुहारीको रूपमा नयाँ अनुभव बटुल्ने अवसर दिनुभयो।
प्रतिक्रिया