एउटा गीत राम्रो हुनका लागि शब्द, संगीत, गायन, बाध्यवादन, संगीत संयोजन लगायत धेरै जनाको योगदान रहने गर्छ । अझ प्रमुख केन्द्रमा रहन्छ शब्द संगीत र गायन । गीत बजारमा आई सकेपछि गीतकार र संगीतकारको भन्दा गायक गायिकाको चर्चा हुने गर्छ । दर्शक स्रोताले पनि प्राय याद गर्ने भनेको गायक गायिकालाई नै हो । अझ बर्तमान समयमा त स्टेज कार्यक्रम, टेलिभिजनमा प्रसारित म्युजिक भिडियो, टिकटक लगायतले गायक गायिका नै चर्चामा रहने गर्दछन् । संगीत क्षेत्र संवद्ध ब्यक्ती बाहेक धेरैलाई गीतकार र संगीतकारको नाम नै थाहा हुँदैन अधिकांस समय । किनकी टेलिभिजन र रेडियोका प्रस्तोताले समेत गायक गायिकाको यो गीत भनेर बजाउने संस्कारले संधै नेपथ्यमा रहन्छन् गीतकार, संगीतकार लोक बिधाका संकलनहरु पनि । यहि भिडमा २ दशकदेखी निरन्तर सक्रिय सर्जक हुन् करण न्यौपाने ।
बि सं २०३९ साल माघ १८ गते बुवा स्व.छविलाल न्यौपाने र आमा सावित्रा न्यौपानेको सन्तानका रुपमा दाङ जिल्लामा जन्मिएका गीतकार तथा संगीतकार करण न्यौपाने नेपाली संगीत क्षेत्रमा सफल नाम हो । झिम्काईदेउ परेली, उहि मुलाका सिन्की, मेरी फुलकुमारी, सिनेमाको हिरो लगायतका सयौंको संख्यामा गीतहरु लेखेका र संगीत भरेका करण न्यौपाने २ दशकदेखी निरन्तर संगीतको लयमा बगिरहेछन् ।
अहिलेकी चर्चित र विवादित गायिका तथा मोडल ज्योति मगर करण न्यौपानेकै उहि मुलाको सिन्की उहि मुलाको चाना गीतबाट कालाकारिता क्षेत्रमा प्रवेश गरेकी हुन् । उनको नाम नसुन्ने प्राय कमै होलान् तर उनलाई यस क्षेत्रमा भित्राएका गीतकार तथा संगीतकार करण न्यौपानेलाई स्रोता दर्शकले उति याद गरेको पाईंदैन । जव कि करण र ज्योति आजका दिन सम्म पनि सहकार्यमा छन् । भर्खरै सार्वजनिक तिज गीत भेडा भर्सेज कोहीली पनि उनिहरुको सहकार्यमा बजारमा आएको गीत हो । उसो त करणको शब्द र लय सृजनामा लरक्कै जोवन, रेलिमाई, संगी, जीरो फिगर, नैना र रेसम लगायतका दर्जनौं तिज गीतहरु सार्वजनिक छन् ।
कक्षा ८ मा पढ्दाताका बाटै गीत कविता लेख्न थालेका करनले बि.सं. २०५६ सालमा मधुबाबु थापाको संगीतमा रहेको निस्ठुरीको माया लाउँछ नि बोलको गीत रेडियो नेपालमा रेकर्ड गराएर औपचारिक संगीत यात्रा सुरु गरेका गरेका हुन् ।
गीत लेखेर र संगीत गरेर नै जीवन धान्न गाह्रो हुने आज भन्दा २० बर्ष पहिलेको नेपाली साँगीतिक क्षेत्रमा होमिएका करणलाई यस क्षेत्रका लागि पारिवारिक सहयोग उति मिलेन । तर उनि भित्रको कवि मनले रोजेको यस क्षेत्र नै उनका लागि सहि मार्ग थियो र उनि हिँडिरहे संगीतका अनेक घुक्ती र मोड छिचोल्दै । संगीत मोहले स्वनिर्णयमा यो क्षेत्र रोजेका करणलाई सुरुवाती दिनमा निकै संघर्ष गर्न पर्यो । जसरी गाउँबाट राजधानी आउने अन्य कलाकारका कथाहरु संघर्षमय हुन्छ । अल्लारे उमेर, भर्खरै राजधानी आएको समय उनी नौलो थिए यो भिडमा । गीत रेकडिङ सम्म सक्न मुस्किल हुने अवस्थामा आस गरेका अग्रजहरुले समेत सहयोग नगरेका दिनहरु सम्झदैं उनि भन्छन् कम्पनीले नयाँ मान्छे भनेर गीत निकाल्न मान्थेन, अग्रज संगीतकर्मीलाई भेट्न जाँदा पनि प्रधानमन्त्रीलाई भेटेको जस्तै गाह्रो हुन्थ्यो । नयाँ र पुराना बिच अत्यन्त टाढाको दुरी थियो ।
जति नै असजिला भोगाईहरु भएपनि उनलाई यहि क्षेत्रमा केही गर्नु थियो । त्यसैले उनले आफ्नै म्युजिक कम्पनी खोल्ने बिचार गरेर र घिन्ताङ म्युजिक प्राली सुरु गरे । उनको आफ्नो कम्पनीबाट थाहा पाएँ बोलको गीत सार्वजनिक भयो । यो एल्वमको ए साईडमा थाहा पाएँ बोलको गीत थियो भने बि साईडमा झिम्काईदेउ परेली हाय मेरी तिते करेली बोलको गीत थियो । संजोक यस्तो भै दियो कि उनले बि साईडमा राखेको झिम्काईदेउ गीत सोचेभन्दा अत्याधिक सफल भै दियो र करण न्यौपाने राम्रा गीतकार र सर्जकका रुपमा स्थापित भए । आफ्नो क्षमतामा विश्वास गरेर संघर्ष गरिरहेका करनलाई झिम्काईदेउको सफलताले ब्यस्तता पनि थप्दै गयो । उनिसंग धेरै गायक गायिकाले काम गरे, आफुले यो क्षेत्रमा गरेको संघर्ष सम्झेर नयाँ कलाकारलाई पनि उनले सहयोग गरे राम्रा सृजना दिएर । जसबाट धेरै कलाकार स्थापित र चर्चित भए ।
२ दशक लामो संगीत यात्रामा यस क्षेत्रले सम्मानपूर्वक दिलाएका राष्ट्रिय र अन्तराष्ट्रिय अवार्डहरु हेर्दा उनलाई लाग्छ यि अवार्डको लाज राख्न सकुँ ता कि संगीत क्षेत्रमा अझै धेरै मेहनतका साथ राम्रा गीत संगीत दिन सकुँ । ६०० भन्दा बढि गीतहरुमा शब्द र संगीत भरेका करण न्यौपानेलाई फरक धारका गीतहरुमा काम गर्ने ईच्छा हिजो पनि थियो र आज पनि छ । त्यसैले उनी यतिबेला ३ छुट्टा छुट्टै धारका गीतहरुको काममा ब्यस्त छन् । जसको रेकडिङ सक्किसकेको छ । यि गीतहरुलाई चाडै नै बजारमा ल्याउने तयारीमा छन् उनि ।
उनि संग चर्चाको मोह र ठुलो महत्वकांक्ष छैन केवल यो क्षेत्रमा राम्रो सृजना दिनु छ । सरल र आत्मिय स्वभावका करण आफुलाई भन्दा अरुलाई पहिले सोच्छन् यो भावुकताले कयौं पटक उनि स्वयं अप्ठेरोमा परेका छन् । आफ्नो कामको लागि बोकेको पैसा कसैले दुख देखायो भने अवस्था र परिस्थती सुनेकै भरमा उनि आफ्नो काम रोकेर अरुलाई पैसा दिन्छन् । उनि हाँस्दै भन्छन् मेरो यो बानिले अरुको त समस्या टर्छ मेरो भने घरमा श्रीमतीसंग झगडा नै पनि पर्छ कहिले काहिँ ।
उनका गीतहरु गाएर कति कलाकार स्थापित भए कति हिट भए तर उनि नेपथ्यमै रहेर सृजना गरिररहे संधै मनछुने भावका शब्द र लयहरु । उनमा त्यो उच्च महत्वकांक्षा छैन कि चर्चा र भाईरल शब्दको मोह जागोस् । केवल आफु मर्दा धेरै मलामी कमाउन सकुँ भन्ने लाग्छ उनलाई ।
लामो समय देखी निरन्तर संगीत यात्रामा रहेका गीतकार तथा संगीतकार करण न्यौपानेका उहि मुलाको सिन्की उहि मुलाको चान, झिम्काईदेउ परेली हाई मेरी तिते करेली, नाई बाबा नाई, किन तिमीले, मन्दिरमा बस्ने देउता लगायतका दर्जनौं गीतहरु सार्वजनिक छन् । बिषेशत लोक बिधामा चर्चामा रहेका भएपनि उनिद्वारा लिखित र संगीतबद्ध आधुनिक गीतहरु पनि बाक्लो संख्यामा रहेको छ ।
यो बर्षको तिजमा उनका लरक्कै जोवन, मादले मादल घन्काईदे, भेडा भर्सेज कोईली, जोवन तन्देरी लगायतका गीतहरु सार्वजनिक छन् भने केही समय अघि सार्वजनिक ‘बनपालेको लौरी’ गीतपनि दर्शक स्रोताले मन पराईरहेका छन् ।
प्रतिक्रिया