रुसले आफुमाथी लागेको कोरोना भाईरसविरुद्ध खोप निर्माणको सर्भर ह्याक गरेको आरोपको खण्डन गरेको छ । कोरोना विरुद्ध खोप बनाईरहेका अमेरिकी, बेलायती र क्यानेडियन संस्थाहरुको सर्भर ह्याक गरी रुसी गुप्तचरहरुले विभिन्न सूचना चोरी गरेको आरोप लागेपछि रुसले यस आरोपको खण्डन गरेको हो ।
बेलायतका लागि रुसी राजदुत एन्ड्रेइ केलिनले रुस आफैंले कोरोना भाइरसको खोप तयार पारिरहेको अवस्थामा खोपको अनुसन्धान चोरी गरेको आरोप लाग्नु गम्भीर भएको भन्दै यस आरोपप्रति कुनै तुक नभएको बताएका छन् ।
राजदूत केलिनले यस आरोपप्रति कुनै तुक नभएको भन्दै आरोपको खण्डन गर्नुभएको हो । यी तीन राष्ट्रहरुले एक बिज्ञप्ती जारी गरी रुसले बौद्धिक सम्पदा चोर्ने प्रयासमा साइबर हमला गरेको जिकिर गरेका थिए ।
बेलायतको नेशनल साइबर सेक्युरिटी सेन्टर (एन.सि.एस.सी) ले एपीटी २९ नामक ह्याकिङ समूहले यो अभियान चलाइरहेको उल्लेख गरेको थियो । जारी बिज्ञप्तीमा विश्वब्यापी महामारी कोभिड १९ विरुद्धको खोप बनाउने प्रयासमा रहेका मुख्य राष्ट्रहरु रुसी गुप्तचरहरुले निशानामा रहेको बताईएको थियो ।
कोरोनाविरुद्धको खोप बनाउँने प्रयासमा रहेका अमेरिकी, बेलायती तथा क्यानेडियन संस्थाहरुलाई रुसी गुप्तचरहरुले निशाना बनाइरहेको चेतावनी सुरक्षा निकायहरुले दिएको उल्लेख छ ।
एन.सि.एस.सीले दावी गरे अनुसार ह्याकरहरुले रुसी गुप्तचर सेवाका लागि काम गरिरहेको र कोरोना भाइरसविरुद्धको खोप बनाउने अभियानका महत्वपूर्ण जनाकारी उनीहरुको निशानामा रहेको छ ।
रुसले पहिलो पटक आफुले कोरोना भाइरस विरुद्धको खोप तयार गरेको दावी गरेको थियो । इन्स्टिच्युट फर ट्रान्सलेशन मेडिसिन एन्ड बायोटेक्नोलोजीका निर्देशक वादिम तारासोवाले विश्वकै पहिलो कोरोना भाइरसको खोपको क्लिनिकल ट्रायल सफलतापूर्वक पुरा भएको बताएका थिए । उनका अनुसार मास्कोस्थित सरकारी मेडिकल युनिभर्सिटी सेचेनोफले उक्त परीक्षण गरेको हो । (एजेन्सी)
प्रतिक्रिया