US Khabar

हल्ला नगरौं, संस्था बलियो बनाउं -आनन्द बिष्ट

- Admin | ३ वर्ष पहिले प्रकाशित

हल्ला नगरौं, संस्था बलियो बनाउं -आनन्द बिष्ट

जनसम्पर्क समिति अमेरिकाको नामबाट बिभिन्न समाचार र हल्लाहरु आएको भन्दै समितिका सभापति तथा कांगे्रसका आमन्त्रीत केन्द्रिय सदस्य आनन्द बिष्ट र महासचिव मुनिन्द्र नेम्बांगले संयुक्त बिज्ञप्ती जारी गर्दै हल्लाको पछि नलाग्न र संस्था बलियो बनाउन लाग्न सबैलाई आग्रह गरेका छन् । आईतार जारी गरिएको बिज्ञप्तीमा संस्थाको मर्यादामा रहेर यसको अनुशासनमा बस्न सबैसंग आग्रह समेत गरिएको छ ।

बिज्ञप्तीको पुर्ण पाठ ।

मितिः जुलाई १२,२०२०
प्रेस विज्ञप्ति
नेपाली जनसम्पर्क समिति,अमेरिकाको नाममा विगत केही दिनदेखि सामाजिक संजाल र केही अनलाईनमार्फत सार्वजनिक भैरहेका समितिका आन्तरिक विषयप्रति हामी गम्भीर भएका छौं । यस किसिमका भ्रामक र कपोलकल्पित समाचारका प्रति समितिको गम्भीर ध्यानाकर्षण भएको छ । कुनै पनि संस्थाका आफ्ना प्रक्रिया र पद्धति हुन्छन् । अनुशासन,विधि,प्रक्रिया र पद्धतिलाई समेत बर्खिलाप हुने गरी जे जसरी समितिको नाममा अवैधानिक गतिविधि भएको छ यस्ता भ्रामक गतिविधिका पछि नलाग्न नेपाली जनसम्पर्क समिति,अमेरिका कार्य समितिका पदाधिकारी,सदस्य,सबै च्याप्टर नेतृत्व, आम सदस्य र शुभेच्छुकहरुलाई यसै विज्ञप्ति मार्फत आग्रह गर्दछ ।
नेपाली जनसम्पर्क समिति,अमेरिकाको हाल रहेको नेतृत्व टेक्सासमा दर्ता कायम रहेको समितिको कानुन अनुसार नै निर्वाचित भएको र सोही कानुन अनुसार नै बैधानिक हैसियतमा रहेको प्रष्ट छ । हामीले न्यूजर्सीमा एकता प्रक्रियामा सहमति गरेर हस्ताक्षर गर्दैगर्दा टेक्सासमा दर्ता कायम रहेको संस्थाको वैधानिकतालाई स्वीकार गर्ने र सोही अनुसार तत्कालीन दुवै समितिको विधानलाई समेटेर एउटा विधान बनाई सन् २०१४ मा एकताको अधिवेशन गरिएको अभिलेख सुरक्षित छ । तसर्थ यस बारे अहिले जुन किसिमले भ्रम सिर्जना गर्ने कार्य भैरहेको छ त्यो नितान्त सांगठनिक हित विपरित रहेको छ र यस्तो भ्रमको पछि नलाग्न सबैमा आग्रह गर्दछौं।
नेपाली जनसम्पर्क समितिको तीन वर्षे कार्यकाल सकिएको विषय भएता पनि यस समिति नेपाली कांग्रेसको इकाई भएकोले कांग्रेसको आन्तरिक निर्देशन र परिपत्र हाम्रा मार्ग निर्देशन हुन् । सोही अनुसार नेपाली कांग्रेससँग समन्वय गरी सन् २०१७ को भर्जिनियामा सम्पन्न पहिलो वार्षिक साधारण सभाको म्यान्डेट अनुसार हामीले अधिवेशन गर्न पहल गरेको प्रष्ट पार्न चाहन्छौं । तर त्यो बेला अहिले अधिवेशन गरेन भनेर सामाजिक संजालमा सार्वजनिक गर्ने समितिभित्रकै केही साथीहरुले अधिवेशन रोक्नका लागि पार्टी नेतृत्वबाट पत्र ल्याएर अधिवेशन प्रक्रिया रोक्न लगाएको हामी स्मरण गराउन चाहन्छौं । यसरी अधिवेशन प्रक्रिया रोक्नेहरुले अहिले अधिवेशन गरेन भनेर आरोप लगाउनु आफैंमा गैर जिम्मेवारपन देखिन्छ ।
पछिल्लो पटक २०७६ भाद्र १७ गतेको कांग्रेस केन्द्रीय समितिको बैठकले कार्यकाल सकिएका जनसम्पर्क समितिहरुको अधिवेशन ६ महिनाभित्र सम्पन्न गर्ने गरी प्रक्रिया सुरु गर्न समितिलाई कार्तिक ५,२०७६ का मितिमा लिखित निर्देशन प्राप्त भएको र सोही अनुसार यस समितिले ६ महिनाभित्र अधिवेशन गर्ने गरी कार्य तालिका समेत सार्वजनिक गरेको हामी स्मरण गराउन चाहन्छौं । सोही अनुसार समितिको फेब्रुअरी ५,२०२० का मितिमा सम्पन्न बैठकले मार्च २८ र २९,२०२० का मितिमा सबै च्याप्टरहरुको अधिवेशन सम्पन्न गर्ने र अप्रिल ११ र १२,२०२० का मितिमा समितिको केन्द्रीय अधिवेशन सम्पन्न गर्नका लागि नेपाली कांग्रेस केन्द्रीय समिति समक्ष सहमति लिने निर्णय भएको हो । सोही मितिको बैठकले अधिवेशन सम्पन्न गर्नका लागि निर्वाचन समिति,विधान मस्यौदा समिति,आर्थिक समिति,सदस्यता वितरण तथा छानबीन समिति,प्रचार प्रसार समिति, अनुगमन समिति,व्यवस्थापन समिति र परामर्श समिति गठन गर्ने निर्णय गरेको समेत स्मरण गराउन चाहन्छौं । समितिले साधारण सदस्यता र पार्टीको क्रियाशील सदस्यता वितरणको तयारी समेत पुरा गरिसकेको हामी प्रष्ट पार्दछौं।
फेब्रुअरी ५ ,२०२० को यही निर्णय अनुसार नेपाली कांग्रेस केन्द्रीय समिति समक्ष समितिको केन्द्रीय अधिवेशनको प्रस्तावित मिति अनुमोदन र अन्य प्रक्रियाका लागि सहजीकरण गरिदिन अनुरोध गरिएको परिस्थितिका बीच विश्व महामारी कोरोना संक्रमणको अवस्था भयावह हुन थालेपछि नेपाली कांग्रेसले आफ्नो १४ औं महाधिवेशन सम्बन्धी सबै प्रक्रिया स्थगित गरेको समेत सबैलाई अवगत नै छ । स्थिति सामान्य हुनासाथ पार्टीको निर्देशन अनुसार अवरुद्ध अधिवेशन प्रक्रिया सुचारु गर्न समिति प्रतिवद्ध रहेको र यसका लागि पार्टीसंग समन्वय पनि भैरहेको जानकारी गराउँछौं।
नेपाली कांग्रेसले अर्को निर्णय नगरी विगतको निर्णयको आधारमा नै समितिको कार्यकाल सकियो भनेर संगठनको मूल्य,मान्यता र पद्धति विपरित सार्वजनिक बहस गर्नु गैर जिम्मेवार कार्य हो भन्ने समितिको ठहर छ । समितिको कार्यकालका सम्बन्धमा सम्पूर्ण निर्णय लिने अधिकार नेपाली कांग्रेस केन्द्रीय समिति समक्षसँग मात्र रहेको छ । यस्तो सबै वैधानिक प्रक्रिया जारी रहेको अवस्थामा केही साथीहरुले भ्रम सिर्जना गरेको प्रष्ट छ ।  हामी सांगठनिक हित,एकता,संवाद र सहकार्यमा हातेमालो गर्दै संस्थागत प्रक्रियामा प्रतिवद्ध रहन सबैलाई आग्रह गर्दछौं ।
गलत र आधारहीन हल्लाका पछि नलाग्न सबै साथीहरुलाई पुनः एकपटक अनुरोध गर्दछौं ।

मुनिन्द्र नेम्वाङ्ग                                             आनन्द विष्ट
महासचिव                                               अध्यक्ष, नेजस अमेरिका
एवं आमन्त्रित केन्द्रीय सदस्य,नेपाली कांग्रेस

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">