US Khabar

योगमाया सम्मान तोया गुरूङ र उत्तमप्रसाद पन्तलाई-दमन्ता खनाल स्मृति सम्मान इन्द्रा गहतराजलाई

- Admin | ३ वर्ष पहिले प्रकाशित

योगमाया सम्मान तोया गुरूङ र उत्तमप्रसाद पन्तलाई-दमन्ता खनाल स्मृति सम्मान इन्द्रा गहतराजलाई

नेपाल स्रष्टा समाजले प्रत्येक वर्ष प्रदान गर्दै आएको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान यस वर्ष क्रमशः वरिष्ठ साहित्यकार तोया गुरूङ र अनुसन्धानकर्मी, लेखक तथा कवि उत्तमप्रसाद पन्तलाई प्रदान गर्ने भएको छ ।

नेपालको इतिहासमा नारी जागरण र समानता तथा आध्यात्मिक चेतनाका लागि लड्दै नारी जागरणको इतिहासमा प्रमुख पात्र बनेकी समाजसुधारक तथा सर्जक “योगमाया“ का नाममा स्थापित यी सम्मानहरू योगमायाले जलसमाधि दिएको दिन असार २२ गते कार्यक्रमको आयोजना गरेर स्रष्टालाई प्रदान गरिने गरिएको भए पनि यस वर्ष कोरोनाका कारण सम्भव नभएकाले सम्मान पाउने व्यक्तिहरूको नाममात्र घोषणा गरिएको नेपाल स्रष्टा समाजका अध्यक्षले जारी गरेको सूचनाले उल्लेख गरेको छ ।

यस्तै, दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान यस वर्ष पाल्पाकी संस्कृतिकर्मी एवम् सर्जक इन्द्रा गहतराजलाई प्रदान गरिने भएको छ । यो सम्मान प्रत्येक वर्ष दमन्ता खनालको जन्मदिन पारेर वैशाख ९ गते प्रदान गरिने भए तापनि कोभिड १९ को फैलिँदो सङ्क्रमणका कारण बन्दाबन्दीका अवस्थामा समारोहको आयोजना गरी कार्यक्रम गर्न नसकिएको समाजले जनाएको छ ।

योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान नेपाली साहित्यमा विशिष्ट योगदान पुयाउने, सामाजिक रूपान्तरणमा योगदान गर्ने तथा सामाजिक प्रतिष्ठाका हिसाबले समेत नेपाली समाजमा परिचित राष्ट्रिय स्तरका नारी स्रष्टालाई प्रदान गरिन्छ ।

योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान योगमायाका बारेमा समेत अध्ययन तथा अनुसन्धान गरेको या उहाँका आदर्शलाई पछ्याउँदै सामाजिक रूपान्तरणका निम्ति विभिन्न माध्यमबाट अभियन्ता भई काम गरेको व्यक्तिलाई प्रदान गरिन्छ ।

दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान नेपाली साहित्य, कलाको क्षेत्रमा निरन्तर क्रियाशिल तर विभिन्न कारणले पछि परेका र मूलधारमा आउन नसकेका नारी हस्ताक्षरहरूलाई प्रदान गरिन्छ ।

योगमायाका नाममा स्थापित दुवै सम्मानको राशि २५,१११\– र सम्मानपत्र रहेको छ भने दमन्ता खनाल स्मृति सम्मानको राशि ११,१११ \– र सम्मानपत्र रहेको छ ।

सम्मानित हुनुभएका विशिष्ट साधक तथा सर्जकहरूलाई अनुकूल अवस्थामा अनुकूल तरिकाले सम्मानहरू प्रदान गरिने समाजले जनाएको छ ।

वरिष्ठ साहित्यकार तथा प्राज्ञ माया ठकुरीका संयोजकत्वमा सम्बन्धित विज्ञ तथा सम्मान संस्थापकहरूको समितिले उक्त सम्मानका लागि नामहरू सिफारिस गरेको हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">