US Khabar

संविधान दोस्रो संशोधन विधेयक अत्यधिक मतले पारित – सहभागी २५८ सांसद सबैको समर्थन

- Admin | ३ वर्ष पहिले प्रकाशित

संविधान दोस्रो संशोधन विधेयक अत्यधिक मतले पारित – सहभागी २५८ सांसद सबैको समर्थन

नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ संसदबाट पारित भएको छ । नेपालको अद्यावधिक नक्सालाई निशान छापमा राख्न ल्याइएको संविधान संशोधन विधेयक शनिबार साँझ प्रतिनिधिसभाको अत्यधिक मतले पारित भएको हो ।

संविधान संशोधन गर्न संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुको दुईतिहाइ मत चाहिने भएपनि मतदानमा सहभागी २५८ सांसदहरु सबैले ‘हुन्छ’ भन्ने पक्षमा मतदान गरेको सभामुख अग्नि सापकोटाले बताए ।

उक्त विधेयक दुईतिहाइभन्दा बढी मतले पारित भएको हो । संसदमा २७५ सांसदहरु रहेपनि मतदानमा २५८ जनामात्र सहभागी भएका थिए ।

यसअघि, संशोधन प्रस्तावमा दफाबार छलफल गरियोस् भनी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले गरेको प्रस्ताव सर्वसम्मत् स्वीकृत भएपछि दफावार छलफल भएको थियो ।

छलफलपछि मन्त्री तुम्बाहाङफेले दफावार छलफलमा भाग लिएका सांसदहरुप्रति आभार प्रकट गरेकी थिइन् । उनले सप्रमाणसहित भारतसँग वार्तामा सहभागी हुने बताएकी छन् ।

यो विधेयक गत जेठ ९ गते दर्ता भएको थियो । जेठ २७ गतेको प्रतिनिधिसभा बैठकमा भएको सैद्धान्तिक छलफलमा सबै दलहरुले विधेयकको पक्षमा मतदान गर्ने प्रतिबद्धतासहित अतिक्रमण गरेको भूमि फिर्ता गर्न भारतलाई आग्रह गरेका थिए ।

भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेतको क्षेत्र समेटेर सरकारले अद्यावधिक प्रशासनिक र राजनीतिक नक्सा जेठ ७ गते सार्वजनिक गरेको थियो । (रासस)

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">