दुर्गा दाहाल (अमेरिका)
सानो देशमा जन्म भएपछि विश्वले हेर्ने दृष्टीकोण पनि सानो हुने रहेछ । तर विश्वलाई कुशल प्रशासक भएर दिशाबोध गराउने राजनैतिक अनुभव र साहस भएका ब्यक्तीे नेपालले गुमाई सकेको कुरा ईतिहासले बताएकै छ । वर्तमान नेपालको परिपेक्षमा नेपालमा घर घरमा नेताहरु छन्, तर विचराहरु, राजनितिक ज्ञान कति छ भन्दा कपुरी “क” बाट राजनितीको “र”को बारेमा कक्षा एकबाट सुरु गर्नुपर्ने हुन्छ । “लाटो देशको गाँडो तन्देरी” भन्ने उखानको चरितार्थ हाम्रो मुलुकमा नै सार्थक हुन्छ । धन्य हुन् हाम्रा नेपाली दाजु—भाई र आमा, दिदी—बहिनीहरु, जतिपनि अन्याय, अत्याचार र दमन सहन सक्ने क्षमताले भरिपूर्ण छन् । देखादेखी बलत्कार र कलिला बालकको हत्या गरिन्छ, देखादेखी देशका सुन्दर पहाड र नदीनालाहरु बेचिन्छ, देखादेखी सिंह दरबारबाट गोप्य फायलहरु विदेशी राजदुतावासलाई विक्रि गरिन्छ, हजारौं नेपाली दाजु—भाई, दिदी—वहिनी र आमाहरुको रगतले होली खेल्ने हत्याराहरुलाई सिंह दरवारको घुम्ने कुर्चिमा बिराजमान गराईन्छ । हरेक क्रियाकलापहरु हामीहरु टुलुटुलु हेरि रहेका छौं । हामी केही बोल्दैनौं । कोठे राजनितीमा हामी बलवान छौं । भ्रष्टचार गर्नेहरु नै हाम्रो देशका कुशल राजनितिज्ञको पंक्तीमा आउँछन् । किन हामी चुप छौं ? किन हामी हरेक अन्याय, अत्याचार र दमन सही रहन्छौं ?
किनकी’ काग कराउँदै छ पिना सुक्दैछ’
भनिन्छ “यो देशमा सतीको सराप परेको छ ”
विश्व मै निडर, साहशी र विर योद्धाहरुको जन्म यहि मुलुकमा भएको ईतिहासमा प्रमाणित छ । राजा महाराजादेखी प्रशासनको तल्लो खुड्कीलो सम्म कुशल साशक प्रसाशक भएर मुलुकको हँसिलो मुहारलाई संधै चम्काई राख्न सफल देशभक्तहरुको अनुहार सम्झँदा पनि तातो रगत उम्लिने हामी नेपालीहरु चुपचाप बसेका छौं । के सतीको सराप परेकै कारणबाट हो त ? यो मुलुकको स्थती यस्तो बनेको !
एउटा गाउँले ठट्यौली “होईन यो जुनेली भित्र गुलियो रस कसरी पसेछ ?” भने जस्तो ! होईन यो देशका कर्मीहरुमा पनि कतै न कतै केही गुलियो रस पो पसेछ कि के हो !
अव चाँडै नै हिन्दीका दुई शब्दहरु सापट लिने समय आई सकेको छ ।
“मरता क्या नही करता ”
बिरालो सानो जन्तु हो तर सानो छ भनेर लखेट्यो भने स्वयं लखेट्नेको घाँटीमा आएर स्वास नली नै खतम गरिदिन सक्छ । हरेक समय र परिस्थितीको एउटा सिमाना हुन्छ तर सिमाना भन्दा बाहिर भएपछि त्यसको अस्तित्व खत्तम हुन्छ भने हामी नेपालीहरुको अस्तित्व किनारा लाग्न सुरु भएको अनुभूति हुन्छ । जव नेपाली भूमि नै रहन्न भने नेपालीको अस्तित्व कसरी सुरक्षित हुन्छ होला ?
तर यहाँ “काग कराउँदै छ पिना सुक्दै छ”
जतिसुकै सदनमा बस्ने, भत्ता कर्मीहरु कुर्लिए पनि हालको परिपेक्षमा सम्माननिय प्रधानमन्त्री श्री केपी शर्मा ओली ज्यूले नेपालको नक्सा सगरमाथामा पुर्याउनु उहाँको एउटा साहासी कदम हो । सम्पूर्ण देशभक्ती नागरिकले यो कदमलाई एउटा महत्वपूर्ण साहसी कदमका रुपमा लिनुपर्ने हुन्छ । यो कदमले ईतिहासका पानाहरु थपिएका छन् । मुलुकको नयाँ नक्साको कारण देश विदेशमा राजनितीक र कुटनितीक टिका टिप्पणी गहन रुपमा सुरु भै सकेका छन् । यस महत्पूर्ण घडीमा सम्पूर्ण राष्ट्रभक्ती नेपाली एउटै घेराभित्र हुनु अनिवार्य महशुस हुन्छ । यो बिषयलाई निरन्तरता दिन सक्नु सम्पूर्ण नेपालीको कर्तव्य हुन जान्छ । सरोकार पक्षले गम्भिर रुपमा सोच्नु र काम गर्नु पर्दछ ।
ईतिहासका बिभिन्न घडीहरुमा बिभिन्न किसिमका घटनाहरु मुलुकले ब्यहोर्नु परिरहेको ब्यहोरा हामी सबैलाई अवगत नै छ । सरकारका पदाधिकारीहरुको फेरवदल हुने क्रममा मुलुक भित्र घटनाहरु, महत्वपूर्ण निर्णयहरु भै रहेका हुन्छन् । यस किसिमका घटना र निर्णयहरुलाई मलजल गर्ने काम मुलुकको जिम्मेवार पदमा बस्नेहरुले नै गरेका हुन्छन् । यस किसिमका घटना र निर्णयहरु कहिल्यै पनि जनताको सामु ल्याईएको हुँदैन जसले गर्दा जनताको विश्वास जित्ने काम सरोकारवालाहरुमा छैन ।
हरेक घटनाहरु र निर्णयहरु लुकाउने प्रवृत्तिले मुलुकभित्र अन्यौलको सृजनाहरु मौलाई रहेका हुन्छन् । मनन गरौं, अवको दुनियाँ, ढुंगे जमाना रहेन । हरेक पलमा दुनियाँमा के भै रहेको छ ,तुरुन्त प्रकाशमा आउँछ । सानो मुलुकमा जन्म भएपनि दुनियाँ हाँक्न सक्ने नेपालीहरुमा बुद्धी र सामथ्र्य छ ।
निती श्लोकले हामीलाई प्रेरणा प्रदान गरेकै छ ।
“ काकया कनन शुत्रेण कृष्ण सर्पो नियातित”
तर
“ काग कराउँदै छ पिना सुक्दैछ ”
हरेक पटक सरकार फेरवदल हुँदा कुनै न कुनै नदी वा हिम सिखरको उपहार प्रदान गर्ने हाम्रो सिंह दरवारको प्रकृया नै भै सकेको छ । हामी सिधासादा देशबासीहरु मुक दर्शक भएर बसेका छौं । आफ्नो ब्यक्तीगत स्वार्थको लागि मुलुकलाई धितो राख्ने प्रवृत्तीले राष्ट्रभक्ती नेपालीलाई गहिरो चोट पर्नु स्वभाविक नै हो ।
नदिनाला र हिमालको उपहार पछि के को उपहार चढाउनु हुन्छ तपाँईहरु ? त्यसपछि नेपाल आमाका सपुतहरुलाई नै उपहार चढाउन पछि पर्नु हुन्न होला जस्तो लाग्छ । जसरी सिक्किमका राजाले आफ्ना जनताहरु हिन्दुस्थानलाई उपहार स्वरुप प्रदान गरेर आफू नजरबन्दमा ऐस आराम गरि बसेका छन् । कता कता भान हुन्छ, सतीको सराप परेकै कारणबाट होला की ! बाबुराम भट्टराई जस्त ज्यानमाराको नेपालमा जन्म भएको । आफ्नो स्वार्थ पुरा नभएमा कहिले नयाँ पार्टी खोल्ने, कहिले मुसापार्टीमा लाग्ने त कहिले बिराला पार्टीमा ! कहिले हिन्दु धर्म त कहिले ईसाई । कहिले के सम्मेलन नेपालगञ्जमा त कहिले पहाडगञ्जमा अनि कहिले दिल्ली । यि सबै कारणबाट भएको छ, आम नेपालीको चिल्ली बिल्ली । तर सबै कुरा भन्न मिल्दैन भनेर पनि के गर्नु ? किनकी यि सबै हाम्रै नेताहरु हुन् !
‘सतीको सराप परेको देश’मा ! यहाँ नेताहरुले जे जे गरेपनि हुन्छ, सबै कुरा छुट छ ।
यो मुलुकमा कुनै नेताबाट मुलुकको न्यायको रक्षा गर्ने प्रधान न्ययाधिशलाई रातारात कठघरामा उभ्याईन्छ त अमुक र राष्ट्रप्रेमी जनताको सेवा गर्ने जिम्मेवार पुलिस अधिकारीलाई स्वास प्रणाली नै बन्द हुने गरि लखेटिन्छ । अनि भ्रष्टचार नियन्त्रण गर्न कोशिष गर्ने अधिकारीलाई बलिको बोको बनाईन्छ । करोडौं करोड मानिसहरुको आस्थाका रुपमा रहेको विश्व प्रसिद्ध पशुपतीनाथमा जवरजस्ती विषालु जहरको जल चढाउन कोशिष गरिन्छ । देखादेखी बिदेशीहरुलाई नागरिकता विक्री गर्ने, राष्ट्रिय सम्पत्ती विक्री गर्ने धुन्धकारीलाई जन नायक पदवीले विभुषित गरिन्छ । बलत्कार, हिंसा र अपराधको बचावट गर्नेलाई संसद भवनमा आसन ग्रहण गराईन्छ । किनकी यो मुलुकमा केही भन्न मिल्दैन । सबै हाम्रा कार्यकर्ताहरु हुन् । सबै हाम्रा नेताहरु हुन् । त्यसैले यहाँ “काग कराउँदै गर्छ पिना सुक्दै गर्छ ”
मुलुकका ९८ प्रतिशत राष्टवादी बुवा आमा, दाजु भाई, दिदी बहिनीको आवाज सुनिन्छ । “यो देशमा केही हुनेवाला छैन” ।
कति अमिला बोलीहरु सुन्नु परेको छ । हामीहरु आफैंमा दंग पर्दै भन्छौं ! मेरा छोरा बुहारीहरु, छोरी ज्वाईंहरु, मेरा भाई बुहारीहरु, कोही अमेरिका त कोहि अष्ट्रेलिया अनि कोही बेलायत त कोही क्यानडा ।
बच्चा देखी पालन पोषण गरि आफ्नो भए नभएको सम्पत्ती खर्च गरी,सक्षम र कर्मठ भएपछि हाम्रा सन्तानलाई बिदेश पठाईरहेका छौं । यो कुरा विदेशीहरुको लागि अति फाईदाजनक हो । ईमन्दार, सक्षम र देशभक्त सन्तान मुलुकबाट बाहिरिए पछि मुलुकको आसा निरासामा बिलिन हुँद गै रहेको छ ।
त्यसैले होला भन्छन “यो देशलाई सतीको सराप परेको छ ।”
जव म एक पटक एउटा जिम्मेवार शिक्षक थिएँ । मेरा बिद्यार्थी भाई बहिनीहरुलाई डराउँदै डराउँदै भन्ने गर्थें, “शहिदहरुले प्रजातन्त्रको लागि जीवन गुमाए । विपि कोईराला, गणेशमान, पुष्पलाल ईत्यादी प्रजातन्त्रका नेता र योद्धाहरु जेल जीवन बिताईरहेका छन् । ”
स्वर्गीय पृथ्वी नारायण शाह, जंग बहादुर राणा र राजा महेन्द्र जस्ता कुशल राज प्रशासकहरु जन्मेको यो देश आज कुशल नेता र कुशल प्रशासकको खोजीमा छ । तर के गर्नु
“काग कराउँदै छ पिना सुक्दै छ”
भनिन्छ -“यो देशमा सतीको सराप परेको छ ”
प्रतिक्रिया