आज बिहान कर्णालीमा भएको टिप्पर दुर्घटनाका घाईतेहरुको उद्धारका लागि गएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोटबाट फर्किएका छन् । कालीकोटको जिते बजारबाट यात्रु लिएर रासकोटतर्फ जाँदै गरेको ना ८ ख ५१३३ नम्बरको टिप्पर दुर्घटनाका घाईतेहरुको उद्धारका लागि मुख्यमन्त्री शाही सेनाको हेलिकप्टरमा कालिकोट पुगेर फर्किएका हुन् ।
भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा लैजाँदै गर्दा करिब ४० यात्रु रहेको सो टिप्पर आज बिहान १० ३० बजे कर्णाली करिडोरअन्तर्गत श्रीखोली मन्दिरनजिकै दुर्घटना भएको थियो । टिप्पर दुर्घटनामा २ जनाको शव फेला परेको छ । जसमा रास्कोट नगरपालिका २ की २१ वर्षीया ठुम्की सार्की, २३ वर्षकी शर्मिला सार्की रहेका छन् ।
कर्णालीमा खसेको सो टिप्परका घाईतेमध्य ६ जनाको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ भने गम्भिर घाईते २ जनालाई हेलिकप्टर मार्फत काठमाडौं ल्याईएको छ । कर्णाली नदीमा खसेको सो टिप्परका बाँकी यात्रु बेपत्ता रहेको र खोजी कार्य भै रहेको बताईएको छ ।
प्रतिक्रिया