सुष्मा देवकोटा
बुवा दिपक प्रसाद कोईराला र आमा हरिदेवी कोईरालाको सन्तानका रुपमा पोखरा ५ प्रस्याङमा जन्मिएका मुनाल शिशिर कोईराला सञ्चार क्षेत्र र कलाकारिता क्षेत्रमा परिचित नाम हो । स्कुले जीवनबाट नै रेडियोकर्मीका रुपमा परिचय बनाएका मुनाल ‘शिशिर उँडेर जुन छुन्छु भन्थें’, ‘तिमी कसको हुने होला’, ‘तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देउ’, ‘जसलाई मुटुको अंश ठानेको थिएँ’, ‘धोका दिने तिमी पिडा खप्ने मैले’ जस्ता सयौं लोकप्रिय गीतहरुका म्युजिक भिडियो निर्देशक हुन् ।
बाल्यकाल देखी नै सञ्चार र कला क्षेत्रप्रति रुचि भएका मुनाल शिशिर बाल्यकालमा चकचके स्वभावका थिए, एक्लो छोरा, घरमा पुल्पुलयाएर राखेकाले पनि उनि अनेकौं बदमासीमा सामेल थिए । सिस्नो पानी नै खानुपर्ने खालमा बदमासी गरेपनि सानैबाट प्रतिभाशाली थिए उनि, जसको उदाहरणमा उनले स्कुले जीवनबाट नै सुरु गरेको सञ्चारकर्मलाई पनि लिन सकिन्छ ।
पोखराको एस ओ एस बालग्रामबाट एसएलसी पास गरेका मुनाल शिशिर स्कुले जीवनमा टेलिभिजन कार्यक्रम र नेपाली चलचित्रका फ्यान थिए । त्यो बेला उनि ईमेज च्यानलको बिहानी टेलिभिजनका नियमित दर्शक थिए भने नेपाली चलचित्रहरु पनि प्राय छुटाउँथेनन् हेर्न ।
स्कुले बिद्यार्थी हुँदाबाट नै उनि पोखराको हिमचुली एफएममा कार्यक्रम प्रस्तोताका रुपमा कार्यरत थिए, त्यो बेला उनि शान्तिको खोजी नामक कार्यक्रम चलाउँथे । सञ्चारकर्मप्रतिको गहिरो लगावका कारण एसएलसी पास गरेपछि बि स २०६१ सालमा उनि पत्रकारिता अध्ययनका लागि काठमाडौं आए । राजधानीको आर आर क्याम्पसबाट पत्रकारिता बिषयमा स्नातक मुनाल शिशिरले केही समय क्लासिक एफएममा कार्यक्रम प्रस्तोताका रुपमा काम गरे । छोटो समयमा नै रेडियोकर्मीका रुपमा लोकप्रिय छवि बनाउन सफल उनले पछि उद्योषण तथा कार्यक्रम उत्पादन केन्द्र विकल्प द अपसन सुरु गरे । ‘विकल्प द अपसन’बाट धेरै नयाँ सञ्चारकर्मी जन्मिए भने यो लोकप्रियतासंगै क्यासेट कम्पनी बिकल्प क्रियशनको पनि स्थापना भयो ।
मुनाल शिशिर राम्रा गीतकार पनि हुन् भलै उनको गीत लेखनको पाटो संञ्चार र निर्देशकिय यात्राको ब्यस्तताले ओझेलमा रहेको किन नहोस् । उनको कला क्षेत्रको प्रवेश पनि गीत लेखनबाट नै भएको हो । सगुन संग्रौलाका लागि हजारौं कोशिष बोलको गीत लेखेर संगीत यात्रा तय गरेका उनले गायक एड्रिन प्रधानको ‘जिन्दगी त खेलौना भो’ गीतबाट औपचारिक रुपमा म्युजिक भिडियो निर्देशनमा प्रवेश गरेका हुन् ।
२०६५ सालबाट निरन्तर निर्देशकिय यात्रामा रहेका मुनाल शिशिर त्यस समयको स्मरण गर्दै भन्छन् ‘सन् २००९ को समय हो, टेलिभिजनका निर्देशकहरुको हालिमुहाली थियो त्यो बेला । नयाँ निर्देशकहरुलाई निर्माण भएको भिडियो रिलिज गर्न पनि कठिनाई पथ्र्यो । टिभि माफियाको चलखेल यति सम्म थियो कि राम्रो काम गरेर यस क्षेत्रमा आउन संघर्ष गरिरहेका नयाँ कलाकर्मीद्वारा निर्माण भएका भिडियोका टेपहरु नै हराउँथे भने समयमा कहिल्यै भिडियो रिलिज हुन पाउँथेनन् ।’
आफ्नै मेहनत र लगावले यस क्षेत्रमा प्रवेश गरेर हाल सम्म ५०० भन्दा बढि म्युजिक भिडियो निर्देशन गरेका मुनाल शिशिर सुरुवाती दिनका तिता अनुभव सुनाउँछन् ‘मेरो कुरा गर्दा म निर्देशनमा प्रवेश गरेको १२ बर्ष भएछ, १२ बर्ष अघिको समयलाई फर्केर हेर्दा नयाँ कलाकर्मीमाथी गरिने त्यो बेलाको ब्यवहार पनि जोडिएर आउँछ,’ मेरो आफ्नै कुरा गर्दा म नन फिल्मि ब्याकग्राउण्डको मान्छे, बाहिर जिल्लाबाट काठमाडौं आएको, त्यसमाथी उमेर पनि सानो म मा क्षमता नै भएपनि काम पाउन गाह्रो थियो । त्यो बेला हामी भिडियो निर्देशकहरु धेरै कम थियौं, त्यतीबेला राम्रो भिडियो बनाउने मान्छे भन्दा टेलिभिजनमा फुल भिडियो बजाउन सक्ने, टिभि मै काम गर्ने निर्देशकहरु प्यारा थिए कलाकारका लागि । नयाँ टिम र नयाँ जोश भएतापनि राम्रा गीत समेत बज्न गाह्रो हुन्थ्यो ।‘
राम भक्त जोजिजु, एड्रिन प्रधान, दिपेश किशोर भट्टराई, अन्जु पन्त, मनोजराज, स्वरुपराज आचार्य, मिलन अमात्य, दिपक लिम्बु, रुपक डोटेल लगायतका चर्चित गायक गायिकाका आवाजमा रहेका दजनौं लोकप्रिय गीतहरुका म्युजिक भिडियो मुनाल शिशिरकै निर्देशनमा निर्माण भएका छन् जसलाई दर्शकहरुले अत्याधिक मन पराउँदै आएका छन् ।
मुनाल शिशिरको निर्देशनमा नेपालको लोपउन्मुख कुसुन्डा जातीको जीवन संस्कृतीमाथी बृत्तचित्र पनि निर्माण भएको छ ।The then king of forest (राजामामा) नामको यो डकुमेन्ट्री कुसुन्डा जातिका एक मात्र त्यस्ता ब्यक्ती हुन् जसलाई नेपाली समाजमा बनमान्छेको रुपमा चिनिन्छ । यस अर्थमा पनि यो डकुमेन्ट्रीलाई नेपाली संस्कृतीमाथी निर्मित महत्वपूर्ण डकुमेन्ट्रीका रुपमा हेरिएको पाईन्छ ।
म्युजिक भिडियो निर्देशनमा दशक लामो समय देखी निरन्तर सक्रिय उनका बिचारममा राम्रो निर्देशक हुनका लागि कन्सेप्ट मात्र भएर पुग्दैन, त्यो देखी बाहेक क्यामेरा फ्रेम, लाईटिङ, ईडिटिङ र सर्ट ब्रेकको पनि राम्रो ज्ञान हुनु आवश्यक छ ।
उनका अनुसार हाल नेपाली कला बजारमा धेरै थरी निर्देशक छन्, जसमध्य धेरै यस्ता निर्देशक छन् जो क्यामेरामेन भएकै भरमा निर्देशन गरिरहेका छन् ।
देशका अग्रज देखी नयाँ कलाकर्मीसंग काम गरेका मुनाल शिशिरलाई आफुले काम गरेका कलाकार मध्य मन पर्ने कलाकारहरुमा बिमलेश अधिकारी , मुकेश आचार्य , शिल्पा प्रोख्रेल , नम्रता सापको टा ,बेनिशा हमाल , हर्षिका श्रेष्ठ ,श्रवण रेग्मी , वर्षा राउत, रजनि के।सि , सुरबिना कार्कि , मरिष्का पोख्रेल, नाग्मा श्रेष्ठ, कमल सिँह , पुजन घिमिरे आदी हुन् ।
लामो समयको निरन्तर सक्रियताका आधारमा मुनाल शिशिरको नजरबाट अहिले कला तथा संगीत बजार धराशायी अवस्थामा छ । संगीत क्षेत्रमा पनि हिजोका दिनमा जस्तो कमाई आज छैन । शो अपमा चलेको छ, भिडियोमा खेल्ने बाल कलाकारहरुको असोभनिय रेटले धेरै असर पारेको छ । खर्च वान वे प्रोसेसमा चलिरहेको छ, यसले बिकराल समस्या निम्त्याउन सक्छ ।
(दशक लामो अनुभव र सक्रिय सञ्चार तथा कलाकर्ममा रहेका निर्देशक मुनाल शिशिरलाई यूएस खबरको तर्फबाट निरन्तर सफलताको शुभकामना )
प्रतिक्रिया