टी-२० विश्वकप : नेदरल्यान्ड्सविरूद्धको पहिलो खेलबाटै सानदार सुरुवात गर्ने नेपालको लक्ष्य

आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले मंगलबार राति आफ्नो पहिलो खेल खेल्दैछ। अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेदरल्यान्ड्सविरूद्ध राति सवा नौ बजे भिड्दा नेपाल १० वर्षपछि विश्वकपमा फर्कनेछ। नेपाल १० वर्षपछि आज विश्वकपमा खेल्दैछ । नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो । नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स छन् । नेपालले दोस्रो खेल ११ जुनमा श्रीलंकासँग खेल्नेछ । यी दुई खेल अमेरिकामा हुनेछन् ।

नेपालले बाँकी दुई खेल भने वेस्ट इन्डिजमा खेल्नेछ । जसअन्तर्गत नेपालले १४ जुनमा दक्षिण अफ्रिका तथा १६ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ । नेपाल हाल टी–२० अन्तर्राष्ट्रियको वरीयतामा १६औं स्थानमा छ । यस्तै, दक्षिण अफ्रिका छैटौं, श्रीलंका आठौं, बंगलादेश दसौं र नेदरल्यान्ड्स १२ औं स्थानमा छ । टी–२० विश्वकपमा पहिलोपटक २० टोलीले प्रतिस्पर्धा गर्दै छन् ।

आजको खेलमा नेपालका कप्तान रोहित पौडेल, अलरान्डर दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र सन्दीप जोरामाथि सबैको विशेष नजर रहने छ। त्यसबाहेक कुशल मल्ल, गुलशन झा, करण केसी, सोमपाल कामी, ललित राजवंशीमाथि पनि सबैको ध्यान रहने छ।

नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म टी–२० आईमा १२ खेल भएका छन्। हेड टु हेडमा नेपाल ५ खेलमा विजयी हुँदा नेदरल्यान्ड्सले ६ खेलमा जित हात पारेको छ। जबकी १ खेल नतिजाबिहीन रह्यो।

नेपालले दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्याण्ड भने पाँचौँपटक सहभागिता जनाउँदैछ। नेपाल र नेदरल्याण्ड दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन्। तीन महिनाअघि नेपालमा नै भएको त्रिदेशीय टी–२० शृङ्खलामा नेदरल्याण्डले दुई खेल जित्दा नेपालले एक खेलमा जित हासिल गरेको थियो।

अमेरिका र वेस्टइन्डिजमा चालु टी–२० विश्वकप क्रिकेटका विजेता टोलीले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउँदा उपविजेताले १२ लाख २८ हजार डलर पाउनेछन्। त्यस्तै विश्वकपमा सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही सात लाख ८७ हजार डलर पाउनेछन् भने प्रतियोगितामा सहभागी सबै टोलीले २ लाख २५ हजार अमेरिकी डलर पाउनेछन्।

TOP