क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले दिएन भिसा

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ। टी-२० विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जान लागेका उनलाई दूतावासले भिसा दिन अस्वीकार गरेको हो। बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ ९क्यान०ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो।

सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् । अमेरिका र वेष्टइन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् । बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघले उनलाई नेपाली टिममा समावेश गरेको थियो । तर अमेरिकाले भिसा नदिएपछि सन्दीप नेपालमै रोकिएका छन् ।

सन् २०१९ मा पनि अमेरिकी दूतावासले क्यारेबियन प्रिमियर लिग ९सीपीएल० खेल्न जान लागेका सन्दीपलाई सुरुमा भिसा दिएको थिएन । आलोचना भएपछि दूतावासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको थियो । यसअघि उच्च अदालत पाटनले लामिछानेलाई जिल्ला अदालत काठमाडौ‌ले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्टाउँदै बुधबार सफाइ दिएको थियो।

त्यसपछि उनलाई नेपाल क्रिकेट संघले निलम्बन फुकुवा गर्दै विश्वकपका लागि नेपाली टिममा राख्नका लागि आइसिसीसँग सहमति लिएको थियो। आइसिसीको सहमतिसँगै सन्दीप अमेरिका जान लागेका थिए। हाल नेपाली टोली विश्वकपको तयारीका लागि अमेरिकामा छ। टी-२० विश्वकप २०२४ मा नेपाल समूह डी मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।

अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी-२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन्।

TOP