घोडा, भैसी र एनआरएनएको कथा

दीर्घराज उपाध्याय

यो त्यो समयको कथा हो, जतिबेला घोडा र भैसी स्वतन्त्र थिए । एकदिन घोडाको मनमा पाप पलायो । उसले सोच्यो, भैसीलाई तह लगाउन पाए, चरन क्षेत्रमा मेरो एकाधिकार हुन्थ्यो ।

तर तह कसरी लगाउने ? घोडाले एउटा जुक्ति निकाल्यो । उसले मान्छेलाई भेट्यो । र, भन्यो, तपाईका लागि एक बहु उपयोगी जनावर छ । उसको दुधले तपाई र तपाईका सन्तानलाई तन्दुरुस्त बनाउनेछ । उसको गोवरको प्रयोगले तपाईको खेतमा मनग्गे उब्जनी हुनेछ ।

मान्छेले घोडालाई बिलम्ब नगरी सोध्यो, त्यो जनावर कहाँ छ ? घोडाले भन्यो, तपाईलाई त्यसकहाँ म लिएर जान्छु, मेरो पछि पछि आउनुहोस ।

घोडाले भने झै मान्छे पछि पछि हिड्यो । घोडा अघि । मान्छे पछि । हिडेर जाने हो भने  भैसी भएको ठाँउ पुग्न दुई दिन लाग्ने । घोडाले मनमनै सोच्यो, त्यसलाई जति सक्दो चाँडो मान्छेको जिम्मा लगाउन पाए, त्यो चरन क्षेत्र आजैदेखि मेरो हुन्थ्यो ।

घोडाले थप एक दिन धैर्य गर्न सकेन । मान्छेलाई भन्यो, मेरो पिठ्युमा चढ्नुहोस । म तपाईलाई जति सक्दो चाँडो भैसी भएको ठाउँ पु¥याउछु ।

कहिल्यै घोडामाथि नचढेको मान्छेलाई घोडचढीको अनुभव थिएन । मान्छे घोडामाथि चढ्यो । घोडा जसै कुद्न थाल्यो, मान्छेलाई घोडचढी रोमाञ्चकारी लाग्यो, उ निकै प्रफुल्लित भयो । ओहो ! कस्तो आनन्द ?

घोडा कु्द्दै गयो । मान्छेले मनमनै सोच्यो, यसले भेटाउन खोजेको जनावर कस्तो होला ? त्यो त थाह छैन । तर यो चाही त्योभन्दा पक्कै उपयोगी छ । अव यसलाई त झन छोड्ने कुरै भएन ।

पैदल दुई दिन लाग्ने यात्रा घोडाले कुदेर आधा दिनमा पार गरायो । र, भैसीको नजिकै पुगेर भन्यो, मैले भनेको जनावर यही हो, अव यसलाई आफ्नो नियन्त्रणमा लिई घर लैजानुहोस ।

मान्छेले घोडालाई भन्यो, यसलाई त लैजान्छु । अव तिमीलाई पनि छोड्दैन ।

त्यसैदिन देखि मान्छेले भैसीलाई गोठ र घोडालाई तबेलामा बाँध्न थाल्यो । भैसीको चरन क्षेत्रमा आँखा लगाउदा आफू पनि तवेलामा बाधिनु प¥यो । लोभ, ईष्र्या र अरुको अस्तित्व स्वीकार नगर्दा घोडाले भैसीसंगै त्यसैदिनदेखि स्वतन्त्रता गुमायो । अर्कोलाई तह लगाउन खोज्दा कुनै अमुक शक्तिलाई आमन्त्रण गर्नु आफ्नै लागि कति घातक हुन्छ ? भैसी र घोडाको कथाको सार यही हो । 

गैर आवासीय नेपाली संघको बिघट्नको अवस्था, घोडा र भैसीको यो कथासंग मेल खान्छ । स्वतन्त्र रुपमा प्रवासमा आफ्नो पेशा र व्यवसाय गरिरहेकाहरुले संगठित भएर जन्मभूमि र स्वयम प्रवासमा रहेका नेपालीहरुको हकहीतका लागि काम गर्न एउटा संस्थाको आवश्यकता महशुस गरे, र, गैर आवासीय नेपाली संघको जन्म भयो ।

तर त्यही संस्थामाथि एकाधिकार कायम गर्ने जुन पाप त्यसका संस्थापक र ती संस्थापकहरुका अनुनायीहरुमा पलायो, त्यही दिन यसको पतनको शुरुवात भयो । अहिले गैर आवासीय नेपाली संघले जुन अवस्था भोगिरहेको छ, यो त्यही पापी सोचको परिणाम हो ।

स्वतन्त्र संस्थालाई सधै भरी आफ्नो कब्जामा राखिरहन अनेक हतकण्डाहरु गरिए । पहिले उनीहरुले राजनैतिक दलहरुलाई आमन्त्रण गरे । त्यसपछि आफू अनुकुल संघ नहुदा सरकारलाई हस्तक्षेप गर्न उक्साईरहे । जसले जन्माए, उसैलाई त्यो संस्थाप्रति माया नभएपछि अरुलाई हुने त कुरै भएन । राजनैतिक दल र सरकारलाई संघको प्रसव पीडा महशुस भए पो ?

नेपालका राजनैतिक दलहरु र सरकारलाई संघमा बारम्बार हस्तक्षेप गर्न लगाउने त्यही ‘घोडा प्रबृति’ थियो, जसले भैसीलाई तह लगाउन आफूलाई समेत नामेट गरिदियो ।

संघको निर्बाचित कमिटिलाई अबैध करार गर्ने सर्बोच्च अदालतको त्यो फैसला कतिपय अभियन्ताहरुलाई मुतको न्यानो भएको छ । यो फैसलाले दुःखी हुने जति छन् । खुशी हुने पनि उत्तिकै छन् ।

अदालतको फैसलापछि खुच्चिङ भन्नेहरु पनि उत्तिकै छन् । अर्ति दिने बिदुरहरु कति छन्, कति ? जसले नेपथ्यमा बसेर सधै संघभित्र खेलिरहे, जसले कहिल्यै मिल्न दिएनन, मिल्नुपर्छ भन्ने सुझाव दिनेहरु तिनैछन् ।

वर्षौदेखि संघको नेतृत्वमा रहेकाहरुलाई त यो फैसलाले बिक्षिप्त बनाएको छ । संघको नेतृत्व हत्याउन सदस्यता, रक्सी र मान्छे ओसार्न गरिने खर्च सामाजिक कार्यमा लगाएको भए कतिधेरै मान्छेको जीवनमा परिवर्तन आउने थियो ? कति मान्छे लाभान्वित हुने थिए ? सबैको ध्याउन्न चुनाव जित्ने मात्र भएपछि बाँकी कुरा तपसिलमा पर्ने नै भए ।

अव गैर आवासीय नेपाली संघका अगुवाहरुले बिगतका तिक्तता र नमिठा पाटाहरुलाई बिर्सेर मिल्नुको बिकल्प छैन ।

अव मिल्ने कि, सकिने ? बिगतका कमिकमजोरीको आत्मालोचना गर्ने कि ? फेरि पनि भारुण्ड चरा जस्तै विष पान गरेर, अरुलाई नामेट गर्न आफू पनि मेटिने ?

एउटा छोटो मर्मस्पर्शी प्रसंग छ ।

एउटा गाउँमा बुवाआमाको मृत्युपछि दुई भाईबीच अंश विवाद भयो । एकले अर्कोलाई अलिकति पनि अंश छोड्न मानेन । जग्गाको टुक्रा टुक्रा बाड्नु पर्ने दुबै दाजुभाईको अडान अन्तिम समयसम्म कायम रह्यो ।

अन्तिममा घरको विवाद लिएर एउटा भाई वकिल कहाँ गयो । वकिलले उसका तर्फबाट मुद्दा लड्ने निधो गर्यो । र, त्यसका लागि शुल्क अग्रिम लियो । भोलिपल्ट दाई पनि त्यही वकिललाई मुद्दा लडिदिन आग्रह गर्न पुग्यो । भाईको मुद्दा त्यही वकिलले लडिरहेको छ भन्ने उसलाई थाह थिएन ।

भाईको मुद्दा लड्न शुल्क लिईसकेको वकिलले दाईलाई चिनिहाल्यो । उसले आफूले भाईको मुद्दा लडिरहेको त बताएन, तर आफू व्यस्त रहेकोले अर्को राम्रो वकिललाई मुद्दा लड्न आफूले आग्रह गरेर पत्र पठाईदिने बतायो । वकिलले पत्र लेखे । र, पत्र लिएर दाई अर्को वकिललाई भेट्न हिड्यो ।
बाटोमा उसलाई कौतुहलता भयो, पत्रमा के लेखेको छ ? उसको मनले नहेरी मानेन । र, उसले खाम भित्र रहेको पत्र निकाल्यो । र, पढ्न थाल्यो ।

पत्रमा लेखिएको थियो, हड्डीका लागि लडिरहेका दुई  कुकुरमध्ये एक कुकुरलाई मैले राखेको छु । अर्को तपाईलाई पठाईदिएको छु । यसलाई तपाई आफ्नो अनुकुल प्रयोग गर्नुहोला ।

पत्र पढेपछि उ वकिल कहाँ गएन । सोझै घर गयो । भाईलाई भेटेर भन्यो, मलाई केही चाहिएन, तलाई जति अंश चाहियो, लैजा ।

दाईको कुरा सुनेर भाई अवाक भयो । हिजोसम्म एक ईञ्च जमीन नदिने अडानमा रहेको दाईलाई अचानक भयो के ? भाई चकित प¥यो ।

दाईको कुरा सुनेर भाईको पनि मन पग्लियो, उसले भन्यो, दाई मलाई केही चाहिएन, तपाईको माया भए पुग्यो । तपाईको आशिर्वाद र साथ भए यस्तो सम्पत्ती त बाँचे फेरि जोडि हाल्छु ।

भाईको कुरा सुनेर दाईले आफूलाई सम्हाल्न सकेन । भाईलाई अंगालो हालेर बेस्सरी रोयो । ओहो, म त यस्तो भाईको बिरुद्ध मुद्दा हाल्न गएछु ।

दुबैले आफ्ना हठप्रति पश्चाताप गरे । त्यो दिनदेखि मिलेर बसे । दुबैले मिलेर दिन दुगुना रात चौगुना प्रगती गरे ।

अव गैर आवासीय नेपाली संघका भाईहरु पनि लडेर जग हसाउछन कि ? मिलेर अघि बढ्छन, त्यो हेर्न बाँकी छ ?

आफ्नै भाईलाई कठघरामा उभ्याउछु भन्ने हठ त्यागेर वकिलको त्यो पत्रमा लेखिएको ‘हड्डीका लागि लड्ने दुई कुकुर’ शब्दावलीबाट पाठ सिक्छन, कि सक्दैनन, सोचनीय छ ।

अन्तिममा एउटा कविता,

जर्मन कवि मार्टिन निम:ल(अ)र को कालजीय कविता यो तत्कालिन समय र मनोदशालाई लिएर लेखिएपनि यो हरेक प्रसंगमा जहिले सान्दर्भिक हुने गर्छ । उनी लेख्छन्,

सर्वप्रथम, नाजीहरु कम्युनिष्ट सिध्याउन आए
म मौन बसें, किनभने म कम्युनिष्ट थिइन ।
त्यसपछि उनीहरुले यहुदीहरुलाई आँखा लाए
मैले केही बोलिन, किनभने म यहुदी पनि थिइन ।
पछि उनीहरु प्रोटेष्टेण्टहरुलाई सखाप पार्न आए
म क्याथोलिक थिएँ, त्यसैले केही बोलिन ।
अन्ततः ती मलाई लिन आए तर
त्यतिञ्जेल कसैका लागि बोलीदिने कोही बचेकै थिएन ।

आफ्ना जति सबैलाई गुमाएपछि बोली दिनेसम्म नहुदाको पीडा कस्तो हुन्छ, यो कविताले त्यही पीडा बयान गर्छ ।

अदालतमा गैर आवासीय नेपाली संघको बर्तमान नेतृत्वको डिएनए परीक्षण भएको हो बुझाई राख्नु गलत हुनेछ । अदालतको पछिल्लो निर्णयले संघको अभियानमा जोडिएका अगुवादेखि पछुवा सबैको डिएनए माथि नै प्रश्न चिन्ह खडा गरिदिएको छ ।

यतिहुदा पनि संसारभरी छरिएर रहेका गैर आवासीय नेपालीहरु र आफूलाई अभियन्ता भन्न रुचाउने यसका संस्थापकदेखि सदस्यहरुसम्म सच्चिएनन, चेताएनन र संघमाथि लादिएको सरकार, राजनैतिक दलको हस्तक्षेप र अदालतको पछिल्लो फैसलालाई लिएर संघको अस्तित्वका लागि एक ठाँउमा उभिएनन भने संघको त्यो बिरासत, पहिचान र अस्तित्व सधैका लागि नामेट हुनेछ । यसको हेक्का सबैले राख्न जरुरी छ ।

TOP