अस्तित्वको अन्तिम कथ्य…

भरै नभएको जन्म, तर तय भइसकेको मृत्यु,
शरीरले श्वास रोकेको दिन, अस्तित्वै हराउँछ कथ्य।
मरेर बाँच्नु कि बाँच्दै मर्नु भिन्नता के नै रहन्छ र?
अर्थले पचाउँदैन, मनले स्वीकार्नै सक्दैन यथार्थ।
आउँदा खुसीले भिज्छ आँखा,
जाँदा आँशु नै एकमात्र भाषा।
चुपचाप गएपछि, कसले के सोचेको होला?
“ऊ गयो” भन्ने वाक्य कति चिर्छ मनको भित्री खोला।
मर्नु त निश्चित छ, मृत्युलाई अँगाल्न कत्तिको सजिलो
दुखी नजर, खिन्न मन सोच्दा झनै मन बोझिलो
देखेँ मैले, फलानो अब रहेनछन्,
सपना अधुरा, इच्छा अपुरै लिएर गएछन्।
भगवानले किन दिएनन् अर्को मौका?
सजीव शरीर, अब लास भनेर चिनिने भएछन्।
लाशले पनि हेर्दो हो कति जिउँदा लाश बनेर बसेका,
आँशुको खोला बगाउँदै, मन मारेर हाँसेका।
जसरी बाँकी रहन्छ सम्झना,
त्यसरी नै जीवित रहन्छ उसले भरेको भावना।
माया अब त कुहिएको पोकामा सीमित,
ऊ गयो, तर याद मात्रै रह्यो त्यहीँमा सीमित।
छाडेर गयो, अगाडि गयो अब शब्दमै सीमित,
राम्रो थियो, तर अकालमै गयो यहीँमा सीमित।
बिर्सेलान तिमीलाई सानो मन नगर्नु हेरेर
पक्कै सम्झन्छन् बरखिमा बार दिन पर्खेर
-रोहित खड्का