टेक्ससकाे ड्यालसमा नेपाली बालबालिकालाई सुरक्षा र आपत्कालीन तयारीको ज्ञान

अमेरिकाको टेक्सस राज्यस्थित ड्यालस–फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली बालबालिकालाई स्थानीय सुरक्षा प्रणालीबारे व्यावहारिक तथा सैद्धान्तिक जानकारी प्रदान गरिएको छ। नेपाली समाज टेक्सस र ग्लोबल नेपाली पाठशालाको संयुक्त आयोजनामा सञ्चालित समर क्याम्पमा स्थानीय प्रहरी र अग्निनियन्त्रकहरूले बालबालिकालाई आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सुरक्षाका उपायबारे सिकाएका हुन्।
बुधबार युलेश सिटीमा आयोजित कार्यक्रममा बालबालिकाले प्रहरी र दमकलका गाडीमा जडान गरिएका उपकरणहरूको प्रत्यक्ष अवलोकन गरेका थिए। उनीहरूले प्रहरी अधिकारी र अग्निनियन्त्रकहरूसँग प्रत्यक्ष कुराकानी गर्दै व्यक्तिगत तथा सार्वजनिक सुरक्षाका विविध पक्षमा जानकारी लिए।
ग्लोबल नेपाली पाठशालाका प्रमुख डा. भोजबहादुर बलायरका अनुसार, विगतदेखि सञ्चालन हुँदै आएको क्याम्पमा यस वर्षदेखि सुरक्षासम्बन्धी विषयलाई पनि समावेश गरिएको हो। “पहिले हामी सांस्कृतिक र आध्यात्मिक विषयमा बढी केन्द्रित थियौं, तर यहाँको परिवेशमा बालबालिकालाई स्थानीय सुरक्षा प्रणालीबारे जानकारी दिनु अत्यावश्यक देखियो,” उनले भने, “यसले उनीहरूलाई थप चनाखो र सुरक्षित रहन मद्दत गर्छ।”
युलेशस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको सभाकक्षमा आयोजित दुई हप्ते क्याम्पमा २०० भन्दा बढी नेपाली मूलका बालबालिका दुई चरणमा सहभागी भएका छन्। नेपालका चर्चित सांस्कृतिक तथा आध्यात्मिक ज्ञाता डा. चिन्तामणि नाथ योगी शिविरका प्रमुख प्रशिक्षक हुन्।
शिविरमा सुरक्षा शिक्षाका अलावा नेपाली भाषा, संस्कृति, परम्परा, योग, नाटक, नृत्य, नेतृत्व विकास तथा वित्तीय साक्षरता जस्ता महत्त्वपूर्ण विषयमा पनि प्रशिक्षण दिइँदैछ।
ग्लोबल नेपाली पाठशालाका अध्यक्ष राजेन्द्र वाग्लेले अमेरिकामा जन्मे–हुर्केका बालबालिकालाई नेपाली भाषा, कला र संस्कृतिसँग जोड्नु नै पाठशालाको मुख्य उद्देश्य रहेको बताए। “हाम्रा बालबालिकाले आफ्नो जरा नबिर्सिउन् र नेपाली पहिचानमा गर्व गरुन् भन्ने हाम्रो चाहना हो,” उनले भने।
नेपाली समाज टेक्ससले आफ्नै पाठ्यक्रम निर्माण गरी ग्लोबल नेपाली पाठशालामा नियमित पठनपाठन सञ्चालन गर्दै आएको छ। समाजले अमेरिकाको मौसमअनुसार विभिन्न समयमा यस्ता शिविरहरू आयोजना गर्दै आएको जनाएको छ।