अमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने

अमेरिकी गृह सुरक्षा विभाग (DHS) ले नेपाली नागरिकहरूलाई प्रदान गरिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (TPS) कार्यक्रम आगामी अगस्ट ५, २०२५ मा अन्त्य गर्ने घोषणा गरेको छ। सन् २०१५ मा नेपालमा आएको विनाशकारी भूकम्पपछि लागू गरिएको यो कार्यक्रम अन्त्यसँगै करिब १२,७०० नेपाली आप्रवासीहरू प्रभावित हुनेछन्, जसमा करिब ७,००० जना अझै स्थायी आवासीय अनुमति (ग्रीन कार्ड) नपाएका छन्।
DHS सचिव क्रिस्टी नोएमले नेपालको वर्तमान अवस्था मूल्याङ्कन गर्दा TPS को लागि आवश्यक मानवीय संकटको अवस्था अब नरहेको ठहर गर्दै यो निर्णय गरिएको बताएकी छन्। उनले भनिन्, “नेपालमा भूकम्पपछिको पुनर्निर्माण, आपतकालीन तयारी र नागरिकहरूको जीवनस्तरमा उल्लेखनीय सुधार आएको छ, जसले TPS को आवश्यकता समाप्त भएको संकेत गर्दछ।”
TPS अन्त्यको निर्णयसँगै प्रभावित नेपाली नागरिकहरूलाई ६० दिनको समय दिइएको छ, जसअन्तर्गत उनीहरूले वैकल्पिक कानुनी स्थिति प्राप्त गर्न वा नेपाल फर्कने तयारी गर्नुपर्नेछ। DHS ले CBP One मोबाइल एप प्रयोग गरी अमेरिका छोड्ने प्रक्रिया सहज बनाउन सकिने जानकारी दिएको छ।
यस निर्णयले नेपाली आप्रवासी समुदायमा गहिरो चिन्ता उत्पन्न गरेको छ। मानव अधिकार समूहहरू र केही अमेरिकी सांसदहरूले अमेरिकी सरकारले मानवीय आधारमा यो निर्णय पुनर्विचार गर्नुपर्ने माग गरेका छन्। उनीहरूले नेपालमा अझै पर्याप्त पुनःस्थापना नभएको, आर्थिक अस्थिरता र रोजगारीको अभाव रहेको भन्दै TPS विस्तारको माग गरेका छन्।
TPS अन्त्यसँगै नेपालका लागि अमेरिकी आप्रवासन नीतिमा महत्वपूर्ण मोड आएको यस निर्णयले दीर्घकालीन असर पार्न सक्ने विश्लेषकहरूको बुझाइ छ।