न्यूजर्सीमा पहिलो ‘नेपाल डे परेड’ भव्यताका साथ सम्पन्न

अमेरिकाको न्यूजर्सीमा पहिलो ‘नेपाल डे परेड’ भव्यताका साथ सम्पन्न भएकाे छ । शनिबार आयोजित ‘नेपाल डे परेड’ कार्यक्रममा नेपाली समुदायको उत्साहजनक सहभागिताका साथै अमेरिकी स्थानीयहरूको पनि उल्लेख्य उपस्थिति रहेकाे थियाे । कार्यक्रमको आयोजना ग्रेटर जर्सी नेपाली समाज, न्यूजर्सी नेपाली समाज, गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका न्यूजर्सी च्याप्टर, एआरसी फर नेपाल, कारणका लागि महिला, फ्रेन्ड्स अफ नेपाल लगायत स्थानीय सामाजिक संघसंस्थाहरू र नेपाल सरकारका न्यूयोर्कस्थित पर्यटन प्रवर्द्धकको संयुक्त समन्वयमा भएको हो। नेपाली कला, संस्कृति तथा पर्यटनको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजित कार्यक्रममा विविध मौलिक झाँकी तथा नेपालका पर्यटकीय स्थलहरूको जानकारीमूलक सामग्री प्रस्तुत गरिएको थियो।
कार्यक्रमको उद्घाटन संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा र न्यूजर्सीस्थित फेयर लन सिटीका उपमेयर जोश रेईनिजले संयुक्त रूपमा गरेका थिए । सो अवसरमा बोल्दै राजदूत थापाले यस्ता कार्यक्रमले विदेशमा नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । उनले नेपाल पर्यटकका लागि सुरक्षित र आकर्षक गन्तव्य रहेको उल्लेख गर्दै विदेशमा रहेका नेपालीहरूलाई यसको सकारात्मक सन्देश प्रवाह गर्न आह्वान गरे ।
कार्यक्रममा नेपाल सरकारका न्यूयोर्कस्थित पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठले उपमेयर जोश रेईनिजलाई नेपालको पर्यटन सम्बन्धी जानकारीमूलक सामग्री हस्तान्तरण गर्दै नेपाल भ्रमणको निम्तो दिएका छन् । श्रेष्ठले अमेरिकामा नेपाली समुदायको उपस्थिति र सक्रियता बढिरहेको परिप्रेक्ष्यमा सबैले आ-आफ्नो ठाउँबाट पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउनुपर्नेमा जोड दिए ।
सञ्चारकर्मी विक्की पुलामी र मिस नेपाल इन्टरनेशनल २०१२ सुवेक्षा खड्काले सञ्चालन गर्नुभएको कार्यक्रममा स्थानीय कलाकारहरूले आकर्षक सांस्कृतिक प्रस्तुतिहरू दिएका थिए। राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्जीव श्रेष्ठ इभेन्ट डाइरेक्टर तथा सतेन्द्र शाह संयोजकको भूमिकामा रहेका थिए । आयोजकहरूले ‘नेपाल डे परेड’ लाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने जानकारी दिएका छन्, जसले अमेरिकी भूमिमा नेपाली पहिचान र पर्यटनलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।