ट्रम्पले भने- भारत र पाकिस्तानले सँगै ‘डिनर’ गर्नुपर्छ

भारतले भारत–पाकिस्तान विवादमा अमेरिकी हस्तक्षेपलाई चासो नदिएको अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा हस्तक्षेप जारी राखेका छन् ।
उनले भारत–पाकिस्तानको जारी तनावमा आफूलाई मध्यस्थकर्ता र शान्तिदूतका रूपमा प्रस्तुत गरेका छन् । मध्यपूर्व भ्रमणको पहिलो चरणमा साउदी अरेबियामा रहेका ट्रम्पले भारत र पाकिस्तान जस्ता आणविक शक्ति सम्पन्न छिमेकीहरूबीचको तनाव कम गर्न संगै डिनरमा बस्न आग्रह गरेका छन् ।
उनले भारत र पाकिस्तानबीचको सम्भावित आणविक युद्ध टार्न आफूले मध्यस्थता गरेको भन्दै त्यसको श्रेय लिने प्रयाससमेत गरे । उनले यो युद्धले लाखौँको ज्यान लिन सक्थ्यो भन्ने दाबी पनि गरे ।
‘मलाई लाग्छ युद्धविराम पछि दुई देशबीच तनाव केही कम भएको छ । दुवै पक्षलाई सँगै बसाल्न सक्यौं, सँगै डिनरमा ल्याउन सक्यौं भने कति राम्रो हुन्थ्यो होला, होइन र?’ ट्रम्पले भने ।
यो भनाइ भारतले युद्धविराममा अमेरिकी भूमिकालाई कम आँक्ने प्रयास गरिरहँदा आएको हो । पर्यवेक्षक र विज्ञहरूका अनुसार ट्रम्पको यस्तो धारणा भारतका लागि लाभदायी छैन । किनभने ट्रम्पले भारतसँगै पाकिस्तानको प्रशंसा गरेपछि भारत चिढिएको हो ।
अमेरिकाका लागि भारतका पूर्व राजदूत निरुपमा मेनन राव भन्छिन्, ‘ट्रम्पको दृष्टिकोणले भारतका लागि यो विषय अझ जटिल बनाएको छ ।’
रावले पाकिस्तान समर्थित आतंकवाद विरुद्ध भारतको संघर्ष सधैंजसो एक्लै रहँदै आएको बताइन् । ‘अमेरिका र चीन संसारभर रणनीतिक प्रतिद्वन्द्वी हुन्, तर पाकिस्तानमा उनीहरू सँगसँगै छन् । त्यो वास्तविकता फेरिएको छैन’, उनले भनिन् ।