ओली सरकार ढल्न लागेको हो ?

सत्ता रूढ दल कांग्रेस एमालेबीच पछिल्लो समय विवाद उत्पन्न भएको छ । नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिको विषयलाई लिएर सत्तारुढ नेपाली कांग्रेस र एमालेबीच फेरि विवाद उत्पन्न भएको हो ।
दुई पार्टीबीच विवाद उत्पन्न हुँदा गभर्नर नियुक्तिका लागि गठन भएको सिफारिस समितिको बैठक बस्न सकेको छैन । सिफारिस समितिले नयाँ गभर्नरको नाम चयन गर्न नसक्दा गभर्नर नियुक्ति प्रक्रिया लम्बिएको छ । चैत २५ गतेदेखि राष्ट्र बैङ्क गभर्नरविहीन छ ।
नेपाली कांग्रेसले गुणाकर भट्ट नभए वैकल्पिक उम्मेदवारको रुपमा नयाँ गभर्नरमा नेपाल उद्योग वाणिज्य महासङ्घका महानिर्देशक (डिजी) गोकर्ण अवस्थीको नाम अघि सारेको छ ।
यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्र बैङ्कको प्रमुख कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउन सिफारिस गरेका थिए ।
भट्टको नाममा सत्ताका प्रमुख घटक कांग्रेस र नेकपा (एमाले)बीच सहमति पनि भयो । गभर्नर बन्ने भएपछि भट्टले राष्ट्र बैंकको प्रमुख कार्यकारी निर्देशकबाट राजीनामा पनि दिए । तर उनको राजीनामा अहिलेसम्म स्वीकृत नभएपछि गभर्नर नियुक्तको विषयले कांग्रेस एमालेबीच विवाद उत्पन्न भएको हो ।
गभर्नरकै प्रतिस्पर्धामा रहेकी कायममुकायम गभर्नर डा नीलम ढुंगानाले भट्टको राजीनामा ‘होल्ड’ गरेपछि कांग्रेसले प्रधानमन्त्री ओलीको भूमीकामाथि शङ्का गरेको छ । किनकी प्रधानमन्त्री ओली उनै नीलम ढुंगानालाई गभर्नर बनाउने तयारीमा छन् । ओलीले सुरुमा कांग्रेसलाई मनाउन भट्टको नाममा सहमति गरे । तर, भित्रिरुपमा उनको राजीनामा अड्काएर नीलमलाई गभर्नर बनाउन ओलीले खेल खेलिरहेको कांग्रेसको आशङ्का छ ।
ओलीले आफूले भनेको व्यक्तिलाई गभर्नर बनाउन आनाकानी गरेपछि देउवा असन्तुष्ट बनेका छन् । गभर्नर नियुक्तमा आनाकानी गर्न थालेपछि देउवाले प्रधानमन्त्री ओलीसँग आइतबार साँझ भेटवार्ता गरे । सुरुमा नै देउवाले आक्रोश पोख्दै ओलीलाई प्रश्न गरे, ‘ यत्रो दिनसम्म किन गभर्नर नियुक्त नगरे के गर्न खोजेको ?’ देउवाको बोलीमा आक्रोश देखिएपछि ओलीले आफ्नो वचनबद्धतामा कायमै रहेको भन्दै नेपाल राष्ट्र बैङ्कले आगामी बिहीबारसम्म नयाँ गभर्नर पाउने निश्चित भएको बताए ।
प्रचण्डको कटाक्ष
संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिना दिन बित्दासमेत गभर्नर नियुक्त गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।
सरकारको नीति तथा कार्यक्रमबारे बोल्न संसदको रोस्ट्रममा उभिएका उनले प्रधानमन्त्री केपी शर्मा ओलीतिर हेर्दै गभर्नर नियुक्तिमा भइरहेको ढिलाइमा प्रश्न उठाएका हुन्।
‘महिना दिन बितिसक्दा पनि एउटा गभर्नर नियुक्ति गर्न सक्नुभएको छैन। दुई तिहाइको अहंकार त अब मैले हेर्दा त त्यो बेलुन फुटिसकेको देख्छु’, उनले भने, ‘हरेक नियुक्ति र निर्णयमा स्वार्थसमूह नै हाबी छ। जनताले सेवाप्रवाह सहज रूपमा पाउन सकेका छैनन्।’
सत्ता गबन्धनभित्र खटपटकाबीच प्रचण्ड र अर्थमन्त्रीबीच खुमलटारमा भेटवार्ता
प्रचण्ड र अर्थमन्त्री विष्णु पौडेलबीच मंगलबार भएको भेटवार्तालाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ । अध्यक्ष प्रचण्डको निवास खुमलटारमा उनीहरुबीच मंगलबार बिहान भेटवार्ता भएको हो । पछिल्लो समय कांग्रेस एमालेको विवादकाबीच एमाले र माओवादी नेताको भेटवार्ता बाक्लिएको छ । यसैबीच अर्थमन्त्री पौडेल र प्रचण्डबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
ओलीको अभिव्यक्ति
वैशाख १७ गते ३ दिने भ्रमणाका लागि काठमाडौँ आएका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले एमाले र माओवादी नेताका शीर्ष नेतासँग भेटवार्ता गरे । उनले प्रचण्ड र ओलीसँग पनि भेटवार्ता गरेका थिए ।
नेपालको सत्ता परिर्वतनमा भारतको ठुलो हात हुन्छ । जसअनुसार चौथावाइलेले भेटवार्ता तिव्र पारेपछि कतै एमाले र माओवादी मिल्न लागेका होइनन् ? भन्ने प्रश्न खडा भएको थियो ।
यसबीच मंगलबार संसद भवन छिर्न लागेका प्रधानमन्त्री ओलीलाई संञ्चारकर्मीले, ‘भाजापाका विदेश विभाग प्रमुख चौथाइवालेसँगको भेटवार्तापछि प्रचण्डसँग सम्बन्धमा सुधार आएको हो ?’ भन्दै प्रश्न गरे । तर, ओलीले उक्त प्रश्नको जवाफ दिएनन् । उल्टै यो के तरीका हो ? भन्द्र पत्रकारीमाथि नै प्रश्न तेर्साए ।
अरु बेला प्रचण्डको विरोध गर्ने ओलीले चौथाइवालेसँगको भेटवार्तापछि मुख नखोल्नुले पनि आशङ्का पैदा गरेको छ । तर, कांग्रेस एमालेबीच विवाद उत्पन्त भएको सत्य हो । अब यो विवाद उत्कर्षमा पुगेर नयाँ समिकरण बन्ने नबन्ने सयमले बताउनेछ ।