नेपाली सेना ‘हाइ अलर्ट’मा, ‘स्पेसल डग’ परिचालन

भारत र पाकिस्तानबीच युद्ध चर्किएपछि त्यसको असर नेपालमा पनि परेको छ । नेपाल भारत र पाकिस्तानको छिमेकी देश हो । कश्मीरको पहलगाममा एक नेपालीको मृत्यु भएकाले नेपालले यस विवादमा भारतको समर्थन गरेको छ ।
नेपाल खुला सीमाना भएको देश हुँदा जुनसुकै बेला पनि आतङ्कवादी भित्रन सक्ने डर पैदा भएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक बोलाएर कडा निगरानीमा बस्न निर्देशन दिएका छन् । खुला सीमाना भएका कारणले बेलैमा सतर्कता अपनाउनु पर्ने प्रधानमन्त्री ओलीले बताएका हुन् ।
बैठकले तीनै सुरक्षा निकायलाई सीमामा निगरानी बढाउन निर्देशन दिएको छ । बैठकमा भारत–पाकिस्तानबीच बढेको तनावले नेपालमा पार्नसक्ने असरबारे छलफल भएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए । अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल-भारत सीमा सुरक्षा, भारत र पाकिस्तानमा रहेका नेपालीको सुरक्षा लगायत विषयमा सुरक्षा समितिको बैठकमा छलफल भएको छ ।
सुरक्षा परिषदको बैठकपछि सीमा क्षेत्रमा थप कडाई गरिएको छ । सशस्त्र प्रहरीलाई सीमा नाकाको आवतजावतमा कडाइ गर्ने जिम्मा दिइएको छ । सबै युनिटहरुलाई हाइ अलर्टमा राखिएको गृह मन्त्रालयले जनाएको छ । संदिग्ध व्यक्ति नेपाल भित्रिन नदिन भारतले समेत नेपालको सुरक्षा निकायलाई सहयोगको आग्रह गरेको छ ।
अहिले सीमा नाका भएर आवतजावत गर्ने सर्वसाधारणमाथि सोधपुछ तथा जाँचको कामलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ । पर्साका प्रहरी प्रमुख उपरीक्षक गौतम मिश्रले प्रहरी युनिटहरूलाई सिमानामा ‘हाई अलर्ट’ भएर बस्न निर्देशन दिइएको बताए । अहिले मुख्य प्रवेश नाकासँगै ग्रामीण भेगका नाकाहरूमा सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको छ । प्रहरीका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका व्यक्तिलाई प्रवेशका लागि कागजात अनिवार्य गरिएको छ ।
योसँगै नाकामा प्रहरीले आफ्नो ‘स्पेसल डग’ पनि परिचालन गरिरहेको छ । भारतबाट प्रवेश गर्ने व्यक्तिहरूको पहिलो जाँच सशस्त्र प्रहरीले गर्नेछ, सबै कागजात भेरिफाइ गरिसकेपछि प्रवेश दिइनेछ । त्यसपछि दोस्रो पङ्क्तिमा भने नेपाल प्रहरीले जाँच गरेर सबै ठीक देखिएपछि मात्र तेस्रो मुलुकका व्यक्तिलाई प्रवेश दिइनेछ ।