Trending

पाकिस्तानको लाहोरमा लगातार तीनवटा विस्फोट

भारतसँग सैन्य टकराब परिरहेका बेला पाकिस्तानको लाहोरमा बिहीबार बिहान ठूलो विस्फोट भएको खबर आएको छ।

जियो टीभी र समाचार एजेन्सी रोयटर्सले एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उक्त जानकारी दिएका हुन्।  पाकिस्तानको पूर्वी सहर लाहोरमा बिहीबार बिहान एउटा विस्फोटको आवाज सुनिएको रिपोर्टमा उल्लेख छ।

एआरवाई न्युजका अनुसार कम्तीमा तीनवटा विस्फोटको आवाज सुनिएको छ। पाकिस्तानी मिडियाका अनुसार कराँची विमानस्थलमा उडान अस्थायी रूपमा स्थगन गरिएको छ। विस्फोट भएको ठाउँ पाकिस्तानी विमानस्थलको धेरै नजिक छ।

रिपोर्टअनुसार विस्फोटको आवाजपछि प्रहरीले सम्पूर्ण क्षेत्रलाई घेरा हालेको छ र उद्धार टोली घटनास्थलमा पुगेको छ। यद्यपि, हाल विस्फोटमा कति जना घाइते भएका छन् भन्ने कुरा थाहा छैन।

एआरवाई न्युजले बिहान सबेरै भएको विस्फोटको आवाजले सम्पूर्ण लाहोर हल्लाएको र विस्फोटपछि मानिसहरूमा त्रासको वातावरण रहेको बताएको छ।

मंगलबार राति मात्र भारतले अपरेसन सिन्दूरअन्तर्गत पाकिस्तानका ९ स्थानमा हवाई हमला गरेको छ। भारतले आतंकवादी लुक्ने ठाउँमा आक्रमण गरिएको दाबी गरे पनि पाकिस्तानले सर्वसाधारण बस्ने क्षेत्रमा हमला भएको दाबी गरिरहेको छ। 

उक्त हमलामा २६ जना नागरिक मारिएको र ४६ जना घाइते भएको पाकिस्तानी सैन्य प्रवक्ताले बताएका छन्। यसैबीच बुधबार बिहान पाकिस्तानले कश्मीर क्षेत्रमा गरेको गोलाबारीमा १५ जना मारिएको र ४३ जना घाइते भएको भारतीय सेनाले जनाएको छ।जसका कारण दुई देशबीच पूर्ण युद्धको खतरा देखिएको छ।

TOP