ओली सरकारमाथि बज्यो खतराको घण्टी

काठमाडौँ । सरकार फेरि संकटतर्फ धकेलिएको छ । चैत २० गतेबाट आन्दोलनमा उत्रिएका शिक्षकहरुसँग सहमति जुटेसँगै केपी शर्मा ओली नेतृत्वको सरकारलाई केही राहत मिलेको थियो ।
तर, वैशाख १७ गते नागरिक उम्मुक्ति पार्टी (नाउपा) का संस्थापक रेशम चौधरीलाई प्रहरीले अपहरणको शैलीमा पक्राउ गरेपछि नाउपा सरकार छाड्ने तयारीमा लागेको हो । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले लेखेको पत्रका आधारमा प्रहरीले रेशमलाई पक्राउ गरेको थियो ।
त्यो पत्र सर्वोच्च अदालतका न्यायाधीशले दिएका हुन् की होइनन् भन्नेसमेत प्रहरीले पत्ता नलगाई रेशमलाई पक्राउ गरियो थियो । नाउपाका नेताहरूले रेशमलाई पक्राउ गर्नुमा शीर्ष नेताहरूको हात भएको बताएका छन् । त्यसदिन नाउपा र जनमुक्तिबीच पार्टी एकता हुदैँ थियो । तर, रेशमलाई पक्राउ गरेपछि पार्टी एकता हुन सकेन ।
पार्टी एकता रोक्न कांग्रेस एमालेका शीर्ष नेताहरूले खेल खेलेको आरोप लागेको छ ।सरकारमा सहभागि नाउपाले रेशमलाई पक्राउबारे प्रधानमन्त्री ओलीलाई जवाफ दिन दुई दिनको अल्टिमेटम दिएको छ ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद लालवीर चौधरीले भोलिको बैठकमा प्रधानमन्त्रीले जवाफ नदिए सरकार छाड्ने चेतावनी दिए।
उनले वैशाख १७ गते नाउपा र जनमत पार्टीको एकता प्रक्रिया अघि बढिरहेका बेला पार्टीका संरक्षक चौधरीलाई अपहरण गरेर डिल्लीबजार र्पुयाइएको बताए।
उनले भने, ‘यसबारेमा अहिलेसम्म सरकारको धारणा आएको छैन। त्यसैले भोलिकै दिनमा प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ दिनुभएन भने हामी सरकार छाड्न बाध्य हुन्छौं।’ यदि नाउपाले सरकार छाडेको खण्डमा भने ओली सरकार संटकमा पर्नेछ ।