Trending

नेपाल सुपर लिगको उपाधिका लागि आज ललितपुर सिटी र पोखरा थन्डर्स भिड्दै

नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको उपाधिका लागि ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी आज प्रतिस्पर्धा गर्दै छन्।

शनिबार साँझ ६ बजे दशरथ रंगशालामा हुने फाइनल खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। साविक विजेता ललितपुर सिटी दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने पोखरा थन्डर्स पहिलो पटक फाइनलमा पुगेको हो।

पोखराका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले टोली फाइनलका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्। “हाम्रो टोलीले राम्रो रणनीति बनाएको छ। सुरुवाती दुई खेलमा हार व्यहोरे पनि पछिल्ला खेलमा राम्रो लय बनाएकाले हामी उपाधि जित्नेमा आशावादी छौं,” श्रेष्ठले भने।

पोखराका कप्तान नवयुग श्रेष्ठले ललितपुरविरुद्धको खेल प्रतिस्पर्धात्मक हुने विश्वास व्यक्त गर्दै व्यक्तिगत रूपमा पनि यो खेल विशेष महत्वको रहेको बताए।

उता, ललितपुरका प्रशिक्षक साइमन ग्रेसनले पहिलो क्वालिफायर जितेपछि एक साताको तयारी र विश्रामको मौका मिलेकाले टोली आत्मविश्वासी रहेको बताए।

ललितपुरका कप्तान अनन्त तामाङले पनि क्वालिफायरपछि उपलब्ध तयारी समयले फाइनल खेलका लागि टोलीलाई थप मजबुत बनाएको बताए।

TOP