Trending

अमेरिकाले बन्द गर्‍यो एमसीसी

 अमेरिकाले अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गरेको छ ।

अर्बपति एलन मस्क नेतृत्वको डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसिएन्सी (डीओजीई)द्वारा लिइएको कदमअनुसार विकासशील देशहरूको आर्थिक स्तर उन्नतिका लागि भनेर दिइँदै आएको यो अनुदान सहयोग बन्द गर्ने निर्णय भएको हो । एमसीसी अमेरिकी संसद्को कार्यक्रम हो ।

एमसीसीका कर्मचारीहरूलाई परियोजना बन्द गरिएको जानकारी इमेलमार्फत सूचित गरिएको छ । उनीहरूलाई आगामी मई ५ तारिखदेखि प्रशासकीय बिदामा राखिने छ ।

नेपालमा एमसीसीअन्तर्गत ५५ करोड अमेरिकी डलरको अनुदान सहयोग प्राप्त भएको छ । परियोजनाअन्तर्गत नेपालमा सडक र जलऊर्जाको प्रसारण लाइनका काम एमसीए नेपालमार्फत् अघि बढाइएको छ । तर ट्रम्प प्रशासनको खर्च कटौती नीतिअन्तर्गत एमसीसी परियोजना बन्द भएमा नेपालमा सञ्चालित परियोजनाका अन्तर्गतका काम पनि रोकिने छ ।

हाल नेपालमा यसको कार्यान्वयन भर्खरै सुरु भएको छ । तर राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएसँगै गत जनवरी २० मा अमेरिकाले तत्काललाई ९० दिनका लागि सबैखाले अमेरिकी वैदेशिक सहयोग रोकेका थिए ।

एमसीसी परियोजना सन् २००४ मा अमेरिकी कंग्रेसद्वारा राष्ट्रपति जर्ज डब्लू बुशको कार्यकालमा स्थापना गरिएको थियो । अमेरिकी विदेश मन्त्रालयबाट स्वतन्त्र रूपमा सञ्चालित यो संस्थाले हाल २० वटा निम्न–आय भएका देशहरूमा ५.४ अर्ब अमेरिकी डलरभन्दा बढीका अनुदान कार्यान्वयन गर्दै आएको छ । कतिपय देशमा भने कार्यान्वयन गर्ने भनेर सम्झौतामा हस्ताक्षर भइसकेको छ ।

ट्रम्प प्रशासनले यसअघि नै यूएसएड बन्द गरिसकेको छ । जसले वार्षिक ४० अर्ब डलर सहयोगमा खर्च गर्दै आएको थियो । सन् २००४ मा रिपब्लिकन र डेमोक्रयाट दुवै पार्टीका सांसदहरूले एमसीसीलाई समर्थन गरेका थिए ।

यसको वार्षिक बजेट झण्डै ९० करोड अमेरिकी डलर छ । यसले विकासोन्मुख देशहरूमा विद्युत आपूर्ति सुधार, सडक पहुँच, बजार पहुँचजस्ता परियोजनामा अनुदान दिँदै आएको छ ।

TOP